+
+
Shares

गाँजासहितको सुटकेस विमानस्थलको एक्स–रे मेसिनबाट जाँच पास, समातिए ३ विदेशी

म्यानमारकी नागरिकले फाओ गाँजा भरिएको सुटकेस लिएर नेपाल आइन् । सहजै विमानस्थलको जाँच पास गरिन् । गाँजासहितको सुटकेसलाई एक्स–रे मेसिनले समेत जाँच पास गर्‍यो । तर ट्राभल हिस्ट्रीका कारण शंकामा परेकी फाओ सोह्रखुट्टेबाट गाँजासहित पक्राउ परिन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ भदौ ३० गते १८:३६
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्याथे प्यासिफिकबाट भियतनाम–हङकङ हुँदै आएकी म्यानमारकी जिन जिन फाओलाई कोटेश्वर ब्युरोले ३ किलो थाइल्यान्डको गाँजासहित सोह्रखुट्टेबाट पक्राउ गरेको छ।
  • फाओले ल्याएको गाँजा रिसिभ गर्न गोरखपुरका बार्कटुल्लाह र युसुफ खान पक्राउ परेका छन्, उनीहरूबाट ३ राहदानी, ३ मोबाइल र ३ किलो गाँजा बरामद भएको छ।
  • लागुऔषध नियन्त्रण ब्युरोका अनुसार आर्थिक वर्ष २०८१/०८२ देखि अहिलेसम्म थाई गाँजासहित १४० जना पक्राउ परेका छन् र करिब ५०० किलो गाँजा बरामद भएको छ।

३० भदौ, काठमाडौं । क्याथे प्यासिफिक एअरवेजमार्फत भियतनामबाट हङकङ हुँदै आएकी एक महिला लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको राडरमा पर्छिन् ।

हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा म्यानमारकी महिला जिन जिन फाओ ब्युरोको शंकामा पर्छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी फाओलाई ब्युरोले खोजी गर्छ । ब्युरो टोलीले २८ भदौमा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित एक होटलमा फाओलाई फेला पार्छ ।

फाओको सुटकेस चेक गर्दा ३ किलो थाइल्यान्डको गाँजा बरामद हुन्छ । त्यसपछि प्रहरीले बरामद गाँजाबारे सबै कुरा गोप्य राख्दै अनुसन्धान अघि बढाउँछ । उक्त गाँजाको गन्तव्य तेस्रो मुलुक हुनसक्ने भएकाले रिसिभ गर्न आउने व्यक्तिको पर्खाइमा प्रहरी हुन्छ ।

त्यसपछि थाइल्यान्डबाट आएको उक्त गाँजा रिसिभ गर्न आएका दुई भारतीय नागरिक पक्राउ पर्छन् । जसमा भारतको उत्तर प्रदेश गोरखपुरका ३० वर्षीय बार्कटुल्लाह र सोही ठाउँका २५ वर्षीय युसुफ खान पक्राउ पर्छन् । उनीहरूबाट ३ थान राहदानी, ३ थान मोबाइल र ३ किलो गाँजा बरामद हुन्छ ।

गाँजाको लगेज विमानस्थलको चेकिङले गरेको थियो पास

पक्राउ परेकी म्यानमारकी नागरिक फाओ पेसाले सिकर्मी हुन् । उनले सिंगापुरमा बसेर सिकर्मीको काम गर्ने गरेको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मी बताउँछन् ।

उनलाई गाँजा तस्करले प्रलोभन देखाउँछन् । निश्चित रकम दिने र नेपालसमेत घुम्न पाइने अवसर दिएपछि उनी एउटा लगेज बोकेर नेपाल आउन तयार हुन्छिन् । तस्करले लगेजमा गाँजा छ भनेर नबताई कानुनी रूपमै लैजान मिल्ने अन्य सामान रहेको बताउँछन् ।

फाओलाई पनि यस्तै शैलीमा प्रलोभन देखाइएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । म्यानमारकी महिला सिंगापुर बस्ने र भियतनामबाट लगेज लिएर हङकङ हुँदै नेपाल आउने उनको ट्राभल हिस्ट्री देखेपछि शंकाको घेरामा परेकी थिइन् ।

भियतनाम पुगेपछि त्यहाँ रहेका अर्का म्यानमार नागरिकले फाओलाई गाँजाको सुटकेस थमाएका थिए । उक्त सुटकेस लिएर उनी नेपाल आइन् । सहजै विमानस्थलको जाँच पास गरिन् । गाँजासहितको सुटकेसलाई एक्स–रे मेसिनले समेत जाँच पास गर्‍यो ।

तर, ट्राभल हिस्ट्रीका कारण शंकामा परेकी फाओलाई ब्युरोको टोलीले पछ्यायो । सो क्रममा उनी सोह्रखुट्टेबाट गाँजासहित पक्राउ परिन् । यही गाँजा रिसिभ गर्न गोरखपुरबाट दुई भारतीय नागरिक काठमाडौं आएका थिए । उनीहरू पनि पक्राउ परे ।

बरामद तीन किलो गाँजा भारत पुगेपछि १ करोड २० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

नेपाललाई ट्रान्जिट बनाएर निरन्तर गाँजा तस्करी

थाइल्यान्डको गाँजा बरामद भएको यो पहिलो भने घटना होइन । पछिल्लो समय निरन्तरजसो थाइल्यान्डको गाँजा काठमाडौंमा बरामद हुँदै आएको छ । १७ साउनमा मात्रै थाइल्यान्डबाट ल्याइएको ११ किलो गाँजासहित तीन जना पक्राउ परेका थिए ।

त्यतिबेला भारत पञ्जाब घर भएका ३० वर्षीय सोनी, सोही ठाउँका २३ वर्षीय जागरूप सिंह र हरियाणाका २२ वर्षीय साहिल समातिएका थिए । उनीहरू क्याथे प्यासिफिक एअरवेजको उडानमार्फत थाइल्यान्डबाट हङकङ हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । उनीहरूले ल्याएको गाँजा सिरिभ गर्न अर्का भारतीय विमानस्थल पुगेका थिए ।

यसरी नेपालको विमानस्थललाई ट्रान्जिट बनाएर थाइल्यान्डको गाँजा तस्करी हुने गरेको देखिएको छ । थाई गाँजा बरामद हुँदा पक्राउको विवरणमा प्राय: भारतीय नागरिक देखिन्छन् ।

आफैं गाँजा लिएर आउने, त्यो नभए पनि रिसिभ गर्न आउनेमा भारतीय नै छन् । यी घटनाले पनि नेपाललाई ट्रान्जिट बनाएर थाइल्यान्डको गाँजा भारततर्फ जाने गरेको देखिन्छ ।

हिजो बरामद भएको गाँजाको गन्तव्य पनि भारत रहेको प्रहरी अधिकारीहरू बताउँछन् । नेपालको तुलनामा थाइल्यान्डको गाँजा गुणस्तरीय भएकाले यसको माग अहिले भारतमा बढी रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

नेपालको गाँजाभन्दा थाई गाँजा गुणस्तरीय भन्दै तस्करी हुने गरेको छ । थाई गाँजामा ट्रेट्राहाइड्रोक्यानाबिनोल (टीएचसी)को मात्रा बढी हुने भएकाले यसको माग बढी रहेको प्रहरी अधिकारीहरू बताउँछन् । अर्कोतर्फ, नेपालको गाँजामा भन्दा थाई गाँजा किन्न सस्तो र बिक्री महँगोमा हुने भएकाले बढी फाइदाका लागि पनि तस्करी हुने गरेको प्रहरीको बुझाइ छ ।

१४० जना पक्राउ, ५०० किलो गाँजा बरामद

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ देखि अहिलेसम्म थाइल्यान्डको गाँजा ओसारपसार तथा तस्करीको आरोपमा १४० जना पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेमध्ये अधिकांश भारतीय नागरिक छन् । आर्थिक वर्ष २०८१/८२ मा ४८ जना १९४ किलो गाँजासहित विभिन्न मितिमा पक्राउ परेका थिए । यसरी पक्राउ पर्नेमध्ये भारतीय ३९ जना, नेपाली ४ जना, थाई नागरिक ४ जना र चिनियाँ नागरिक १ जना थिए ।

त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा ५६ जना नागरिक २०४ किलो गाँजासहित पक्राउ परे । उनीहरूमध्ये ५१ जना भारतीय, २ जना श्रीलंकन, १ जना मलेसियन, १ जना अमेरिकन र १ जना थाई नागरिक थिए ।

आर्थिक वर्ष २०८३/०८४ को अहिलेसम्म भने ३६ जना नागरिक ९५ किलो गाँजासहित पक्राउ परेका छन् । पक्राउ परेकामध्ये २२ जना भारतीय, ८ जना म्यानमार, ६ नेपाली नागरिक छन् ।

दुई आर्थिक वर्ष र आर्थिक वर्ष २०८३/०८४ को ३० भदौसम्म ब्युरोले १४० जनालाई पक्राउ गर्दा भारतीय नागरिकको संख्या मात्रै ११२ छ ।

पक्राउ परेकाहरूबाट करिब ५०० किलो गाँजा बरामद भएको छ । थाई गाँजासहित पक्राउ परेकाहरूविरुद्ध ९० वटा मुद्दा दर्ता भएको ब्युरोका एसपी रेग्मी बताउँछन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?