News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुरा जिल्ला अदालतले अनेरास्ववियु नेता चेतनदीप अयडीको हत्यामा संलग्न ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
- अदालतले उनीहरूलाई पीडित पक्षलाई जनही १ लाखका दरले क्षतिपूर्ति दिन आदेश दिएको छ।
- घटनामा आरोपित १८ जनालाई भने अदालतले अभियोगबाट सफाई दिएको छ।
१ असोज, धनगढी । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले छ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ ।
घटना भएको करिब ४ वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले अयडीको हत्यामा संलग्न भएको पुष्टि गर्दै ६ जनालाई जन्म कैदको सजाय हुने फैसला सुनाएको हो ।
फैसलाअनुसार जङ्ग भन्ने शेरबहादुर अयडी, सागर अयडी, सागर अयडी,लोकेश अयडी, खेमराज भन्ने खेम अयडी,जीवन अयडी र धनराज थापालाई जन्म कैद ठहर गरेको छ ।
उनीहररूलाई पीडित पक्षलाई जनही एक लाखका दरले क्षतिपूर्ति समेत दिन आदेश दिइएको छ ।
प्रतिवादी पदमबहादुर अयडी, बिनोद अयडी, रूपा चौधरी अयडी लगायतका १८ जनालाई भने अभियोगबाट सफाई हुने ठहर गरिएको छ ।
अभियोग पुष्टि भएका ६ जनाको हकमा भने जिवित रहेसम्म कैद गर्नुपर्ने नेपाल सरकारको दाबी नपुग्ने अदालतले जनाएको छ ।
४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको कैलाशमाडौंमा एमालेनिकट अनेरास्ववियुका नेता चेतनलाई एउटा समूहले घर घेरा हाली क्रूरतापूर्वक हत्या गरेको थियो ।
प्रतिक्रिया 4