News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा आमाछोदिङमो गाउँपालिका–५ टेताङ्छेमा १० भदौको भोटेकोशी बाढीपछि सडक सम्पर्क टुट्दा खाद्यन्न, कापी-कलम र अन्य अत्यावश्यक सामान अभाव भएको छ।
- स्थानीय सेलकार तामाङले नुन, तेल, चामल सकिएको र सिस्नु तथा आलु खाएर बाँचेको बताएका छन्।
- गाउँपालिका अध्यक्ष बुचुङ तामाङका अनुसार सडक र पुल अवरुद्ध हुँदा ५ वडाका १ हजार ७०१ घरधुरीका करिब ५ हजार मानिस प्रभावित भएका छन्।
६ असोज, काठमाडौं । रसुवा आमाछोदिङमो गाउँपालिका–५ टेताङ्छेका सेलकार तामाङको ७ जनाको परिवार छ । १० भदौको भोटेकोशी बाढीले सडक सम्पर्क टुटेपछि टेताङ्छेमा खाद्यान्न पुगेको छैन । अहिले सेलकारको चुल्हो बल्न छाडेको छ ।
‘नुन, तेल, चामल सकियो,’ उनले भने, ‘सिस्नु र आलु खाएर बाँचेका छौँ ।’
यो समस्या उनले मात्र होइन, पूरै गाउँले भोग्नु परेको छ । ‘१०–१२ जनाको परिवार हुन्छ । पैसा भएर पनि किन्न पाइने अवस्था छैन । चुल्हो बाल्न गाह्रो भएको छ,’ उनले भने । बाढीपछि सरकारले एक बोरा चामल राहतस्वरूप उपलब्ध गराएको थियो । ‘यतिका समयमासम्म १ बोरा चामल सकियो,’ सेलकारले भने, ‘दुःखमा छौँ ।’
टेताङ्छेभन्दा माथि गाउँ छैन । यो नेपालतर्फको अन्तिम बस्ती हो । त्यो गाउँभन्दा माथि तिब्बत पर्छ । विकट यो बस्तीमा स्याफ्रुबेसी र हाकुबेसीबाट खाद्यान्न लैजाने गरिएको थियो । १० गतेको बाढीले स्याफ्रुबेसी नै बगाएको छ ।
‘बस्ती छैन । सडक छैन । पुल छैन । स्याफ्रुबाट खाद्यान्न ल्याउने अवस्था छैन,’ स्थानीय मिङमार तामाङले भने, ‘सडक र पुल नभएका कारण आमाछोदिङमो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।’
टिमुरे लगायतका क्षेत्रमा काम गर्ने टेताङ्छेका १९ जना जति बाढीमा परेका छन् । घेवा गर्ने सामानसमेत स्थानीयले किन्न पाएका छैनन् ।

‘४९ दिनमा घेवा गर्नु पर्नेछ । तर सामान छैन । ४ हप्ताको सानो घेवा चलिरहेको छ । कहाँबाट सामान जुटाउने भनेर समस्यामा परेका छौँ,’ मिङ्मारले भने, ‘पहिले अन्न बाली हुन्थ्यो । हाइड्रोपावरका कारण अहिले हुँदैन । अन्न छैन । सबै बजारको भरमा बाँच्ने हो ।’
त्यहाँका स्थानीय कोही टिमुरे नाकामा त कोही हाइड्रोपावरमा कार्यरत थिए । तर बाढीमा परेकाहरू सम्पर्कमा आएका छैनन् । ‘दोहोरो पीडामा छौँ । एकातिर आफन्त बाढीमा पर्नुभयो । अर्कोतिर यहाँ केही छैन,’ उनले भने ।
सडक र पुल टुटेका कारण आमाछोदिङमो गाउँपालिकाको ५ वटा वडा प्रभावित भएको छ । ‘सडक नभएकाले सामान लैजान सकिने अवस्था छैन । १७०१ घरधुरीमा ५ हजारको संख्यामा प्रभावित भएका छन्,’ गाउँपालिका अध्यक्ष बुचुङ तामाङले भने ।
पालिकाका कतिपय क्षेत्रमा बन्दाकोभी उत्पादन भएको छ । पहिले बन्दा बेचेर खाद्यान्न ल्याउने गरिएको थियो । ‘तर अहिले बन्दा बिक्री गर्ने बजार छैन । स्थानीय उत्पादनले वर्षभरि खान पुग्दैन,’ पालिका अध्यक्ष तामाङले भने, ‘संघ सरकारले प्राथमिकताका साथ हेर्नुपर्ने भएको छ ।’
एक घरलाई एक बोरा चामल र तेल दिएको तर त्यसले धेरै दिन नधान्ने अध्यक्ष तामाङ बताउँछन् ।
यो गाउँपालिकामा किसानले उत्पादन गरेको बन्दाकोभी बजार नभएर बिग्रने अवस्थामा पुगेको छ । गत वर्षमा गाउँपालिकाका किसानले ३ करोड बराबरको बन्दा बिक्री गरेका थिए ।
‘अहिले बजारमा लैजाने बेला बाढीले सडक नै अवरुद्ध भयो । यस वर्ष ६ करोड बराबरको बन्दा कारोबार गर्ने अपेक्षा थियो,’ उनले भने, ‘बजारमा लैजाने अवस्था नभएपछि किसान मारमा पर्ने भए ।’
किसानले बन्दा बेचेर खाद्यान्नको जोहो गर्ने गरेका थिए । वडा नम्बर ५ का वडाध्यक्ष दावा गोम्बो तामाङका अनुसार सडक सञ्जाल नभएकाले खाद्यान्न हेलिकप्टरबाट ल्याउनुपर्ने अवस्था छ । ‘स्याफ्रुबेसी खुलेको छैन । यहाँ खाद्यान्न हेलीबाट ल्याउनुको अर्को विकल्प छैन,’ उनले भने, ‘सडक र पुल छिटो बन्यो भने सहज हुने थियो ।’
बाढीमा आमाछोदिङमो गाउँपालिकाका १९८ जना परेका छन् । कामको सिलसिलामा टिमुरे, स्याफ्रु लगायतका क्षेत्रमा रहेका नागरिक बाढीमा परेको अध्यक्ष तामाङले बताए । ‘सबैभन्दा धेरै १ नम्बर वडाका परेका छन्,’ उनले भने ।
आमाछोदिङमो गाउँपालिका–५ को चिलिमेमा श्री सरस्वती आधारभूत विद्यालय छ । स्थानीयका अनुसार पसलमा सामान सकिएकाले विद्यार्थीले कापी-कलमसमेत किन्न पाएका छैनन् । ‘पठनपाठन भएको छ तर कापी-कलम छैन,’ स्थानीय मिङमार तामाङले भने ।
उक्त विद्यालयका शिक्षक पासाङ तामाङका अनुसार ८ कक्षासम्म ५० जना विद्यार्थी छन् । ‘विद्यालयमा होस्टेल छ । बाढीका कारण खाद्यान्न आएको छैन । स्टेसनरीको पनि अभाव भएको छ,’ उनले भनिन् । स्थानीयवासीले तत्कालका लागि राहत र छिटो सडक–पुल बनाउन माग गरेका छन् ।
प्रतिक्रिया 4