News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीका कारण नेपाली कम्युनिस्ट पार्टीको पूर्वनिर्धारित महाधिवेशन र अधिवेशन कार्यतालिका प्रभावित भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।
- पार्टीले कार्यतालिका र कार्यविधिबारे छलफल गर्न मंगलबार दिउँसो १ बजे पेरिसडाँडामा केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ ।
- नेताहरूले सकेसम्म आगामी मंसिरमै महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका ल्याउने तयारी भएको बताएका छन् ।
४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित अधिवेशन कार्यतालिका प्रभावित भएको छ । रसुवा बाढीपछिको अवस्थामा अधिवेशन कार्यतालिका प्रभावित भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए ।
उनी भन्छन्, ‘पहिले पार्टीको केन्द्रीय कार्यसंयोजन समितिले महाधिवेशन र अधिवेशनको कार्यातालिका बनाएको थियो । तर भदौ १० गते रसुवामा गएको विनाशकारी बाढी लगायतका कारणले निर्धारित कार्यतालिका कार्यान्वयन हुन सकेन ।’
यस विषयमा छलफल गरेर नयाँ कार्यतालिका तय गर्नुपर्ने उनले बताएका छन् । गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले आगामी मंसिर ११ गतेदेखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
जसमा असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने उल्लेख थियो ।
भदौ १५ सम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको थियो ।
तर, यो कार्यतालिका अनुसार अधिवेशन र महाधिवेशन केन्द्रित कार्य हुन नसकेकोले छलफल गरेर नयाँ कार्यतालिका तय गर्नुपर्ने अवस्था आएको प्रवक्ता ज्वालाले बताए ।
छलफलका लागि नेकपाले नेकपाले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ ।
मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने गरी आह्वान भएको पार्टी प्रवक्ता ज्वालाले जानकारी दिए। उनले भनेका छन्, ‘केन्द्रीय संयोजन समितिको बैठकमा महाधिवशेन र अधिवेशनहरूको विषयमा, सदस्यता नवीकरणको विषयमा छलफल हुन्छ ।’
नेताहरूका अनुसार केन्द्रले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे पनि अधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि नहुँदा समस्या भएको तल्ला समितिको गुनासो गर्दै आएका छन् ।
आगामी मंगलबार बस्ने बैठकमा अधिवेशन कार्यविधि ल्याउने विषयमा पनि छलफल हुनेछ । सकेसम्म आगामी मंसिरमै महाधिवेशन हुनेगरी कार्यतालिका ल्याउने तयारी रहेको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया 4