News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम स्वीकृति बिना कुवेत उडेका एक नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान अनुमति दिएको घटनामा अध्यागमन अधिकृतमाथि छानबिन अघि बढाइएको छ।
- विभागको पोर्ट प्रणाली र सीसीटीभी फुटेजमा ती यात्रु बिहान साढे ६ बजेतिर अध्यागमन प्रवेश गरी करिब आधा घण्टा डेस्कमा बसेको देखिएको छ।
- अनुसन्धानमा ती यात्रुको श्रम भिसा नदेखिएको र जापानमा रहेका एक व्यक्तिसँग रकमसम्बन्धी कारोबार गरेको पाइएको छ।
६ असोज, काठमाडौं। श्रम स्वीकृति नवीकरण बिना नै एक नेपाली कुवेत उडेको पाइएको छ। हिजो सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक व्यक्ति श्रम स्वीकृति नवीकरण नभइकनै कुवेत उडेको पाइएपछि अहिले छानबिन अघि बढाइएको छ।
छानबिनका लागि विमानस्थलमा कार्यरत एक अध्यागमन अधिकृत अध्यागमन विभाग तानिएका छन्। विभागको नेपाली पोर्ट प्रणाली तथा सीसीटीभी फुटेजमा देखिएअनुसार ती यात्रु बिहान साढे ६ बजेतिर अध्यागमन प्रवेश गरेका थिए। अध्यागमन डेस्कमा करिब आधा घण्टा उनले बिताएको देखिन्छ। त्यतिबेला अर्को व्यक्तिसँग कुराकानी गरेको समेत देखिएको छ।
त्यसपछि ती व्यक्तिलाई करिब ७ः१० बजे प्रस्थान अनुमति दिइन्छ। संकास्पद गतिविधि देखिएपछि अनुसन्धान गर्दा ती व्यक्तिको श्रम भिसा समेत आएको देखिँदैन। श्रम स्वीकृतको प्रक्रिया अघि बढाए पनि प्राप्त भने भएको दैखिँदैन।
अनुसन्धानका क्रममा ती यात्रुले जापानमा रहेका एक व्यक्तिसँग रकमसम्बन्धी कारोबार गरेको समेत पाइएको छ। यो घटनामा एक अध्यागमन अधिकृतको भूमिका संकास्पद देखिएपछि उनी छानबिनमा तानिएका छन्। ती व्यक्तिमाथि थप अनुसन्धान गर्न भन्दै अख्तियारलाई पत्राचार गरिएको छ।
घटना के हो ?
सोमबार (हिजो) बिहान घर विदामा आएर कुवेत जानका लागि एक युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। बोर्डिङ पाससमेत लिइसकेका उनलाई श्रम स्वीकृति नवीकरण नभएको भन्दै अध्यागमन अधिकारीले रोके।
श्रम स्वीकृति नवीकरण गर्नुपर्ने जानकारी नभएका ती युवा विमानस्थल पुगेपछि समस्या परे। त्यतिबेला उनको उडान छुट्न करिब एक घण्टा मात्रै बाँकी थियो। तत्काल श्रम स्वीकृति नवीकरणका लागि वैदेशिक रोजगार विभागको प्रणाली समेत नचलेपछि उनी थप समस्यामा परे।
बिहान ७ः४५ बजेको उडान मार्फत उनी कुवेत जाने तयारीमा थिए। तर, ७ बजे विमानस्थलमा रोकिएपछि उनले श्रम स्वीकृति नवीकरणका लागि अनलाइन मार्फत एप्लाई गर्न खोजे। तर, अनलाइन सिस्टम नचलेपछि उनी समस्यामा परे।
त्यसपछि अध्यागमकै एक कर्मचारी आएर उनको नम्बर डायरीमा टिपे। र एक छिन बस्दै गर्नुहोस् भने। त्यसको केही समयपछि जापानको नम्बरबाट उनलाई ह्वाट्सएपमा फोन आयो। र ‘समस्या समाधान गरिदिने’ भन्दै २८ हजार रुपैयाँ मागियो।
‘दीपक मल्ल’ नाम गरेका व्यक्तिले ह्वाट्स एपमार्फत सम्पर्क गरी २८ हजार रूपैयाँ दिन र त्यसपछि जान पाउने बताए। ति युवाले आफुसँग त्यत्रो पैसा नभएको र अहिले आफुसँग २३ हजार मात्रै भएको बताए।
मल्लले अहिले २३ हजार पठाईदिनु र बाँकी पैसा कुवेत पुग्नुअघि नेपालमा रहेका आफन्तबाट पठाउन लगाउन भने। र त्यसका लागि आफ्नै नाममा रहेको एनआईसी एसिया बैंकको क्यूआर कोड पठाए। क्यूआरमार्फत २३ हजार हालिदिएपछि उनको अध्यागमनबाट इन्ट्री पास भयो।
सम्बन्धित व्यक्तिले ह्वाट्स एपमा पठाएको अडियोमा भनिएको भनियो, ‘अहिले २३ हजार जति हालिदिनू, ५ हजार जति कुवेत पुग्नुभन्दा पहिला कसैलाई भनेर नेपालबाटै हाल्न लगाइदिनू न, त्यसपछि इन्ट्री जानू।’
रकम पठाइएको प्रमाणमा ‘दीपक मल्ल’ को नाममा रहेको एनआईसी एसिया बैंकको क्युआर कोडमा २३ हजार रुपैयाँ पठाइएको देखिन्छ। बाँकी ५ हजार रुपैयाँका लागि समेत ती श्रमिकका आफन्तलाई ह्वाट्स एपमार्फत पटक–पटक सम्पर्क गरिएको थियो।
समस्या समाधानका लागि आफन्तले सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्दा श्रम स्वीकृति नवीकरण गरेर पुनः अध्यागमन पार गर्ने वा उडान छुटेमा महँगो मूल्यमा अर्को टिकट काटेर कुवेत जानुपर्ने विकल्प रहेको बताइएको थियो।
घटना बाहिरिएपछि मल्लले १४ हजार रुपैयाँ सम्बन्धित युवालाई फिर्ता गरेका छन्। बाँकी ९ हजार रुपैयाँ श्रमस्वीकृति नवीकरण गरेको भनेर आफैँले राखेको पीडितले बताए।
प्रतिक्रिया 4