+
+
Shares

भोटेकोशी बाढी : १८८ इन्जिनियर-प्राविधिक बेपत्ता

लामो समयसम्म खोजी गर्दा पनि आफन्तको अवस्था पत्ता नलागेपछि केही परिवारले भने कुशको शव बनाएर अन्तिम संस्कार समेत गरिसकेका छन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ असोज १ गते २०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी र त्रिशूलीको बाढी आएको २२ दिनपछि १३ जलविद्युत् आयोजनामा कार्यरत ८ सय ९८ जना अझै सम्पर्कविहीन छन् ।
  • नेपाल इन्जिनियर्स एसोसिएसनका अनुसार सम्पर्कविहीनमध्ये १ सय ८८ जना इन्जिनियर तथा प्राविधिक छन्, र १७ जनाको शव फेला परिसकेको छ ।
  • माथिल्लो त्रिशूली–३ बीमा कार्यरत सोमनाथ पौडेल र राजेश शर्मा पौडेलसहितका परिवारले शव नपाएपछि कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

१ असोज, काठमाडौं । १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जलविद्युत् आयोजनामा कार्यरत सयौँ जनशक्तिलाई प्रभावित बनायो । बाढी आएको २२ दिन बितिसक्दा पनि १३ वटा जलविद्युत् आयोजनामा कार्यरत ८ सय ९८ जना अझै सम्पर्कविहीन छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनले संकलन गरेको विवरण अनुसार सम्पर्कविहीनमध्ये १ सय ८८ जना इन्जिनियर तथा प्राविधिक छन् । लामो समयसम्म खोजी गर्दा पनि आफन्तको अवस्था पत्ता नलागेपछि केही परिवारले भने कुशको शव बनाएर अन्तिम संस्कार समेत गरिसकेका छन् ।

एसोसिएसनका अनुसार सबैभन्दा धेरै इन्जिनियर तथा प्राविधिक माथिल्लो त्रिशूली-१ आयोजनाबाट सम्पर्कविहीन छन् । उक्त आयोजनाका ६० इन्जिनियर तथा प्राविधिकको अवस्था अझै अज्ञात छ ।

त्यस्तै माथिल्लो त्रिशूली-३ ‘बी’ का ४२, माथिल्लो त्रिशूली-३ ‘ए’  ३०, रसुवागढी जलविद्युत् आयोजना २५, लाङटाङ खोला २०, मैलुङ खोला ६ र चिलिमे जलविद्युत् आयोजनाका ५ इन्जिनियर तथा प्राविधिक सम्पर्कविहीन रहेको एसोसिएसनको विवरण छ ।

तीमध्ये १७ इन्जिनियर तथा प्राविधिकको शव फेला परिसकेको छ  भने सञ्जय साह र कविर महर्जनको उद्धार गरिएको थियो ।

बुधबार चिलिमे आयोजनामा फेला परेका ४ शव र एउटा मानव शरीर अंगमा १ जना इन्जिनियर तथा प्राविधिक थिए ।

आयोजनागत हेर्दा २ सय १६ मेगावाट माथिल्लो त्रिशूली-१ मा ५ यस ७५ जनशक्ति सम्पर्कविहीन छन् । १ सय ११ मेगावाट रसुवागढी ९३, १ सय २० मेगावाट रसुवा-भोटेकोशी ४, २० मेगावाट लाङटाङ खोला ४२, २२ मेगावाट चिलिमे ६, ५ मेगावाट मैलुङ खोला ७, ६० मेगावाट माथिल्लो त्रिशूली-३ ए ४२ र ३७ मेगावाटको माथिल्लो त्रिशूली-३ बीमा १ सय २२ जना सम्पर्कविहीन छन् ।

चार सदस्यीय परिवारको पर्खाइ अन्त्य

माथिल्लो त्रिशूली-३ बीमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर सोमनाथ पौडेलको परिवारका लागि बाढीपछि बितेका २२ दिन अनिश्चितताको पीडाले भरिएका थिए ।

बर्दिया बाँसगढी नगरपालिका-८ घर भएका सोमनाथ आयोजनाको क्वार्टरमा श्रीमती तारा उपाध्याय र २८ महिनाका जुम्ल्याहा छोराछोरी शिवान्स र तिसिया सहित बस्दै आएका थिए । १० भदौमा  आएको बाढीपछि चारै जना सम्पर्कविहीन भए ।

बाढी आउनु अघिल्लो साँझसम्म परिवारसँग कुराकानी भएको थियो । त्यसपछि भने उनीहरूसँग सम्पर्क हुन सकेन ।

‘अघिल्लो दिन साँझसम्म कुराकानी भएको थियो, भोलिपल्ट बिहान यस्तो भयो, त्यसपछि सम्पर्कमै हुनुहुन्न,’ सोमनाथका काकाका छोरा सागर पौडेलले भने ।

लामो समयसम्म खोज्दा पनि चारै जनाको अवस्था पत्ता नलागेपछि परिवारले बर्दिया बबई नदीस्थित परेवा ओडार घाटमा चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।

छोरा, बुहारी र नातिनातिनीको अवस्थाबारे कुनै जानकारी नआएपछि ८१ वर्षीय बुबा उमानाथ पौडेल किरियामा बसेका छन् ।

सोमनाथको पहिचानका लागि उनका बुबा उमानाथले २१ भदौमा जिल्ला अस्पताल गुलरियामा डीएनए परीक्षणका लागि रगतको नमुना दिएका छन् । बुहारी ताराको डीएनए परीक्षणका लागि उनका बुबा चन्द्रमणि उपाध्यायले पनि रगतको नमुना दिएका छन् । तर, परीक्षणको रिपोर्ट अझै आएको छैन ।

इन्जिनियर दम्पती र चार वर्षीय छोराछोरीको पनि पत्तो लागेन

माथिल्लो त्रिशूली-३ बीमै कार्यरत इन्जिनियर दम्पती राजेश शर्मा पौडेल र प्रमिला पाठकको परिवारको अवस्था पनि उस्तै छ ।

बागलुङ नगरपालिका-९ तित्याङका ३३ वर्षीय राजेश, उनकी ३१ वर्षीया श्रीमती प्रमिला तथा उनीहरूका चार वर्षीय जुम्ल्याहा छोराछोरी आदित्य र आदिति बाढीपछि सम्पर्कविहीन भएका छन् ।

घटनापछि परिवारले उनीहरू सकुशल भेटिने आशामा खोजी जारी राखेको थियो । आफन्तहरू प्रभावित क्षेत्रमा पुगेर खोजी गरे । तर, उनीहरूको कुनै खबर आएन । शवसमेत फेला नपरेपछि परिवारले कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिसकेको छ ।

आफन्त लक्ष्मण रिजालका अनुसार लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले जीवितै भेटिने आशा मारेको थियो ।

राजेश परिवारका एक्ला छोरा थिए । उनका तीन दिदी छन् । एकै परिवारका चार जना बाढीमा सम्पर्कविहीन भएपछि बागलुङस्थित परिवार र आफन्त शोकमा छन् ।

‘भोलि दिउँसो फोन गर्छु’ भनेका सुबोधको फोन आएन

अर्घाखाँची शितगंगा नगरपालिका ठाडा अमराइका २६ वर्षीय सुबोध बेल्बासे पनि माथिल्लो त्रिशूली-३ बीमा कार्यरत थिए । दुई वर्षदेखि आयोजनामा इन्जिनियरका रूपमा काम गरिरहेका उनी बाढी आएको दिनदेखि सम्पर्कविहीन छन् ।

९ भदौ राति घरमा रहेकी आमा सावित्रासँग उनको फोनमा कुराकानी भएको थियो । त्यस क्रममा उनले भोलिपल्ट दिउँसो फोन गर्ने बताएका थिए ।

तर, भोलिपल्ट बाढी आयो । ‘भोलि दिउँसो फोन गर्छु’ भनेका छोराको फोन त्यसपछि कहिल्यै आएन ।

सुबोध बुबा सुरेन्द्र र आमा सावित्राका दुई सन्तानमध्ये कान्छा तथा एक्ला छोरा हुन् । बुबा सुरेन्द्र पर्वतस्थित मोदी हाइड्रोपावरमा कार्यरत छन् । छोरा सम्पर्कविहीन भएको खबर पाएपछि उनी काठमाडौं हुँदै रसुवासम्म पुगे । तर, अहिलेसम्म सुबोधको अवस्था पत्ता लाग्न सकेको छैन ।

२९ वर्षमै हराए रसुवागढीका इलेक्ट्रिकल इन्जिनियर

रसुवागढी जलविद्युत् आयोजनाका इलेक्ट्रिकल इन्जिनियर २९ वर्षीय समिर लामिछाने पनि बाढीपछि सम्पर्कविहीन छन् । समिरले १ सय ११ मेगावाट रसुवागढी आयोजनामा करिब ६ वर्षदेखि काम गर्दै आएका थिए । उनी आयोजनाका अपरेसन इन्चार्ज समेत थिए ।

उनका बुबा माधव लामिछानेका अनुसार परिवारको आर्थिक आधार समेत समिर नै थिए । ‘देशको दक्ष जनशक्तिको ठूलो हिस्सा गुम्यो, यसले समग्र देशमै असर गर्छ, हाम्रो परिवारको कमाउने एउटा आधार, स्रोत नै सबै सकियो,’ उनले भने ।

रसुवागढी आयोजनामा आफ्ना छोरासहित ठूलो संख्यामा जनशक्ति सम्पर्कविहीन भएको छ । उनका अनुसार आयोजनाको स्थायी तथा करार र ठेकेदार मार्फत काम गर्ने गरी ठूलो संख्यामा जनशक्ति बाढीमा परेको छ ।

उनले आयोजनाको सुरक्षा व्यवस्थाबारे समेत प्रश्न उठाएका छन् । उनका अनुसार अघिल्लो वर्षको बाढीमा पनि आयोजनामा कार्यरत ३४ जना मुस्किलले जोगिएका थिए र जंगलमा आश्रय लिएर उद्धार भएका थिए ।

‘पोहोर सालको बाढीले हाम्रा छोराहरू सहित ३४ जना बालबाल बाँचेर जंगलमा आश्रय लिएर पछि उद्धार भएका थिए,’ उनले भने, ‘उनीहरू बसेका सबै क्याम्प डुबेपछि फेरि खोलाकै किनारमा क्याम्प बनाउनु भनेको त्यहीँ मर भनेर छोडिदिए जस्तो भयो ।’

माधवका अनुसार आयोजनाका कामदार तथा कर्मचारी बस्ने क्याम्प पावरहाउस अगाडि खोलाबाट करिब १० मिटरको दुरीमा थियो । समिरसँग बाढी आउनुभन्दा दुई दिनअघि आफूले र घटनाको अघिल्लो साँझ आमाले कुराकानी गरेको उनले बताए ।

‘छोरासँग मेरो दुई दिनअघि कुरा भएको थियो, आमासँग अघिल्लो दिन बेलुकीसम्म कुरा भएको थियो,’ उनले भने ।

उनीहरू सहित विभिन्न जलविद्युत् आयोजनामा काम गर्ने १ सय ८८ इन्जिनियर तथा प्राविधिक सम्पर्कविहीन छन् । त्यस्तै भोटेकोशीमा आएको बाढीका कारण  हालसम्म ६ हजार १ सय ५० जना सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १ हजार ४ सय ३ जनाको शव फेला परेको छ ।

‘दक्ष जनशक्ति गुमाउनु राष्ट्रकै ठूलो क्षति’

नेपाल इन्जिनियर्स एसोसिएसनका सूचना अधिकारी तथा इन्जिनियर यामकृष्ण पौडेलले बाढीमा ठूलो संख्यामा दक्ष इन्जिनियर तथा प्राविधिक सम्पर्कविहीन हुनु जलविद्युत् क्षेत्रसँगै मुलुककै लागि ठूलो क्षति भएको बताए ।

उनका अनुसार जलविद्युत् आयोजनामा लामो समय काम गरेर अनुभव हासिल गरेका दक्ष जनशक्ति गुम्दा त्यसको असर तत्कालै पूर्ति गर्न कठिन हुन्छ ।

‘बाढीले हाइड्रो क्षेत्रमा ठूलो क्षति पुगेको छ, दक्ष जनशक्ति गुमाउनु परेको छ, यो राष्ट्रकै लागि ठूलो क्षति हो,’ उनले भने, ‘लामो समय हाइड्रोमै काम गरेर अनुभव लिइरहेका उनीहरूको ठाउँमा नयाँ जनशक्ति ल्याएर काम गराउन लामो समय लाग्छ ।’

उनका अनुसार बाढीमा ९ सयभन्दा बढी जनशक्ति सम्पर्कविहीन हुनु ठूलो मानवीय क्षति हो । यस्तो जनशक्ति तयार गर्न राज्यलाई वर्षौं लाग्ने छ ।

बाढीपछि अन्य जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर तथा प्राविधिकको मनोबल समेत प्रभावित भएको उनले बताए ।

‘आफ्नै साथीभाइलाई बाढीले बेपत्ता बनाएपछि अन्य इन्जिनियर साथीहरूमा काम गर्ने मनोबल कमजोर देखिन्छ, फिल्डमा जान डराइरहेका छन्,’ उनले भने, ‘मानसिक तनाव पनि बढेको छ ।’

एसोसिएसनले अझै सम्पर्कविहीनहरूको खोज तथा उद्धारमा सहयोग पुग्ने गरी काम गरिरहेको उनले बताए । विभिन्न समिति बनाएर खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको उनको भनाइ छ ।

बाढीले रसुवा, नुवाकोट र धादिङका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीबाट आयोजनाका आवास, कार्यालय, पहुँचमार्ग, सुरुङ लगायत संरचनामा क्षति पुगेको छ । कतिपय आयोजनामा अझै खोज तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा श्रमिक, इन्जिनियर, प्राविधिक तथा अन्य जनशक्ति सम्पर्कविहीन छन् ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?