News Summary
Generated by OK AI. Editorially reviewed.- इलाम र पाँचथरका घरका बार्दलीमा बेगोनिया फूल ढकमक्क फुलाएर शोभा बढाइने गरिएको छ।
- बेगोनियाको सौन्दर्य, विभिन्न रङ र पातको बनोटका कारण यसलाई फूल र पात दुवैका लागि रोपिन्छ ।
- बेगोनिया बलौटे वा गोबर मल मिसाइएको माटोमा रोपेर ४५ दिनपछि फुल्न थाल्छ, र असार-साउनसम्म फुल्छ।
तपाईं पूर्वी पहाड खासगरी इलाम, पाँचथरको फन्को मार्दै हुनुहुन्छ भने करिब उस्तै प्रकारका घर देख्नुहुन्छ । ढुंगा माटोले बनेको । अघिल्तिर काठको बार्दली । हो, यही बार्दली, जहाँ ढकमक्क फूल देख्नुहुन्छ । त्यो पनि बेगोनियाको ।
धेरैजसो घरको बार्दलीलाई अहिले यही फूलले शोभयमान बनाएको छ । हत्केला जत्रो आकारमा पत्र–पत्रमा फूल्ने बेगोनिया यस क्षेत्रको शोभा मात्र होइन, जीवन पद्धति पनि हो । त्यसैले त एउटा यस्तो सिजन सुरु हुन्छ, जहाँ बेगोनिया रोपेकै हुन्छ ।

यो फूल अधिकांशले घरको बार्दलीभरी ढकमक्क फुलाउँछन् । झट्ट हेर्दा बिक्री गर्न राखिए जस्तो लाग्छ । तर बिक्रीका लागि होइन केवल घरको शोभाका लागि मात्रै राखिन्छ ।
यो फूल रोपेर मात्र पनि पुग्दैन । उत्तिकै स्यहारसुसार पनि चाहिन्छ । स्यहारसुसार पनि यस्तो हुनुपर्छ कि, मानौं कुनै मायालु बच्चा हुर्काए जसरी । यसको डाँठ, पात र फूल कमजोर हुन्छ, थोरै दबाबमा पनि भाँचिन सक्छ । त्यस्तै ढकमक्क फुलिरहेको फूल जवानी नसकिदै भुँइमा झर्छ । भूँइमा झरेको फूल पनि उस्तै ताजा देखिन्छ, टिप्न समेत लोभ लाग्ने ।

यति कमजोर हुँदा हुँदै पनि यो फूलले किन यस भेगमा यतिविध्न मोहनी लगाएको होला ?
किनभने, यसको सौन्दर्यले । हरेक आँखालाई सम्मोहित गर्ने बेगोनियाको सौन्दर्यको कुनै व्याख्या जरुरी छैन । यसको पत्र–पत्रको चमक साँच्चै जादुयी हुन्छ । त्यसमाथि यो फूल अनेकथरी रङमा फूल्छन् । बैजनी, रातो, सेतो, पहेंलो, कलेजी ।

वर्षायामभरी फूल्ने यो फूल जब फुल्न छाड्छ तब यसको गानो सुरक्षित राख्ने गरिन्छ । अर्को वर्षका लागि त्यही गानो रोप्ने गरिन्छ । केही प्रजातिमा फूलभन्दा पनि पातको आकार, रङ र बनोट विशेष आकर्षक हुन्छ । पात हरियो, रातो, बैजनी वा विभिन्न रङको मिश्रणमा देखिन सक्छ । यही कारण बेगोनियालाई फूलका लागि मात्र नभई पातको सौन्दर्यका लागि पनि रोपिन्छ ।

बेगोनियालाई धेरै चर्को घामभन्दा उज्यालो तर अप्रत्यक्ष प्रकाश मन पर्छ। पानी जम्ने माटो यसका लागि उपयुक्त हुँदैन । माटो केही सुख्खा भएपछि मात्र पानी दिनु राम्रो हुन्छ । पर्याप्त चिस्यान, हावा चल्ने ठाउँ र मलिलो माटो पाएमा यसको वृद्धि राम्रो हुन्छ ।

कसरी रोप्ने ?
बेगोनिया फूल बलौटे माटोमा कम्पोस्ट मल मिसाएर रोप्न सकिन्छ । गाउँघरतिर माटोमा गोबर मल मिसाएर पनि रोप्ने गरिन्छ । चिसो ठाउँमा भन्दा पनि घाम लाग्ने ठाउँमा एकदमै चाँडो फूल्ने गर्छ ।
बिरुवा कसरी सार्ने ?
बेगोनियाको बल्ब वा गानो रोप्ने गरिन्छ । गर्मी ठाउँमा फागुन र चैत्रमा रोपिन्छ भने चिसो ठाउँमा चैत र बैसाखको पहिलो हप्ता रोप्ने गरिन्छ । फूल रोपेको वा सारेको करिब ४५ दिनमा फुल्न सुरु हुन्छ । असार र साउनसम्म ढकमक्क फुल्छ ।
मल र पानी कसरी हाल्ने ?
यो फूल हुर्काउन सजिलो छ । बेलाबेलामा पानी हाल्नुपर्छ । माटो कति ओसिलो छ त्यो हेरेर मात्र हाल्नुपर्छ । सम्भव भएसम्म साँझको समयमा पानी हाल्नुपर्छ ।
रोग र बचाउने उपाय
बिगोनिया फूलमा फंगस अर्थात सेतो ढुसी आउने समस्या हुन्छ । यसलाई कम गर्न फङ्गिसाइड औषधि छर्किनुपर्छ । एक लिटर पानीमा फङ्गिसाइड दुई ग्राम राखेर हप्तामा एकपटक मात्र छर्किनुपर्छ ।
यदि ढुसी बढी परेको छ र धेरै सेतो भएको खण्डमा हप्ताको दुई पटकसम्म हाल्न सकिन्छ ।

प्रतिक्रिया 4