News Summary
Generated by OK AI. Editorially reviewed.- वसन्त लम्सालले सामाजिक कथावस्तुको फिल्म ‘बा : एक योद्वा’ असोज ९ मा प्रदर्शनको तयारी भएको र आफू लगानीकर्ता रहेको बताए।
- लम्सालले फिल्ममा विदेश जाने प्रवृत्ति, पुस्तान्तरको द्वन्द्व, बाउछोराबाउछोरीको सम्बन्ध र परिवारका जिम्मेवारीको कथा रहेको उल्लेख गरे।
- उनले ‘कर्मा’ व्यावसायिक रूपमा असफल भए पनि नेपाली दर्शकले सामाजिक कथावस्तु बढी रुचाउने निष्कर्षमा पुगेको बताउँदै ‘बा : एक योद्वा’ सफल हुने आशा व्यक्त गरे।
काठमाडौं । कथानक फिल्म ‘बा : एक योद्वा’ प्रदर्शनको तयारीमा छ । दुई दशकदेखि अमेरिकामा बस्दै आएका वसन्त लम्साल यस फिल्मका लगानीकर्ता हुन् । पहिलो फिल्म ‘कर्मा’ व्यावसायिक रूपमा सफल नभए पनि दोस्रो फिल्म ‘बा : एक योद्वा’ चल्नेमा लम्साल आशावादी र उत्साहित छन् ।
संगीतकर्मीसमेत रहेका लम्साल पछिल्ला वर्ष फिल्म निर्माताका रूपमा सक्रिय छन् । यतिबेला उनी फिल्मको प्रवर्द्धनमा व्यस्त छन् । नेपाली दर्शकले सामाजिक कथावस्तुका फिल्म बढी रुचाउने निष्कर्षमा पुगेका उनी ‘बा : एक योद्वा’लाई पनि त्यही धारको फिल्मका रूपमा प्रस्तुत गर्छन् ।
९ असोजदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म र आफ्नो निर्माण यात्राबारे लम्सालले अनलाइनखबरकर्मी विष्णु शर्मासँग गरेको संवाद :
‘बा : एक योद्वा’बारे बताइदिनुस् न ।
यसको सबैभन्दा सशक्त पक्ष कथा हो । ‘कर्मा’ रिलिज गरेर आएको बेला हरि लम्सालसँग भेट भयो । उहाँसँग ‘वान लाइन’ स्टोरी सुनेपछि काम अघि बढ्यो । अहिलेको समयसँग सान्दर्भिक विदेश जाने प्रवृत्ति र पुस्तान्तरको द्वन्द्वको कथा यसमा छ । म आफैं पनि अमेरिकामा बस्ने मान्छे हुँ । कथा साह्रै राम्रो लागेर काम अघि बढाएको हुँ ।
भोटेकोशी बाढीपछि प्रदर्शन रोकिएको फिल्मलाई पुनः रिलिज गर्दा कस्तो कठिनाइ भएको छ ?
यसअघि प्रचारप्रसारसहित सबै हिसाबले हामी तयार भइसकेका थियौं । भदौ १९ मा रिलिज गर्ने तयारी थियो । नेपालगञ्ज र दाङमा विशेष शो भइसकेका थिए । प्रचारकै क्रममा विपत् आइलाग्यो । यसले मानसिक, आर्थिक र हरेक हिसाबले कठिनाइ भयो । प्रचार सामग्रीका लागि पुनः काम गर्नुपर्यो ।
मंसिर २४ मा ल्याउने तयारी पनि भयो । तर, घोषणा गर्न ढिला भएको भन्दै हामीले उक्त मितिमा पुनर्विचार गर्यौं । असोजसम्म दुःखको माहोल केही सङ्लिएला भनेर असोज ९ मा ल्याउने निधो गर्यौं ।

कथामा के तपाईंका निजी भोगाइ पनि छन् ?
यो मध्यमवर्गीय परिवारको कथा हो । छोराछोरी विदेश जान रुचाउने, देशमा नबस्ने जुन प्रवृत्ति छ, त्यसको कथा यसमा छ । हाम्रो पुस्ताका मानिस पनि विदेश गयौं । मेरा बुवाआमा पनि ८० वर्षको हाराहारीमा वा अझ माथिको उमेरमा हुनुहुन्छ ।
यो नेपाल र विदेशको मात्र कुरा होइन । बाउछोरी र बाउछोराको सम्बन्ध कस्तो हुन्छ ? छोरा र बुहारीको भूमिका के हुन्छ ? त्यसले बुवाआमालाई कस्तो प्रभाव पार्छ ? उहाँहरू कुन अवस्थाबाट गुज्रनुपर्छ ? छोरी-ज्वाइँको कुरा पनि छ । यसकारण यो ‘कम्प्लिट प्याकेज’ फिल्म हो । यी कुरा पुरानै जस्ता लाग्लान्, तर प्रस्तुति एकदमै भिन्न तरिकाले गरिएको छ ।
यो कथा दर्शकले बुझ्नु किन जरुरी छ ?
एउटा उदाहरण दिन्छु । फिल्म जाँच समितिमा हामी गयौं । सदस्यहरूले फिल्म हेरेपछि के आशा राख्नुभएको छ भनेर सोध्नुभयो । हामीले भन्यौं, ‘हामीले अपेक्षा त युनिभर्सल गरेका छौं, तर हामी आफैं बसेर हेर्यौं भने पनि युनिभर्सल पाउँदैनौं भन्ने थाहा छ ।’
उहाँहरूले उठेर ताली बजाउनुभयो । उहाँहरूले कानुनी रूपमा फिल्मले एडल्ट पाउनुपर्ने हो, तर जुन खालको सन्देश दिनुभएको छ, त्यसलाई लिएर उत्साहित छौं भन्नुभयो ।
मैले जोड्न खोजेको कुरा के हो भने यसमा युवायुवतीको कथा छ । घरमा विद्रोह गरेर ऊ विदेशिन्छ । उता गएर बेवास्ता गर्छ । बुवाआमा अप्ठ्यारो अवस्थामा पर्नुहुन्छ । पछि आएर उसले गल्ती महसुस गर्छ । समाजमा जाने सन्देश सकारात्मक भएकाले यो हरेक मानिसले हेर्नुपर्छ । तपाईंलाई पनि कहीँ न कहीँ जोड्छ ।
फिल्ममा नै किन लगानी गर्नुभयो ?
फिल्ममा नलागेको भए पनि म कलामा सधैं संलग्न थिएँ । म आफैं गायक पनि हुँ । २०५१ सालमा स्वर परीक्षा पास गरेको हुँ । राजेशपायल राईहरू मेरो करिब-करिब समकालीन हुनुहुन्छ । त्यतिबेला म नेपाल प्रहरीमा जागिरे थिएँ । बाहिर-बाहिर हिँड्नुपर्ने हुँदा त्यति केन्द्रित हुन सकिएन ।
संगीतकै काम गर्दा हरिजीसँग संगत भयो । फिल्म पनि कलाकै एउटा पक्ष हो । गहिरो रूपमा भिन्नता देखिए पनि गीत-संगीत र चलचित्र आधारभूत रूपमा उही क्षेत्रका कुरा हुन् । ‘कर्मा’मा हामी व्यावसायिक रूपमा असफल भए पनि फेरि उठ्न सक्छौं भन्ने लागेको छ । अर्को कुरा, यो मेरो भित्री इच्छा पनि हो ।

बाको कथामाथि नै किन फिल्म बनाउनुभयो ?
जहाँ बाको कुरा आउँछ, त्यहाँ आमा स्वाभाविक रूपमा जोडिनुहुन्छ । जहाँ आमाको कुरा आउँछ, त्यहाँ बाको कुरा स्वतः जोडिन्छ । हामी पुरुषप्रधान समाजमा बस्छौं । आर्थिक व्यवस्थापन र परिवारको सुरक्षाको जिम्मेवारी बासँग जोडिएर आउँछ ।
आमाले माया गर्ने, मीठो खान दिने र बुवालाई सिफारिस गरिदिने मातृत्वको भावना हुन्छ । तर, जिम्मेवारी बाको हुन्छ । उहाँहरूप्रति जति सम्मान हुनुपर्ने हो, त्यति नभएको लागेर नै ‘बा’को कथा छनोट गरेका हौं ।
हजारौं नामबाट छनोट गरेर ‘बा : एक योद्वा’ राख्यौं । योद्वा भनेको हतियार लिएर मात्र लड्ने व्यक्ति होइन, मौन योद्वा पनि हुन सक्छ । बाले गर्ने संघर्षको तुलनामा आमाले गर्ने संघर्ष फरक हुन्छ । उत्तरदायित्वको भूमिकामा बाको जुन भूमिका हुन्छ, आमाको माया दिने रूपमा हुन्छ । यसकारण हामीले ‘बा : एक योद्वा’ नामकरण गरेका हौं ।
तपाईंलाई कस्ता कथामाथि लगानी गर्न मन छ ?
हामीले ‘कर्मा’बाट एक्सन फिल्मको सुरुवात गर्यौं । ‘कर्मा’ पनि सुरुमा सामाजिक कथा थियो । हामीले त्यहाँ तल्लो बाटो हुँदै अमेरिका जाने युवाहरूको कथालाई केन्द्रमा राखेर देखाउन खोजेका थियौं ।
दुर्भाग्यवश, उता डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएर अमेरिकी राजनीतिमा आए । पनामा जंगलको संघर्षलाई केन्द्रमा राख्ने भनेर विपिन कार्कीजीलाई अनुबन्धित गरेका हौं । यहाँबाट भिसा लगाएर प्राविधिकलाई लैजान सक्ने अवस्था पनि भएन । त्यसपछि कथामा आधा परिवर्तन भयो । त्यसो गर्दा कथा कमजोर भयो । म आफैं पनि कमजोर भएँ । मैले नगरौं भन्दा पनि ४० लाख रुपैयाँ फसाइसकेका थियौं ।
‘कर्मा’ पनि सामाजिक कथा हो । विपिनजीलाई एक्सन अवतारमा उतार्यौं । विपिनजीलाई सामाजिक कथा पनि सुहाउँछ । नेपालमा आमदर्शकले रुचाउने भनेको सामाजिक कथावस्तु नै रहेछ । सामाजिक कथा भयो भने त्यसलाई बढी मानिसले मन पराउँछन् भन्ने निष्कर्षमा हामी पुगेका छौं । लागत कम लाग्छ, आममानिसले मन पराउनुहुन्छ र शिक्षा पनि दिन सकिने भयो । यी कारणले सामाजिक कथा बनाउनु उपयुक्त हुने देखियो ।
अमेरिकामा नेपाली डायस्पोराका दर्शकको रुचि कस्ता फिल्ममा हुने पाउनुभयो ?
मानिसले जुन कुरा गुमाउँछ, त्यसको महत्त्व बढी हुने रहेछ । विदेशमा बस्ने हामीले आफ्ना चाडपर्व ‘मिस’ गरेका छौं । संस्कार, भाषा, समाज र छरछिमेक ‘मिस’ गरेका छौं । हामीलाई मारधाड ‘मिस’ भएको छैन । एक्सन ‘मिस’ भएको छैन । ‘मिस’ हुने भनेको पैसाका कारण दुःख पाएको कुरा होला । चाडपर्व यहाँ मनाउँदा हाम्रो मन काटिन्छ । निश्चय नै सामाजिक कथा रुचाउनुहुन्छ ।
नेपालमा जुन फिल्म चलेको छ, त्यही फिल्म बाहिर पनि चल्छ । दुई-चार वर्षयता नेपालमा चल्ने फिल्मलाई नै विदेशमा पनि प्रदर्शन गर्न थालिएको छ । आजको दिनमा तपाईं अमेरिकामा फिल्म रिलिज गर्न चाहनुहुन्छ भने उहाँहरूको जवाफ हुन्छ, ‘पहिला फिल्म चल्न दिऊँ, बरु चार पैसा बढी तिरौंला, त्यसपछि ल्याउँला ।’
प्रतिक्रिया 4