+
+
Shares

१८६ देशमै संस्थागत रूपमा श्रमिक पठाउने व्यवस्था मिलाउन संघको माग

संघले नयाँ श्रम गन्तव्य पहिचान र विस्तारले नेपाली श्रमिकका लागि रोजगारीका थप अवसर सिर्जना गर्ने अपेक्षा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १ सय ११ राष्ट्रबाहेकका नयाँ श्रम गन्तव्य संस्थागत वैदेशिक रोजगारीका लागि खुला गर्न सरकारसँग माग गरेको छ ।
  • संघले नेपाली व्यक्तिगत प्रक्रियाबाट १ सय ८६ राष्ट्र पुगेको तथ्य देखाउँदै सम्भावना भएका उदीयमान देश पहिचान गरी श्रमिक पठाउने व्यवस्था गर्नुपर्ने बताएको छ ।
  • संघले पूर्वी मलेसियाका सवाह र सरावक प्रान्तबाट प्राप्त मागपत्र प्रमाणीकरणका लागि कूटनीतिक पहल गर्न युवा, श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गरेको छ ।

३१ भदौ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाली श्रमिकका लागि नयाँ श्रम गन्तव्य मुलुक थप गर्न सरकारसँग माग गरेको छ ।

संघले युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै हाल सरकारले सूचीकृत गरेका १ सय ११ राष्ट्रबाहेक पनि नेपाली व्यक्तिगत तवरबाट १ सय ८६ राष्ट्रसम्म पुगेको तथ्य मध्यनजर गर्दै थप देशलाई संस्थागत वैदेशिक रोजगारीका लागि खुला गर्न माग गरेको हो ।

संघका महासचिव हिराबहादुर डाँगी ‘हरि’ का अनुसार नेपाली व्यक्तिगत प्रक्रियाबाट विभिन्न देश पुगिरहेको अवस्थामा तीमध्ये सम्भावना भएका नयाँ तथा उदीयमान श्रम गन्तव्य पहिचान गरी संस्थागत रूपमा श्रमिक पठाउने व्यवस्था गर्न आवश्यक छ ।

संघले पूर्वी मलेसिया अन्तर्गतका सवाह र सरावक प्रान्तबाट प्राप्त मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली दूतावास मार्फत आवश्यक कूटनीतिक पहल गरिदिन पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

संघले श्रम बजार विस्तारका लागि परम्परागत श्रम गन्तव्य मुलुकमा मात्रै निर्भर हुनुभन्दा नयाँ गन्तव्य मुलुकको खोजी र बजार विस्तारमा सरकारले नीतिगत सहजीकरण गर्नुपर्ने जनाएको छ ।

मागपत्र प्रमाणीकरण लगायत प्रक्रिया थप सहज बनाउन नीतिगत सुधार भइरहेको भन्दै संघले आगामी दिनमा नयाँ श्रम बजार प्रवर्द्धनमा व्यवसायीको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ ।

संघले नयाँ श्रम गन्तव्य पहिचान र विस्तारले नेपाली श्रमिकका लागि रोजगारीका थप अवसर सिर्जना गर्ने अपेक्षा गरेको छ ।

पछिल्लो समय नेपालीले युरोपका विभिन्न देशलाई समेत आफ्नो श्रम गन्तव्य बनाउँदै आएका छन् । ती देशमा भने हालसम्म पनि संस्थागत रूपमा श्रमिक पठाउन रोक लागेको छ ।

म्यानपावर व्यवसायीले ती देशमा समेत संस्थागत रूपमा श्रमिक पठाउन मागपत्र प्रमाणीकरण गर्नुपर्ने माग राख्दै आएका छन् । तर, सरकारले हालसम्म समेत अनेक बहाना गरेर मागपत्र प्रमाणीकरण गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?