News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन थापाले १६ असोजको १५औं महाधिवेशन उद्घाटन गर्न पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ।
- देउवा समूहका अधिकांश नेताहरू बिहीबार सानेपामा थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भई पार्टी एकतामा समर्थन जनाए।
- थापाले महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार रहेको भन्दै सबै नेताहरूलाई सहयोग र सहकार्यका लागि अनुरोध गर्नुभएको छ।
१ असोज, ललितपुर । सात दशकको विरासत भएको नेपाली कांग्रेसमा पाँच दशक उमेर छोएका गगन थापा सभापति बनिसक्दा कतिपयलाई, स्वयं उनैलाई अझै ह्याउ आइरहेको थिएन । कारण थियो, पूर्वसभापति शेरबहादुर देउवाको नाममा खुलेको समूहले सिर्जना गरेका शृंखलाबद्ध अवरोध ।
त्यसअघि विशेष महाधिवेशनले कर्तल ध्वनिसहित तत्कालीन महामन्त्री थापालाई सभापति बनाएको थियो । महाधिवेशनको वैधानिकताबारे प्रश्नसहित निर्वाचन आयोगमा उजुरी परे पनि उनैले आधिकारिकताको लडाइँ जिते । अदालतको मुद्दा पनि अन्ततः उनैका पक्षमा आयो ।
यति हुँदा पनि पार्टीभित्र राजनीतिक वैधतामा कताकति पछि परेका जस्ता देखिने थापालाई आज बिहीबार सानेमा देखिएको नयाँ परिदृश्यले शक्तिशाली पार्टी सभापतिका रुपमा थप स्थापित गरिदिएको छ । नेताहरुको भनाईमा उनले कानुनीसँगै अब राजनीतिक शक्ति पनि बढाएका छन् । र उनीसँग १५ औं महाधिवेशनमा जानलाई कुनै बाधा बाँकी छैन ।
विजयको यो उल्लासमा उनले विनम्रतापूर्वक यसअघिका पार्टी सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनको उद्घाटन गरिदिन अनुरोध पनि गरेका छन् ।
एकैछिन सानेपाका दृश्यहरु शब्द र तस्बिर दुवैमा नियालौं । कांग्रेसको सानेपा स्थित पार्टी कार्यालयमा बिहीबार अन्य दिनको भन्दा छुट्टै चहल–पहल देखिन्थ्यो ।
केही समयअघिसम्म फरक कित्तामा उभिएका नेताहरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने भएपछि सानेपामा चहल–पहल बढ्नु स्वाभाविक नै थियो । पूर्वसभापति शेरबहादुर देउवा समूहका अधिकांश नेताहरू सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने भएपछि सानेपामा कांग्रेस एकताको नयाँ दृश्य देखिएको हो ।
१५औं महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहका नेताहरू सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यको हैसियतमा सहभागी भए ।
पार्टीलाई एकताबद्ध बनाउने र सबैलाई महाधिवेशनमा सहभागी गराउने सभापति थापाको पहललाई समर्थन गर्दै उनीहरू बैठकमा आएका हुन् । उनीहरूलाई कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकमा सहभागी हुनका लागि पत्र पठाएका थिए ।
केन्द्रीय कार्यसम्पादन समितिको २८ भदौमा सम्पन्न बैठकले १४ औं महाधिवेशनका तत्कालिन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा समावेश गर्ने निर्णय गरेको थियो ।
बैठकमा सहभागी हुन देउवा समूह छाडेका नेताहरू विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व तहका नेताहरू अगावै सानेपा पुग्ने क्रम सुरू भइसकेको थियो ।
बैठक दिउँसो २ बजेका लागि आह्वान गरिएको थियो । तर, १४ औं महाधिवेशनमा नेता डा. शेखर कोइरालाको समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित नेतृ किरण यादव पौने १ बजे अगावै सानेपा पुगिसकेकी थिइन् ।
यस्तै १४ औं महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्य बनेका नेता देवेन्द्रराज कँडेल पनि त्यसअघि नै सानेपा पुगिसेका थिए ।
यद्यपि, उनी यसअघि पनि सानेपा जाने गर्थे । तर, कँडेल केन्द्रीय सदस्यको हैसियतमा पहिलोपल्ट बैठकमा सहभागी भएका हुन् ।
यस्तै अर्का नेता राजिवविक्रम शाह पार्टी कार्यालयका पछाडिपट्टीको ढोकाबाट माथिल्लो तलामा गएका थिए । उनीपछि नेता ज्ञानेन्द्रबहादुर कार्की सानेपा पुगेका थिए ।
बैठकमा सहभागी हुन नेताहरू महालक्ष्मी उपाध्याय ‘डिना’, मीन विश्वकर्मा, रामहरि खतिवडा, गोविन्द भट्टराई, नैनसिंह महर, राधा घले, जीपछिरिङ लामा, ईश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति परियार एकसाथ सानेपा पुगेका थिए ।

उनीहरूपछि १४ औं महाधिवेशनका केन्द्रीय सदस्य उमेशजंग रायमाझी र भीम पराजुली सानेपामा देखिएका थिए । देउवा समूह छाडेका नेताहरू सानेपा पुग्दा अन्य नेता–कार्यकर्ताहरू बीच अंकमालदेखि ‘फोटो सेसन’ चलिरहेको थियो ।
‘पूर्वसर्तहरू पूरा हुँदै गएकाले सानेपा आयौं’
बैठकमा सहभागी हुन पुगेका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउने र १५ औं महाधिवेशनमा सबैलाई सहभागी गराउने प्रयासलाई साथ दिन आफूहरू सानेपा आएको बताए ।
बैठकमा सहभागी नेता रामहरि खतिवडाले आफूलाई कुनै समूहबाट अलग भएको रूपमा बुझ्न नहुने बताए । उनले आफू ‘कांग्रेसको गुट’ भएको भन्दै पार्टीभित्र सबैलाई समेट्नुपर्ने धारणा राखे ।
‘यो नेपाली कांग्रेसको कार्यालय हो । नेपालका प्रजातन्त्रवादीको मियो हो, आस्थाको मन्दिर हो । यो मन्दिरमा सबैलाई ल्याएर सबैका घरघरमा आस्था पुर्याउनुपर्ने छ,’ नेता खतिवडाले भने, ‘हाम्रो प्रयास अन्तिमसम्म पनि सबैलाई ल्याउने रहन्छ । एकता बनाएर ल्याउने हो ।’

उनले वर्तमान समस्याको समाधान कांग्रेसले मात्रै गर्न सक्ने दाबी गर्दै पार्टीलाई बलियो बनाउन आफूहरू सानेपा आएको बताए ।
‘वर्तमान समस्याको समाधान गर्न सक्ने पार्टी नेपाली कांग्रेसबाहेक अरु छैनन्,’ खतिवडाले भने, ‘कुनै पनि नयाँ पार्टी र नयाँ लिडरसिपले पुर्याउन सक्दैन, यही पार्टीको लिडरसिपले समस्याको समाधान गर्न सक्छ भनेर हामी आएका हौं ।’
आफूहरूले सानेपा र कांग्रेसलाई हुर्काउन चाहेको पनि प्रतिक्रिया दिए । ‘यो रोपेको विरुवा हो । हामी यो विरुवा पनि हुर्काउन चाहन्छौं, कांग्रेस पनि हुर्काउन चाहन्छौं,’ खतिवडाले भने ।
पूर्वसभापति शेरबहादुर देउवाको समूह छाडेको हो भन्ने प्रश्नमा खतिवडाको जवाफ थियो, ‘म कांग्रेसको गुट हो ।’
नेता मीन विश्वकर्माले देउवा समूहले अघि सारेका पूर्वसर्तहरू पूरा हुँदै गएकाले १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुने निर्णय गरिएको बताए ।
‘नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि जहाँ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय छ, जहाँ नेपाली कांग्रेसको झण्डा, चुनाव चिन्ह छ, जसको हस्ताक्षर चल्छ, उहाँले आह्वान गर्नुभएको १५औं महाधिवेशनको कार्यतालिकामा सहभागी हुनका लागि हाम्रा पूर्वसर्तहरू पूरा हुँदै गएका हुनाले हामी सहमत भएर आएका हौं,’ उनले भने ।

नेता विश्वकर्माले यसअघि इतर समूहले अघि सारेका सात बुँदे माग पूरा हुने क्रममा रहेका पनि बताए । ‘केही पूरा भए, केही पूरा अब पनि हुन्छन्,’ उनले भने ।
पूर्वसभापति देउवा अहिले कुनै पदको उम्मेदवार नभएको र कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि विश्राममा रहेकाले आफूहरू पार्टीको संस्थागत प्रक्रियामा सहभागी हुन आएको नेता विश्वकर्माको भनाइ थियो ।
उनले पूर्वसभापति देउवालाई धोका नदिएको पनि स्पष्ट पारे । ‘मैले देउवालाई धोका दिएको होइन,’ उनले भने, ‘उहाँको दोस्रो कार्यकालको समयावधि पनि मंसिरमा समाप्त हुँदैछ । उहाँ उम्मेदवार पनि रहनुभएको छैन । उहाँले कुनै न कुनै अर्को नेतालाई नेतृत्व हस्तान्तरण गर्नु नै हुने छ ।’
नेता विश्वकर्माले देउवालाई ‘सर्वोच्च नेता’का रूपमा स्थापित गर्ने प्रयास जारी रहेको पनि बताए । ‘शेरबहादुर देउवा नेपाली कांग्रेसको सर्वोच्च नेता हो । १५औं महाधिवेशन प्रारम्भ हुनुभन्दा अघिसम्म उहाँको दावी सर्वोच्च अदालतमा निरन्तर जारी छ,’ उनले भने, ‘हामी उहाँको दावीलाई सर्वोच्च नेतामा रुपान्तरण गर्ने प्रयासमा छौं ।’
नेता गोविन्द भट्टराईले पनि आफूहरूका प्रमुख माग सम्बोधन भएकाले केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएको बताए ।
‘क्रियाशील सदस्यता अद्यावधिक नगरे पनि अधिवेशनमा माग राख्न पाउने र पुराना समितिलाई समायोजन गर्ने निर्णय केन्द्रीय समितिले गरेकाले हामीहरू आएका हौं,’ उनले भने, ‘हाम्रा प्रमुख दुई माग पूरा भएका छन् ।’

महाधिवेशन प्रयोजनका लागि गठन हुने अन्य समिति तथा भ्रातृ संगठनका समिति सर–सल्लाहका आधारमा गठन गर्ने र कांग्रेसलाई एकताबद्ध बनाउने दिशामा केन्द्रीय कार्यसमिति अघि बढेकाले आफूहरू बैठकमा सहभागी भएको नेता भट्टराईको भनाइ थियो ।
‘सभापतिज्यूले अघि बढाउनुभएको एकताको प्रयासलाई थप बलियो बनाउँदै पार्टी एकतालाई निर्णयविन्दुमा पुर्याउन आवश्यक पहल गर्न हामी केन्द्रीय समिति बैठकमा उपस्थित भएका हौं,’ उनले भने ।
नेता उमेशजंग रायमाझीले कांग्रेस सबैलाई समेट्ने मूलधारको पार्टी भएकाले अहिले पनि पार्टीभित्र रहेका सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए । ‘पार्टी एक हुनुपर्छ । सबैलाई समेट्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले आफ्नो जीवनकालमा धेरै पार्टीहरूलाई समेत समेटेको छ ।’
नेता रायमाझीले २०१७ सालपछि भरतशमशेर नेतृत्वको गोर्खा परिषद् कांग्रेसमा समाहित भएको उदाहरण दिँदै विभिन्न कालखण्डमा छुट्टिने र जोडिने क्रम कांग्रेसभित्र हुँदै आएको बताए । ‘त्यसकारण सबैलाई समेट्नुपर्छ,’ उनले भने ।
सानेपामा उत्साह, महामन्त्री भन्छन्– असाध्यै खुशी लागेको छ
पूर्वसभापति देउवाको समूहमा रहेका नेताहरू सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएपछि सानेपामा उत्साहको वातावरण देखिएको छ ।
लामो समयदेखि पार्टीको मूलधारबाट अलग रहेका नेताहरू बैठकमा सहभागी भएको विषयलाई सानेपाले एकताको दिशामा सकारात्मक घटनाका रूपमा लिएको छ ।
उपसभापति विश्वप्रकाश शर्माले एकताका लागि पार्टी कार्यालयको ढोकामात्र नभई हृदयको ढोका पनि खुला रहेको प्रतिक्रिया दिए । उनले कांग्रेसमा वर्तमान सभापति, निवर्तमान सभापति, केन्द्रीय सदस्यदेखि गाउँका क्रियाशील सदस्य र शुभेच्छुकसम्म सबैको समान स्थान रहेको बताए ।
‘पार्टी कार्यालयको काठको ढोकामात्रै होइन, हृदयको ढोका पनि खुला छ,’ उपसभापति शर्माले भने, ‘पार्टी सबैको हो । अहिलेका सभापतिको मात्रै होइन, निवर्तमान सभापतिको पनि हो ।’

उनले पार्टीभित्रका विवाद संवादमार्फत समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिए । सबै नेताहरू एक ठाउँमा उभिएर अघि बढ्दा पार्टी थप बलियो बन्ने उपसभापति शर्माको भनाइ थियो ।
‘हामी सबै सँगै रहनुपर्छ । सँगसँगै अगाडि जाँदै गर्दा बलियो तागत बन्न सक्छ,’ शर्माले भने, ‘सभापति गगन थापा र सिंगो कार्यसमितिले त्यसका लागि अपिल गरिरहेको छ । त्यसलाई आत्मसात गरेर हामी सँगसँगै जान्छौं, सँगै जुट्छौं ।’
महामन्त्री गुरुराज घिमिरेले पनि १५औं महाधिवेशनको संघारमा नेताहरू पार्टीको मूल प्रक्रियामा समाहित हुनु सुखद् भएको बताए । विशेष महाधिवेशनमा सबै नेताहरूको सहभागिता अवस्था बन्न नसके पनि अहिले उल्लेख्य संख्यामा नेताहरू समायोजित भएको उनको भनाइ छ ।
‘१५औं महाधिवेशनको संघारमा उहाँहरू समायोजित हुनुभएको छ । यसले पार्टीलाई ताकत मिलेको छ,’ महामन्त्री घिमिरेले भने, ‘पार्टीका साथीहरूमा उत्साह बढेको छ । हामीलाई पनि असाध्यै खुशी लागेको छ ।’

अर्का महामन्त्री प्रदीप पौडेलले भने १५औं महाधिवेशनमा सबैलाई सहभागी गराउने उद्देश्यअनुसार पार्टीले यसअघि नै विभिन्न निर्णय गरेको बताए । क्रियाशील सदस्यता नवीकरण गरेका सबैलाई अधिवेशनमा सहभागी हुने वातावरण बनाइएको र १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका सबैलाई नयाँ कार्यसमितिमा समेट्ने व्यवस्था गरिएको उनले बताए ।
‘हामीहरूले १५औं महाधिवेशनमा सबैलाई समेट्न खोजेका थियौं । नसमेटिनुभएका नेता साथीहरूको जे विषय थियो, ती विषय हामीले सम्बोधन गरेका स्थिति छ,’ महामन्त्री पौडेलले भने ।
उनले बिहीबारको केन्द्रीय कार्यसमिति बैठकलाई पार्टी एकता र १५औं महाधिवेशनको वातावरण निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे ।
‘यसले १५औँ महाधिवेशनका लागि वातावरण बनाउँछ । सबैलाई समेट्ने स्थिति बनाउँछ । सबै साथीहरू महाधिवेशनमा सहभागी हुने स्थिति बनेको छ,’ पौडेलले भने, ‘पार्टी एकतावद्ध भएर सबैको सहभागितामा महाधिवेशनलाई व्यवस्थित ढंगबाट सम्पन्न गर्ने स्थिति बनेको छ । यो हाम्रो लागि अत्यन्त खुशीको कुरा हो ।’
देउवा सहभागी हुने वातावरण बनाऔं : डिना
पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीलाई एकताबद्ध बनाएर महाधिवेशनमा सबैलाई सहभागी गराउने उद्देश्यले १४औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई बैठकमा बोलाएको भन्दै नेतृत्वलाई धन्यवाद दिइन् ।
केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उपाध्यायले पार्टी एकताका लागि सभापति थापाले अघि सारेको प्रयासलाई आफूहरूले समर्थन गर्ने बताइन् ।
‘पार्टीलाई एकतावद्ध गरेर लैजाने, महाधिवेशनमा सबैलाई सहभागी गराउने भनेर सदस्यता र १४औं महाधिवेशनमा जितेका सबैलाई आज जसरी बोलाउनु भयो, यसप्रति हामी हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छौं,’ उनले भनिन् ।

अधिवेशनको तयारीका क्रममा जिल्ला–जिल्लामा पुगेका कारण विशेष महाधिवेशनमा सहभागी नभएका अन्य नेताहरू बिहीबारको बैठकमा उपस्थित हुन नसकेको उपाध्यायले बताइन् ।
उनले सभापति थापाले अघि सारेको एकताको प्रयासलाई समर्थन गर्दै पूर्वसभापति देउवालाई समेत १५औं महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
‘सभापतिको अघिको कुरालाई सहर्ष समर्थन गर्दै पूर्वसभापति शेरबहादुर देउवा १५औं महाधिवेशनमा उपस्थित हुने वातावरण बनाऔं,’ नेतृ उपाध्यायले भनिन् ।
उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने नेतृत्वको प्रयासपछि कांग्रेसका धेरै नेता–कार्यकर्तामा उत्साह बढेको बताइन् । देशको पछिल्लो परिस्थितिले कांग्रेसलाई थप एकताबद्ध हुनुपर्ने आवश्यकता देखाएको उपाध्यायको भनाइ थियो ।
लचकता अपनाउन तयार छु : गगन थापा
बैठकमा सभापति थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार रहेको बताए ।
पूर्वसभापति देउवासहितका वरिष्ठ नेताहरूलाई आग्रह गर्दै सभापति थापाले महाधिवेशन छुट्टाछुट्टै गर्नुपर्ने अवस्था वा कारण नरहेको जिकिर गरे ।
‘मेरो आदरणीय नेता शेरबहादुर देउवाजीलगायत सबै नेताहरूलाई विशेष अनुरोध गर्न चाहन्छु । अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन,’ उनले भने ।

१५ औं महाधिवेशन एकै ठाउँमा सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको सभापति थापाको भनाइ थियो ।
‘सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौं । पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न मेरो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन म तयार छु,’ उनले भने, ‘त्यसैले सबै नेताहरूलाई सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।’
सभापति थापाले उनले पार्टीका सबै पक्षलाई एक ठाउँमा ल्याउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाए । महाधिवेशन व्यवस्थापनका लागि आफूले संयोजकको जिम्मेवारीसमेत सम्हाल्दै सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ ।
सभापति थापाले १६ असोजमा हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह पनि गरे । पूर्वसभापति देउवाले महाधिवेशनको उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने उनको भनाइ थियो ।
‘मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ,’ थापाले भनेका छन्, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ ।’
प्रतिक्रिया 4