३१ भदौ, बुटवल । नेपाल आयल निगमको रुपन्देहीस्थित भलबारी डिपोमा पुग्नुअघि नै ट्यांकरबाट डिजेल चौरी गर्ने आयल स्टोर र चालक तथा सहचालकलाई निगमले कारबाही गरेको छ ।
नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जबाट लुम्बिनी प्रादेशिक कार्यालय भलबारीका आएका ट्यांकरबाट भैरहवास्थित सराफ आयल स्टोर्सभित्र डिजेल झिक्दै गरेका व्यक्तिलाई प्रहरीले रंगेहात पक्राउ गरी कारबाही गरिएको हो ।
आयल निगमले बिक्रेता विनियमावली २०७५ संशोधन सहितको विनियम २९ र ३३ बमोजिम अनाधिकृत रूपमा इन्धन खरिद–बिक्री गर्ने सराफ आयल स्टोर्सलाई १ लाख रुपैयाँ जरिबाना र ६ महिनाका लागि बिक्री–वितरण तथा आपूर्ति ठप्प हुने गरी निलम्बन गरिएको छ ।
त्यसैगरी, ढुवानी विनियमावली २०७३ को विनियम १७ र १७ घ बमोजिम घटनामा संलग्न तीनवटै ट्यांकरहरू लु२ख १५४४, लु१ख ६५०४ र लु१ख ६६१९० लाई तीन महिनाका लागि निलम्बन गरिएको छ ।
ती ट्याङकरका चालक तथा सहचालकहरूलाई निगमको कुनै पनि डिपो तथा कार्यालयमा प्रवेश गर्न नपाउने गरी आजीवन प्रवेश निषेध गरेको छ । यस्तै, निगमको करारमा रहेका कुनै पनि ट्यांकर चलाउन नपाउने गरी स्थायी प्रतिबन्ध लगाइएको छ ।
कारबाहीमा परेको अमलेखगञ्जबाट भलबारी डिपोमा अनलोड गर्न आएका पौडेल यातायातको लु१ख ६५०४, बीएनएस ढुवानी सेवाको लु२ख १५४४ र त्रिमूर्ति ट्रान्सपोर्ट प्रालिको लु१ख ६६१९ नम्बरका ट्यांकरहरू डिपोमा जानुअघि नै भैरहवाको सराफ आयल स्टोर्सको कम्पाउन्डमा प्रवेश गरी डिजल निकाल्न लागेको आयल निगमले जनाएको छ ।
त्यहाँ ट्यांकरमा जडान गरिएको मेकानिकल सेक्युरिटी लकिङ सिस्टमलाई भेहिकल ज्याकको प्रयोग गरी बिगारेर डिजल चोरी गरिरहेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरीको टोलीले लु१ख ६५०४ र लु२ख १५४४ नम्बरका ट्यांकरलाई रंगेहात पक्राउ गरेको हो । अर्को ट्यांकर लु१ख ६६१९ नम्बरको ट्यांकर भने डिजेल निकालेर भागिसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
घटनापछि प्रहरीले नेपाल आयल निगमलाई जानकारी गराएपछि निगमका कर्मचारी र प्रहरीको संयुक्त टोलीले पम्पमा पुगेर छानबिन गरेको थियो । अनुगमनका क्रममा तीनवटै ट्यांकरको म्यानहोल कभर खोलिएको र प्रति ट्यांकर करिब ३० लिटरका दरले डिजेल निकालेर निलो ड्रममा राखिएको अवस्थामा फेला परेको निगमले जनाएको छ ।
प्रहरी र निगमको रोहबरमा मुचुल्का उठाएर सराफ आयल स्टोर्सलाई सिलबन्दी गरिएको छ भने थप अनुसन्धान तथा कारबाहीका लागि ट्यांकर, तिनका चालक, सहचालक र पम्प सञ्चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवामा जाहेरी दिइएको छ ।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प सञ्चालकबीचको मिलेमतोमा लामो समयदेखि तेल चोरी हुने गरेको गुनासो आएको थियो । पम्पले गाडीहरूबाट तेल चोरी गर्ने नियत राखेर परिसरभित्र गाडी नै छेक्ने गरी गेट बनाएको र नियमित रूपमा सो काम हुने गरेको स्थानीयले बताएका छन् ।
नेपाल आयल निगमले ढुवानीका क्रममा पेट्रोलियम पदार्थ चोरी तथा अनधिकृत रूपमा बिक्री हुन नदिन ट्याङ्करमा विशेष सिल तथा तालाबन्दी गर्ने व्यवस्था गरेको छ । यस्तो सिल लोडिङ र अनलोडिङ हुने निर्धारित स्थानमा मात्र खोल्न मिल्ने हुन्छ ।
अमलेखगञ्जबाट लोड भएर आउने ट्याङ्कर भलवारीस्थित निगम कार्यालयमा पुगेपछि गुणस्तर तथा परिमाण परीक्षण गरिन्छ । त्यसपछि मात्र सम्बन्धित पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्ने व्यवस्था छ ।
यसअघि २०७१ सालमा रुपन्देहीको पडसरी र मधवलियामा पेट्रोलियम पदार्थ चोरी तथा कालोबजारी गरेको आरोपमा नेपाल आयल निगम भलवारी डिपोका तत्कालीन क्षेत्रीय प्रमुख नागेन्द्रकुमार कुर्मीसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
२०७१ साल वैशाख १६ गते पडसरी र मधवलियामा ट्यांकरबाट तेल चोरी गरिरहेको अवस्थामा रुपन्देही प्रहरीले पक्राउ गरी कुर्मीसहित ढुवानी व्यवसायी र चालक तथा सहचालकलाई कालोबजारी मुद्दा दायर गरेको थियो ।
भारतको बेतालपुर डिपोबाट निगमको पश्चिमाञ्चल डिपोसम्म ल्याउने क्रममा मधवलिया र पडसरीमा जमिनभित्र खाल्डो खनेर चोरी गरी भण्डारण गरिरहेको अवस्थामा पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको थियो । तर २०७३ सालमा जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठले तीन नम्बर इजलासमा सुनुवाइ गर्दै उनीहरू सबै जनालाई प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।
आयल निगमले पनि पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भबलवारीको मातहत रहने गरी सञ्चालनमा रहेका ट्याङ्करले निगममा तेल बुझाउनुअघि संठित रूपमा बाटैमा चोरी, साटफेर जस्ता चुहावटका काम गरिरहेकै अवस्थामा फेला परेको जनाउँदै ८ जना सञ्चालकका १९ वटा ट्याङ्करमाथि छानबिन गरेको थियो । तर उनीहरूले पनि भन्सार तथा छली काण्डमा सफाइ पाएका थिए ।
प्रतिक्रिया 4