+
+
Shares

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास, अब केन्द्रीय कमिटीमा पेस हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते ११:३६

५ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ ।

सोमवार च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार सचिवालय बैठकले केन्द्रीय समितिका लागि आवश्यक एजेण्डाहरूको सूची पनि तयार पारेको छ । उक्त सूचीमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयहरू समावेश छन् ।

पार्टीभित्र लामो समयदेखि चर्चामा रहेको कार्यदलको प्रतिवेदन र त्यसमा भएका विवादास्पद विषयहरूबारे उपमहासचिव भट्टले कार्यदलको काम सकिएको र प्रतिवेदनलाई औपचारिक रूपमा केन्द्रीय समितिमा लैजाने प्रक्रिया शुरु भएको बताए ।

‘हिजो कार्यदलले प्रतिवेदन बुझाएपछि कार्यदलको औचित्य सकिएको छ । प्रतिवेदनमा समावेश सुझावहरूलाई अब अनुसूचीका रूपमा केन्द्रिय समितिमा प्रस्तुत गरिनेछ,’ उनले भने ।

पार्टी अध्यक्षको रिजर्भेसन (विमति) का बारेमा सोधिएको प्रश्नमा भट्टले विशेष महाधिवेशन र नेतृत्व परिवर्तनजस्ता विषयहरूमा पहिले नै सहमति भइसकेको र अहिले त्यसमा कुनै विवाद नरहेको बताए ।

२९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेकाले अब त्यसमा थप बहसको आवश्यकता नरहेको उनको भनाइ थियो ।

केन्द्रीय समितिमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले आवाज उठाउने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले बैठकको थप प्रक्रिया र त्यहाँ हुने बहसका आधारमा नै आगामी रणनीति तय हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?