+
+
Shares

नयाँ नेकपामा विद्या भण्डारी अध्यक्ष, वर्षमान महासचिव बनाउने बहस सुरु

‘विद्याजीलाई अध्यक्ष बनाउन नेकपातिर आपत्ति छैन, अब प्रचण्डजीले नेतृत्व दाबी गर्नुहुन्न । यो अन्तरिम व्यवस्था हुन्छ, जाने एकताको महाधिवेशनतिरै हो ।’

बसन्त बस्नेत बसन्त बस्नेत
२०८३ असोज १ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सचिव शेरधन राईले वर्षमान पुनसँगको तस्बिर फेसबुकमा राखेपछि एमाले–नेकपा सहकार्यको चर्चा तीव्र भएको छ।
  • दुवै दलका शीर्ष नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नयाँ परिस्थितिमा फेरि सहकार्य अघि बढाउनेबारे छलफलमा रहेको स्रोतले जनाएको छ।
  • नेकपा नेता वर्षमान पुनले एमालेसँग सहकार्यको कोणबाट छलफल सुरु भएको स्वीकार गर्दै मध्यम तहमा थप छलफल बाँकी रहेको बताए।

१ असोज, काठमाडौं । बुधबार एमाले सचिव शेरधन राईले नेकपा नेता वर्षमान पुनसँगको एक तस्बिर फेसबुकमा राखे, जसले पछिल्लो दुई सातायता भित्रभित्रै चलिरहेको एमाले र नेकपा सहकार्यको गाइँगुइँलाई बल दियो ।

तस्वीर थियो, होटल भिभान्ता ललितपुरको । किरात राई यायोक्खाको अधिवेशनसँग सम्बन्धित छलफलपछि दुई नेता भिभान्तामा बस्न तयार भएका थिए ।

एमाले र नेकपा दुवैतर्फको उच्च स्रोत भन्छ– केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नयाँ परिस्थितिमा फेरि सहकार्य अघि बढाउन चाहन्छन् । दोस्रो तहका नेताहरुबीच एक मत बन्न भने बाँकी छ ।

खासगरी एमालेभित्र पुनर्गठनको बहस बाक्लिएका बेला त्यसलाई विषयान्तर गर्नेगरी एमाले–नेकपा सहकार्यको विषय आएको हुन सक्ने उनीहरूको आशंका छ । अनि ओली र प्रचण्ड दुवैले विगतमा गरेका एकता र विभाजनका गल्ती फेरि दोहोरिन सक्नेमा उनीहरूले चेतावनीपूर्ण संकेत पनि गरेका छन् ।

एमाले–नेकपा सहकार्य पहलका लागि राखिएको बैठकका संयोजनकर्ता हुन् शेरधन राई । विगतमा लामो समय पूर्वराष्ट्रपति विद्या भण्डारी निकट रहँदै आएका शेरधन एमाले अध्यक्ष केपी ओलीसँग पनि निकटतामै छन् । अहिले एमालेमा नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला शेरधन ओलीलाई टिकाएरै जानुपर्ने पक्षमा छन् । तर पार्टी पुनर्गठनको क्रममा नेतृत्व बदलिने भए पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्काउनुपर्ने उनको मत छ ।

‘संगठनको विरासत, बलका आधारमा अध्यक्ष एमालेले पाउने, त्यसो गर्दा ओलीजीको विकल्पमा विद्या भण्डारीजी आए नेकपाभित्र सकारात्मक वातावरण बनाउन दोस्रो पुस्ताका नेताहरुले भूमिका खेल्ने छलफल सुरु भयो,’ वार्तालाई नजिकबाट हेरिरहेका एक उच्च नेताले भने, ‘त्यसो गर्दा स्वतः नेकपाको दोस्रो तहबाट वर्षमानजी वा त्यही हाइटको अर्को नेतालाई महासचिवका रुपमा स्वीकारेर एकताको महाधिवेशनतर्फ जानुपर्ने हुन्छ । त्यसो नगर्दा चाहिँ सहकार्यका अरु मोडालिटीमा पनि छलफल गर्छौं ।’

एमाले महासचिव शंकर पोखरेलले मंगलबार पूर्वराष्ट्रपति भण्डारीसँग बालुवाटारमा छलफल गरेका थिए । बहुमत नेताहरुले अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने भन्दैगर्दा अझै वातावरण बन्न नसकेको अवस्थामा सम्भावित विकल्पहरूका बारेमा उनीहरूबीच कुरा भएको बताइएको छ ।

मंगलबार विद्याले शंकरलाई बालुवाटारमा भेट्दै ‘पुनर्गठनको पक्षमा उभिनुस्, म साथमा छु’ भन्ने सन्देश दिएकी थिइन् । पुनर्गठनका सम्भावित विकल्पमध्ये एमाले र नेकपाबीच नयाँ शिराबाट सहकार्य हुँदै एकतासम्म जान सकिने मार्गबारे छलफल भएको बुझिएको थियो ।

‘विद्याजीलाई अध्यक्ष बनाउन नेकपातिर धेरै आपत्ति छैन भन्ने बुझेको छु, अब प्रचण्डजीले नेतृत्व दाबी गर्नुहुन्न,’ एमाले स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यो अन्तरिम व्यवस्था हुन्छ, जाने नयाँ महाधिवेशनतिरै हो । बहस सुरु गरौं न भन्नेमा हामी लागेका छौं ।’

अब भने पार्टीको कार्यकारी नेतृत्व ओली र प्रचण्ड दुवैले गर्न नहुने, सर्वोच्च सल्लाहकार इकाईमा उनीहरूलाई राख्न सकिने प्रस्तावबारे कुरा सुरु भएको छ ।

विगतमा विद्या भण्डारीलाई नेतृत्वमा फर्काउन ओली तयार थिएनन्, जबकि एमालेको सदस्यता नवीकरण लगायत प्रक्रियाबारे उनी जानकार नै थिए ।

जेनजी प्रदर्शनपछि देशमा सत्ताविप्लव भएको, पछिल्लो चुनावमा वामपन्थी जनमत रक्षात्मक बनेको, प्रदेश र स्थानीय तहको चुनाव आउनै लागेको, एमाले र माओवादी दुवैलाई बलियो साथ दिँदै आएको जनजाति मत पनि हर्क साम्पाङदेखि कुलमान घिसिङजस्ता नयाँ पात्रतिर आकर्षित हुन थालेको जस्ता विषयलाई दुवै पार्टीको नेतृत्वले नोटिसमा राखेको छ ।

नेकपा नेता वर्षमान पुनले एमालेसँग सहकार्यको कोणबाट छलफल सुरु भएको स्वीकार गरे । अनलाइनखबरसँग कुरा गर्दै पुनले भने, ‘नेकपा र एमाले दुर्वतर्फका शीर्ष नेताहरू एकता वा सहकार्यका लागि तयार देखिनुभएको छ । मध्यम तहमा हामी केकसरी जाने वा थप के गर्नेमा छलफल गर्न बाँकी छ ।’

विगतमा ०७४ असोजमा नेकपा बनाउनेगरी एमाले र माओवादीबीच वामपन्थी गठबन्धन भएको थियो । दुई तिहाई निकट बहुमत सहित ओली नेतृत्वमा सरकार बनाएका थिए उनीहरूले । ०७५ जेठ ३ मा ओली र प्रचण्ड दुई अध्यक्ष रहनेगरी नेकपा गठन भएको थियो । तीव्र गुटबन्दी र सत्तास्वार्थका कारण त्यसले स्थायित्व पाउन सकेन ।

अहिले जनमत कांग्रेस र एमालेजस्ता स्थिर मानिएका शक्तितर्फ नभई रास्वपा, श्रमसंस्कृति पार्टी लगायत नयाँ शक्तितर्फ खिचिएपछि ओली र प्रचण्ड दुवै विकल्पहरूको गृहकार्यमा लागेका छन् ।

आगामी प्रदेश र स्थानीय चुनाव लक्षित गरी यो गृहकार्य बाक्लिन थालेको नेताहरूले जानकारी दिएका छन् । प्रादेशिक तहमा भने सत्ता सहकार्य सुरु नै भइसकेको छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले नेतृत्व गर्ने सहमति कार्यान्वयनमै आइसकेको छ ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?