+
+
Shares

बुकर विजेता अनुवादक भन्छिन्– ‘अनुभूतिको अनुवाद एआईले होइन, मान्छेले मात्रै गर्न सक्छ’

प्रसुन संग्रौला प्रसुन संग्रौला
२०८३ असोज २ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय बुकर विजेता डेजी रकवेलले काठमाडौं विश्वविद्यालय र शिकागो विश्वविद्यालयको साल्टसँगको सहकार्यमा साहित्यिक अनुवाद कार्यशालामा प्रशिक्षण दिइन्।
  • रकवेलले अनुवादले मूल भाषा, संस्कृति र लिपि हराए पनि पाठकलाई मूल कृति पढेजस्तो अनुभूति दिने नयाँ संसार सिर्जना गर्नुपर्ने बताइन्।
  • उनले कुर्रतुलऐन हैदरको ‘आग का दरिया’ को अनुवाद अधिकार पाएको र मूल पाठको पूर्ण पुनःअनुवाद गर्ने योजना रहेको बताइन्।

‘अनुवादमा सबै कुरा हराउँछ तर असल अनुवादले पाठकलाई मूल कृति पढेकै अनुभूति दिन्छ।’

अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता डेजी रकवेल साहित्यिक अनुवादलाई केवल भाषान्तर गर्ने कामभन्दा नयाँ भाषामा एउटा संसार पुनःसिर्जना गर्ने प्रक्रियाका रूपमा हेर्छिन्।

अमेरिकी लेखिका, दृश्यकलाकार तथा साहित्यिक अनुवादक डेजी रकवेल दक्षिण एसियाली उत्कृष्ट कृतिहरूलाई विश्वव्यापी पाठकसामु पुर्‍याउने कामका लागि परिचित छिन्। गीताञ्जली श्रीको उपन्यास टम्ब अफ स्याण्डको अङ्ग्रेजी अनुवादका लागि उनले सन् २०२२ मा अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेकी थिइन्।

मुख्यत : हिन्दी र उर्दू साहित्यमा काम गर्ने रकवेल हालै काठमाडौं विश्वविद्यालयको भाषा तथा जनसञ्चार विभागले शिकागो विश्वविद्यालयको साउथ एसियन लिटरेचर इन ट्रान्सलेसन (साल्ट) सँगको सहकार्यमा आयोजना गरेको साहित्यिक अनुवाद कार्यशालामा प्रशिक्षकका रूपमा नेपाल आएकी थिइन्।

कलेजका पढ्दाताका कुनै विशेष योजनाबिनै रकवेलको दक्षिण एसियाली साहित्यसँगको यात्रा सुरु भएको थियो ।

‘मैले कलेजमा हिन्दी सिक्न थालेको थिएँ, किनभने मलाई भाषा सिक्न मनपर्थ्यो र मलाई थाहै नभएको कुनै भाषा पढ्न चाहन्थें,’ उनी सम्झन्छिन्।

पहिले फ्रेन्च, जर्मन र ग्रीक पढेकी भएकाले, इन्डो-युरोपेली भाषा परिवारमै टाढाको नाता भए पनि हिन्दी उनलाई एकदमै फरक लागेको थियो।

‘अमेरिकी विश्वविद्यालय प्रणालीमा स्वतन्त्र रूपमा विषय छान्न पाइने भएकाले मैले हिन्दी नै छाने । म यति गहिरो गरी यसमा बाँकी जीवन बिताउनेछु भन्ने कल्पना गरेकी थिइनँ,’ उनले थपिन्।

नेपाली साहित्यका लागि नयाँ ढोकाहरू

काठमाडौंमा साहित्यिक अनुवाद कार्यशाला सञ्चालन गरेकी रकवेलका अनुसार दक्षिण एसियाली साहित्यको अनुवादमा अन्तर्राष्ट्रिय प्रकाशकको चासो जगाउन अझै गाह्रो छ । तर अन्तर्राष्ट्रिय बुकर पुरस्कार जस्ता पहलले यसमा प्रगति गरिरहेका छन्।

‘साउथ एसियन लिटरेचर इन ट्रान्सलेसन (साल्ट) जस्ता संस्थाले अनुवादकहरूलाई तालिम दिने र पश्चिमी प्रकाशकहरूलाई दक्षिण एसिया ल्याएर चासो जगाउने राम्रो काम गरिरहेका छन्,’ उनी भन्छिन्।

‘नेपाली साहित्यको शताब्दीऔं लामो समृद्ध परम्परा छ, जुन विश्वभर चिनिनुपर्छ, केवल बेलायत वा अमेरिकामा मात्र होइन, सिंगापुर र नाइजेरिया जस्ता अङ्ग्रेजी पढ्ने अन्य क्षेत्रमा पनि,’ उनले भनिन्।

साल्टको प्रयासबाहेक, आर्मरी स्क्वायर भेन्चर्स (एएसभि) पुरस्कार जस्ता पहलले पनि प्रत्यक्ष बाटो खोलिरहेका छन् । हालै दार्जिलिङका रोहन क्षेत्रीले पारिजातको शिरीषको फूलको अनुवाद फ्लावर्स अफ द सिरिस ट्रीका लागि यो पुरस्कार जितेका थिए, जसले ओपन लेटर बुक्स जस्ता अमेरिकी प्रकाशकसँग प्रकाशनको ग्यारेन्टी दिन्छ।

अनुवादमा के हराउँछ, के जोगिन्छ

अनुवादकलाई प्रायः दुई संस्कृतिबीचको सेतु भनिन्छ। तर साहित्य एक भाषा र संस्कृतिबाट अर्कोमा सार्दा के हराउँछ भन्ने प्रश्नमा रकवेलको जवाफ स्पष्ट छ।

‘अनुवादकहरूले सामान्यतया के हरायो भनेर सोच्दैनन्; हामी के प्राप्त भयो भन्नेमा ध्यान दिन्छौं। तर साँच्चै के हराउँछ भनेर जान्न खोज्नुहुन्छ भने, सबथोक। मूल भाषा, संस्कृति र लिपि सबै हराउँछ,’ उनी भन्छिन्। ‘अनुवादकको काम भनेको पाठकलाई मूल कृति नै अनुभव गरिरहेको जस्तो महसुस गराउने नयाँ चिज निर्माण गर्नु हो। त्यस अर्थमा हरेक अनुवाद एक किसिमको भ्रम हो।’

नयाँ अनुवादकहरूले गर्ने सबैभन्दा सामान्य गल्तीबारे उनी भन्छिन्, ‘केही हराउला भन्ने डरले नयाँ अनुवादकहरू प्राय शाब्दिकतामा अत्यधिक लगाव राखछन् तर शुद्धता भनेको शब्दकोशको परिभाषासँग शब्द-शब्द मिलाउनु मात्र होइन। शब्दहरू सँगै मिलेर एउटा भाव र संसार सिर्जना गर्छन्; वास्तविक शुद्धता त्यही भाव पुनर्सिर्जना गर्नुमा निहित हुन्छ।’

दक्षिण एसियामा उदीयमान अनुवादकहरूमा कहिलेकाहीं औपनिवेशिक इतिहासमा जरा गाडेको डर पनि हुन्छ । पाठलाई अङ्ग्रेजीमा ल्याउँदा त्यसमाथि हिंसा त गरिने होइन भन्ने चिन्ता उतिकै पर्छ । यस्तोमा उनी अनुवादकहरूलाई सम्झाउँछिन्, ‘मूल पाठ जस्ताको तस्तै अक्षुण्ण रहन्छ; अनुवाद त केवल त्यसलाई नयाँ माध्यममा पुनर्जीवित दिने प्रयास मात्र हो।’

एआईले नबुझ्ने कुरा — भाइब

एआई उपकरणले अनुवाद उद्योगलाई द्रुत गतिमा बदलिरहेको बेला रकवेलको दृष्टिकोण सन्तुलित तर सतर्क छ।

‘गणितको समस्या समाधान गर्ने होस्, इतिहासको सारांश बनाउने होस् वा पाठ अनुवाद गर्ने, जुनसुकै काममा पनि एआई लगभग ३० प्रतिशत गलत हुन्छ,’ उनी भन्छिन्।

‘अहिलेको समस्या के हो भने, मानिसहरूले अब यी नतिजामा त्रुटि हुन्छ भन्ने बुझिसकेका छन्, त्यसैले तिनलाई सच्याउन मानिस अनुवादकै सहायता लिन्छन्। एआई ले तयार पारेको ड्राफ्ट सम्पादन गर्नु त शून्यबाटै सुरु गर्नुभन्दा बढी काम हुन्छ,’ उनले बताइन्। ‘मानिस अनुवादकले गल्ती गर्दा भाषा अस्वाभाविक लागेकाले प्राय तुरुन्तै पत्ता लाग्छ। तर एआईले भने सतहमा पूर्ण रूपमा सहज र विश्वसनीय देखिने पाठ उत्पादन गर्छ, जसले सम्पादकलाई लुकेका त्रुटि पत्ता लगाउन हरेक हरफ मूल पाठसँग सूक्ष्म रूपमा दाँज्न बाध्य पार्छ।’

रकवेलका अनुसार नेपाली, उर्दू वा तमिल जस्ता डिजिटल उपस्थिति कम भएका भाषाहरूका लागि यी प्रणालीमा सामग्री निकै कम फिड गरिएको हुन्छ, जसले तिनको नतिजालाई अझ कमजोर बनाउँछ।

‘एआईलाई कुनै शब्द वा अवधारणा नबुझेको बेला, त्यसले मानिस अनुवादकले जस्तो कठिनाइ औंल्याउँदैन; बरु सिधै भ्रम कायम राख्न कल्पना गरेर कुरा बनाउँछ,’ उनी भन्छिन्।

मानिस अनुवादकले बुझ्न सक्ने तर एआईले नसक्ने के हो भन्ने प्रश्नको उनको छोटो र स्पष्ट जवाफ छ, ‘भावना, संस्कृति, इतिहास, र भाइब। एआई ले भाइब चेक गर्न सक्दैन!’

लेखकसँगको सम्बन्ध र स्वतन्त्रताको सीमा

अनुवाद गर्दा लेखकसँगको संवाद कत्तिको हुन्छ भन्ने कुरा धेरै हदसम्म लेखक जीवित छन् कि छैनन् र उनीहरू अङ्ग्रेजी बोल्छन् कि बोल्दैनन् भन्नेमा भर पर्ने रकवेल बताउँछिन्।

‘अङ्ग्रेजी राम्ररी बोल्ने गीताञ्जली श्रीसँग काम गर्दा, उनका आफ्नै बलियो धारणा थिए र उनले अनुवाद नजिकबाट हेरिन्। उनको लेखनशैली यति विशिष्ट छ कि उनको सुझाव अमूल्य थियो। तर कहिलेकाहीं लेखकले अनुवादमा पहिल्यै ठीकै भइसकेका वाक्यहरू अङ्ग्रेजीमा फेरि लेख्न खोज्दा अलि गाह्रो हुन्छ,’ उनले भनिन्।

रकवेलका अनुसार एउटा निश्चित बिन्दुमा पुगेपछि प्रकाशकका लागि काम टुङ्ग्याउनैपर्छ।

डेजी रकवेल र गीताञ्जली ।

लेखकसँग स्वतन्त्र रहने क्रममा ओरहान पामुकका धेरै किताब अनुवाद गरेकी अनुवादक मोरिन फ्रिलीले एक पटक पामुकलाई सीधै भनेकी थिइन्, ‘म तपाईंका लागि होइन, प्रकाशकका लागि काम गर्छु।’

रकवेलका अनुसार अन्ततः अनुवादकको मुख्य जिम्मेवारी पाठक र लक्षित भाषाको पाठप्रति नै हुन्छ।

लेखकको मनसायप्रति इमानदार रहने र लक्षित भाषामा आवश्यक रचनात्मक निर्णय लिने, यी दुईबीच सन्तुलन मिलाउनेबारे उनी भन्छिन्, ‘अनुवादकहरू लगभग लेखकको स्वर सञ्चार गर्ने माध्यम जस्तै हुन्छन्। आफैलाई सोध्नुपर्छ, यदि यी लेखकले सीधै अङ्ग्रेजीमा लेख्ने भए, यो कुरा कसरी व्यक्त गर्थे। साथै पाठ आकर्षक सुनिन्छ भन्ने पनि सुनिश्चित गर्नुपर्छ। लक्षित भाषामा राम्ररी नपढिने हो भने, जति नै शाब्दिक रूपमा शुद्ध भए पनि अनुवाद सफल भएको मानिँदैन।’

आगामी योजनाहरू

अनुवाद क्लान्त तुल्याउने परिश्रम हो । धेरै समय व्यय हुने काम हो । तर यतिका वर्षसम्म पनि अनुवादमा होमिदा पनि रकवेल उत्साहित छिन् । हरेक किताब र लेखकले लेखनबारे नयाँ कुरा सिकाउँछन्। नयाँ भाषामा एउटा पूर्ण कृति छापिंदा जादुई क्षण आउँछ। यिनै कुराहरूले उनलाई निरन्तर अनुवादको बाटोमा हिडिरहन प्रेरित गर्छ ।

‘म हाल हिजाब इम्तियाज अलीका १९३०को दशकका उर्दू हरर कथाहरूको सङ्ग्रहमा काम गर्दैछु। उनको लेखनमा डर र प्रेम मिश्रित हुन्छ,’ उनले बताइन्। ‘त्यसपछि, म गीताञ्जली श्रीको नयाँ उपन्यास अनुवाद गर्न सुरु गर्दैछु, जुन उनको अरू कृतिजस्तै अद्भुत लेखन हुनेछ भन्ने अपेक्षा छ।’

अन्त्यमा उनले खुसीका साथ एउटा घोषणा पनि गरेकी छिन्।

‘म यो सुनाउँदा खुसी छु कि मैले कुर्रतुलऐन हैदरको आग का दरिया को अनुवाद राइट्स प्राप्त गरेकी छु। कपीराइट पाएका खोज्नु पर्दा पछाडि ठूलो मेहनत हुन्छ, जुन गैर-अनुवादकले देख्दैनन् । त्यसैले यसको अनुमति पाउनु मेरो लामो समयदेखिको सपना पूरा भएजस्तो छ,’ उनले भनिन्।

भारत र पाकिस्तानको विभाजन कालमा लेखिएको रिभर अफ फायर लाई उर्दूको महान् मानिन्छ, जसले २ हजार वर्षको इतिहासलाई प्रस्तुत गर्छ । हैदरले आफैं यसको अङ्ग्रेजी संस्करण पहिले नै प्रकाशित गरेकी थिइन् । तर उनले त्यसमा ठूलो परिवर्तन गरेर मूल कृतिबाट झन्डै २०० पृष्ठ काटेकी थिइन्। रकवेल भने मूल पाठको सम्पूर्ण पुनःअनुवाद गर्ने योजनामा छिन्।

तस्वीर सौजन्य : प्रशिम महर्जन

लेखक
प्रसुन संग्रौला

संग्रौला अनलाइनखबर अंग्रेजीमा कला, संस्कृति, खेलकुद र सामाजिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?