७ असोज, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुर जिल्लालाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउने आफ्नो पहिलो अभियान रहेको बताएका छन् ।
भक्तपुरको बागमती क्लबले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘भक्तपुरवासीलाई कुनै पनि रोगको उपचार गर्न काठमाडौं वा धुलिखेल जानु नपरोस् भनेर लागेको छु,’ मुख्यमन्त्री थापामगरले भने, ‘यसका लागि भक्तपुर, ख्वप, सूर्यविनायक नगर, नेपाल कोरियामैत्री नगर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, क्षयरोग अस्पताल, निजी अस्पताललगायत भक्तपुरमा सञ्चालित सबै सरकारी तथा निजी अस्पतालसँग दुई तीन महिनामै समन्वय गरेर प्रत्येक अस्पतालमा एक–एक वटा विशेषज्ञ सेवा सञ्चालन गरिनेछ ।’
उनले भक्तपुरमा सबै तहको पढाइ हुन्छ भन्ने बोध गराउनु आफ्नो दायित्व रहेको बताए । उनले भने, ‘भक्तपुरमा टुरिस्ट गाइड तालिम दिएर राजेगारी वृद्धि गर्ने, भक्तपुर, चाँगुनारायण, नगरकोट, रानीकोट, सूर्यविनायक, मध्यपुर थिमि सबै क्षेत्रमा पर्यटनको विकास गर्दै पर्यटकको हव बनाउन म लागिरहेको छु ।’
प्रतिक्रिया 4