+
+
Shares

अर्थतन्त्र सुस्ताउँदा पनि चीनको प्राथमिकतामा एआईमा लगानी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनले कमजोर घरेलु माग, घरजग्गा संकट र उच्च युवा बेरोजगारीबीच एआई र पूर्वाधारमा ठूलो लगानी अघि बढाइरहेको छ।
  • अगस्टमा चीनको १६ देखि २४ वर्ष उमेर समूहका विद्यार्थीबाहेक युवाको सहरी बेरोजगारी दर १८.९ प्रतिशत पुगेको राष्ट्रिय तथ्यांक ब्युरोले जनाएको छ।
  • चिनियाँ अर्थशास्त्रीहरूले तत्काल रोजगारी, आम्दानी र उपभोग बढाउने नीतिमा जोड दिनुपर्ने भन्दै एआईमा सरकारी स्रोत बढाउँदा अन्य क्षेत्रका लगानी सीमित हुन सक्ने चेतावनी दिएका छन्।

६ असोज, काठमाडौं । चीनको घरेलु अर्थतन्त्रमा माग कमजोर देखिइरहेका बेला सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र त्यसका लागि आवश्यक पूर्वाधारमा ठूलो लगानी अघि बढाइरहेको छ। चीनको अर्थतन्त्रमा घरजग्गा क्षेत्रको कमजोरी, निजी लगानीमा गिरावट र उपभोक्ता माग सुस्त देखिएको छ। त्यसमाथि युवाको बेरोजगारी पनि उच्च छ।

अगस्टमा १६ देखि २४ वर्ष उमेर समूहका, विद्यार्थीबाहेकका युवाको सहरी बेरोजगारी दर १८.९ प्रतिशत पुगेको राष्ट्रिय तथ्यांक ब्युरोले जनाएको छ। यो जुलाईको १७.९ प्रतिशतभन्दा बढी हो।

यस्तो अवस्थामा चिनियाँ अर्थशास्त्रीहरूको एउटा समूहले अर्थतन्त्रको तत्कालीन समस्या समाधानका लागि उपभोक्ता माग, रोजगारी र आम्दानी बढाउनेतर्फ बढी ध्यान दिनुपर्ने बताइरहेको छ। उनीहरूको चिन्ता के छ भने राज्यले नयाँ प्रविधिमा ठूलो स्रोत लगानी गर्दा तत्काल रोजगारी र उपभोग बढाउने क्षेत्रमा जाने स्रोत सीमित हुन सक्छ।

घरेलु बजारमा माग कमजोर

सन् २०२६ को पहिलो ६ महिनामा चीनको घरेलु यात्रुवाहक कार बिक्री २०.४ प्रतिशतले घटेर करिब ८८ लाखमा झरेको थियो। जुन महिनामा मात्रै बिक्री २३.४ प्रतिशतले घटेको थियो। यसको विपरीत, यही अवधिमा चिनियाँ कारको निर्यात ७०.६ प्रतिशतले बढेको थियो।

घरजग्गा बजार पनि दबाबमा छ। पहिलो ६ महिनामा चीनका शीर्ष १०० घरजग्गा विकासकर्ताको बिक्री १३.६ प्रतिशतले घटेको थियो। चीनको समग्र रियल इस्टेट बजारमा भने केही प्रमुख सहरमा सुधारका संकेत देखिए पनि समग्र बजार अझै कमजोर रहेको चाइना इन्डेक्स एकेडेमीको तथ्यांकले देखाएको छ।

चीनको राष्ट्रिय तथ्यांकअनुसार जनवरीदेखि अगस्टसम्म नयाँ व्यावसायिक घरको बिक्री क्षेत्रफल १२.१ प्रतिशत र बिक्री रकम १३ प्रतिशतले घटेको थियो। सोही अवधिमा घरजग्गा विकासमा लगानी १९.९ प्रतिशतले घटेको थियो।

अर्थशास्त्रीको जोड : उपभोग बढाऊ

चिनियाँ अर्थशास्त्री लिउ सिजिनले लामो समयदेखि अर्थतन्त्रलाई लगानीमा मात्रै निर्भर नराखी घरेलु उपभोग बढाउनुपर्ने बताउँदै आएका छन्। उनले ग्रामीण तथा गैर-रोजगारप्राप्त सहरी बासिन्दाको आधारभूत पेन्सन बढाएर मानिसको खर्च गर्ने क्षमता बढाउनुपर्ने प्रस्ताव गरेका छन्।

एउटा प्रस्तावमा उनले मासिक औसत पेन्सन करिब २२० युआनबाट ४०० युआनभन्दा माथि पुर्‍याउन ५०० अर्ब युआन बराबरको सरकारी स्रोत परिचालन गर्न सकिने बताएका थिए।
लिउले पछि सार्वजनिक क्षेत्रको पुँजी सामाजिक सुरक्षा कोषमा सार्ने, आर्थिक प्रोत्साहनको ठूलो हिस्सा उपभोग बढाउन प्रयोग गर्ने र घरपरिवारको आम्दानी बढाउने उपायसमेत सुझाएका छन्।
अर्थशास्त्री ली दाओकुईले पनि जुलाईमा चिनियाँ अर्थतन्त्र लामो समयदेखि अपेक्षाभन्दा कमजोर रहेको बताएका थिए। उनले रोजगारी र जनजीविकासँग जोडिएका क्षेत्रमा सरकारी खर्च बढाउन, स्थानीय सरकारको ऋण व्यवस्थापन गर्न र उपभोग बढाउन थप वित्तीय उपाय आवश्यक रहेको बताएका थिए।

एआईमा भने लगानी बढ्दै

घरेलु माग कमजोर भए पनि चीनले एआईलाई भविष्यको आर्थिक तथा रणनीतिक प्रतिस्पर्धाको प्रमुख क्षेत्र मानेर लगानी बढाइरहेको छ। चीनको राष्ट्रिय तथ्यांकअनुसार सन् २०२६ को पहिलो छमाहीमा एआईबाट प्रभावित सूचना सेवासँग सम्बन्धित लगानी तीव्र रूपमा बढेको छ। न्यूयोर्क टाइम्सले राष्ट्रिय तथ्यांक ब्युरोको तथ्यांक उद्धृत गर्दै सूचना सेवामा लगानी १९.२ प्रतिशतले बढेको जनाएको छ।
स्ट्यानफोर्डको २०२६ एआई इन्डेक्सका अनुसार चीनका एआई कम्पनीमा सरकारी मार्गदर्शन कोषमार्फत सन् २००० देखि २०२३ सम्म अनुमानित १८४ अर्ब अमेरिकी डलर लगानी भएको छ।
यसका अतिरिक्त चीनले एआई चलाउन आवश्यक डेटा सेन्टरको पूर्वाधारमा पनि ठूलो लगानीको तयारी गरिरहेको छ।

ब्लुमबर्गका अनुसार चीनले आगामी पाँच वर्षमा देशभर डेटा सेन्टर निर्माणका लागि करिब २ ट्रिलियन युआन अर्थात् २९५ अर्ब अमेरिकी डलर खर्च गर्ने योजना बनाइरहेको छ। यो योजना अझै तयारीको चरणमा रहेको र सरकारी निकायहरूले यसको खाका बनाइरहेको रिपोर्टमा उल्लेख छ।

प्रश्न : एआई कि उपभोग ?

यहीँबाट चीनको आर्थिक नीतिमाथि बहस सुरु भएको छ। स्ट्यानफोर्डका अर्थशास्त्री सु चेङगाङका अनुसार चीनले एआईमा राज्यको स्रोत परिचालन गर्दा रोजगारी र उपभोग बढाउने क्षेत्रमा खर्च गर्न सकिने स्रोत घट्न सक्छ। उनका अनुसार एआई कम्पनीलाई सरकारी सहयोग मात्र पर्याप्त हुँदैन, उनीहरूले उत्पादन र सेवा किन्न सक्ने उपभोक्ता तथा व्यवसाय पनि आवश्यक हुन्छ।

चीनको केन्द्रीय बैंकको मौद्रिक नीति समितिका सदस्य ह्वाङ यीपिङले पनि एआई विस्तारले चीनको ‘आपूर्ति बलियो, माग कमजोर’ रहेको आर्थिक असन्तुलन थप गहिरो बनाउन सक्ने चेतावनी दिएका छन्। उनले घरेलु आम्दानी बढाउने, उपभोग विस्तार गर्ने र स्थानीय सरकार, वित्तीय संस्था तथा कम्पनीहरूको वित्तीय अवस्था सुधार्ने नीतिमा जोड दिएका छन्।

त्यसो त, एआईले उत्पादनशीलता बढाउने, उद्योगलाई आधुनिक बनाउने र भविष्यको आर्थिक वृद्धि अघि बढाउने सम्भावना पनि छ। तर त्यस्ता लाभ तत्काल नआउन सक्ने भएकाले अहिलेको कमजोर घरेलु माग र रोजगारीको समस्या कसरी सम्बोधन गर्ने भन्ने प्रश्न अर्थशास्त्रीहरूले उठाइरहेका छन्।

किन हुँदैछ सोभियत संघसँग तुलना ?

चीनको वर्तमान आर्थिक अवस्थालाई बेइजिङका समाजशास्त्री सुन लिपिङले तत्कालीन सोभियत संघसँग तुलना गरेका छन्। उनको तर्कलाई न्यूयोर्क टाइम्सले उद्धृत गर्दै जनाएअनुसार, सोभियत संघ आफ्नो उत्कर्षमा अमेरिकी अर्थतन्त्रको करिब ७० प्रतिशत आकारमा पुगेको थियो र विज्ञान तथा प्रविधिका केही क्षेत्रमा अमेरिकाभन्दा अगाडि पनि थियो। तर अन्ततः अर्थतन्त्रको संरचनागत कमजोरीले त्यसलाई संकटतर्फ धकेल्यो।

सुनको मुख्य प्रश्न भने अहिलेको चीनतर्फ लक्षित छ- चीनले अत्याधुनिक वस्तु उत्पादन गर्न सक्छ, तर ती वस्तु किन्ने क्षमता नागरिकसँग छैन भने उत्पादन, नाफा, आम्दानी र रोजगारीबीचको चक्र कसरी चल्छ ?
‘एआई ग्रेट लिप फरवार्ड’ किन ?

चीनमा एआईमा भइरहेको तीव्र लगानीलाई केही इन्टरनेट प्रयोगकर्ताले ‘एआई ग्रेट लिप फरवार्ड’ भन्न थालेका छन्। यो नाम माओ त्सेतुङको सन् १९५८ मा सुरु भएको ‘ग्रेट लिप फरवार्ड’ अभियानसँग जोडिएको हो।

त्यो अभियान तीव्र औद्योगिकीकरण र कृषि उत्पादन बढाउने उद्देश्यले सुरु गरिएको थियो। तर अभियानका क्रममा ठूलो आर्थिक तथा मानवीय संकट उत्पन्न भयो र चीनले गम्भीर अनिकाल सामना गर्नुपरेको थियो।

चीनका लागि एआईमा अगाडि बढ्नु रणनीतिक रूपमा महत्वपूर्ण छ। तर कमजोर घरेलु माग, घरजग्गा संकट र उच्च युवा बेरोजगारीका बीच ठूलो सरकारी स्रोत एआईमा परिचालन गर्दा त्यसको तत्कालीन आर्थिक प्रभाव कस्तो हुन्छ भन्ने बहस भने जारी छ।

चीनको चुनौती अब एआईमा कति अगाडि बढ्ने मात्र होइन, त्यसबाट सिर्जना हुने आर्थिक लाभलाई रोजगारी, आम्दानी र घरेलु उपभोगमा कसरी रूपान्तरण गर्ने भन्ने पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?