३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा अलमलमा नपरेर सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकसँग आग्रह गरेका छन् ।
मंगलबार साँझ एक लिखित वक्तव्य जारी गर्दै सभापति थापाले यस्तो आह्वान गरेका हुन् ।
‘२०८३ असोज १६ देखि १९ सम्म काठमाडौंमा सम्पन्न हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि २०८३ असोज ३ र ४ गते वडा तहबाट हुने अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई हार्दिक आह्वान गर्दछु,’ सभापति थापाले लेखेका छन् ।
महाधिवेशन नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम हुनलागेको बताउँदै उनले देशभित्र र देशबाहिर विभिन्न तहमा रहेर पार्टीको वृहत्तर हितका लागि निरन्तर चिन्ता चासो व्यक्त गर्ने, संवाद, सहमतिका लागि सत्प्रयास गर्ने र अधिवेशन प्रक्रियामा सक्रिय रहने सबै सदस्य, समर्थक शुभेच्छुक साथीहरूप्रति आभार प्रकट गरेका छन् ।
यस्तो छ गगनको आह्वान :
आदरणीय अग्रज तथा साथीहरू,
२०८३ असोज १६ देखि १९ सम्म काठमाडौंमा सम्पन्न हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि २०८३ असोज ३ र ४ गते वडा तहबाट हुने अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई हार्दिक आह्वान गर्दछु ।
नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानून बमोजिम हुन लागेको महाधिवेशनको पूर्व सन्ध्यामा देशभित्र र देशबाहिर बिभिन्न तहमा रहेर पार्टीको वृहत्तर हितका लागि निरन्तर चिन्ता चासो व्यक्त गर्ने, संवाद, सहमतिका लागि सत्प्रयास गर्ने र अधिवेशन प्रक्रियामा सक्रिय रहने सबै सदस्य, समर्थक शुभेच्छुक साथीहरूप्रति आभार प्रकट गर्दछु ।
महाधिवेशनमा सबैको सहज एवं उत्साहपूर्ण सहभागिता सुनिश्चित गर्न एवं यस प्रक्रियामा कोही पनि कांग्रेसका सदस्य वञ्चित नहुन् भन्ने भावनाका साथ केन्द्रीय कार्यसमितिले पार्टीभित्र आपसी संवाद, सहमतिको वातावरण बनाउनका लागि अधिकतम् प्रयास गर्दै आएको विदितै छ । लोकतन्त्रमा फरक मत हुने गर्छन्, पार्टीभित्र आन्तरिक मतभेद र असमझदारी हुनसक्छन् तर ती भिन्न मतको सम्मान गर्न सक्नु, संवाद, विधि र पद्दतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो ।
नेपाली कांग्रेसमा फरक मतलाई स्वीकार गरेर विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहदै आएको छ। त्यही जिम्मेवारीबोधका साथ वर्तमान कार्यसमितिले समस्त कांग्रेसजनको मनोभावना अनुसार पटक पटक संवादमार्फत सहमतिका सवै विकल्प स्वीकार गरेर सहभागिताको प्रयास गरेको हो । पार्टीको आन्तरिक जीवनमा सबै सदस्य सहभागी भएर हुने महाधिवेशन नै यस्तो विधि र उत्तम विकल्प हो, जसले फरक विचारलाई सम्मान, सम्बोधन र उचित विचारलाई अनुमोदन गर्दछ ।
महाधिवेशनमार्फत हामी सवैको सामुहिक प्रयासबाट पार्टीलाई एक्यवद्ध र गतिशील बनाउदै राष्ट्रका चुनौतीको सामना गर्नसक्ने बलियो कांग्रेस बनाउनेछौं । अत: नेपाली कांग्रेसका सम्पुर्ण साथीहरूलाई वडादेखि केन्द्रसम्मको महाधिवेशनको यो महाअभियानमा हार्दिकता एवं उच्च मनोवलका साथ सहभागी हुन पुन: आग्रह गर्दछु।
यसै बीचमा पार्टीका अग्रज नेताहरू, पार्टीका विभिन्न तहका पदाधिकारी एवं सदस्य साथीहरूबाट आएको सुझावलाई मध्यनजर गरी पार्टीले; “२०८२ पौष सम्म नवीकरण भएका सबै क्रियाशील सदस्यहरूलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने” निर्णय गरिएको थियो।
- त्यस अनुसार सदस्यता व्यबस्थापन समितिले सो बमोजिम सदस्यता नामावली टुङ्ग्याइसकेको छ।
- केन्द्रीय निर्वाचन समितिले अधिवेशनका प्रक्रिया अगाडि बढाएको छ र निर्वाचन अधिकृतहरू जिल्लामा खटिइसक्नु भएको छ ।
पार्टीको विधान बमोजिम विशेष महाधिवेशन पश्चात सम्पन्न हुन गईरहेको १५ औं महाधिवेशनको यो प्रक्रियामा पार्टीका सबै साथीहरूको सहभागिता सुनिश्चित गर्नका लागि भदौ २८ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्वको केन्द्रीय कार्यसमितिका तत्कालिन पदाधिकारी एवं सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा समावेश गर्ने गरी आवश्यक प्रबन्ध गरिसकेको विदित नै छ ।
उक्त निर्णय संगै तत्कालिन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य साथीहरू वर्तमान केन्द्रीय कार्यसमितिको पनि सदस्य सुनिश्चित भइसकेकोले १५ औं महाधिवेशनको यो प्रक्रियामा केन्द्रीय सदस्यका रुपमा नै सहभागी हुने हुँदा कुनै पनि अलमल एवं द्वीविधामा नपरी असोज ३ र ४ गतेको वडा अधिवेशन लगायतका अन्य तहका निर्धारित कार्यतालिका बमोजिमका अधिवेशनहरूमा सहभागी हुन विशेष आग्रह गर्दछु।
अन्त्यमा, असोज ३ गते वडाबाट प्रारम्भ भइ १६ देखि १९ सम्म काठमाडौंको खुल्ला मञ्चमा सम्पन्न हुने १५औं महाधिवेशनमा सबै तहका कार्यसमितिले पार्टीको वृहत्तर हितलाई ध्यानमा राखी सोही अनुसार सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागिता गराई महाधिवेशन सम्पन्न गर्न र उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण तहगत कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक र शुभेच्छुकहरूमा हार्दिक अपील गर्दछु ।
प्रतिक्रिया 4