+
+
Shares

सशस्त्रका एसपीलाई भन्सार अधिकृतले हप्काएपछि…

भन्सार अधिकृत भट्टले गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन निर्देशन दिन्छन् । गाडी नछाडिएमा गृहमन्त्री, आईजीपी र भन्सार चिफलाई फोन गरिदिने धम्कीसमेत भट्टले एसपीलाई दिएको सुनिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरीका एसपी खुमबहादुर केसी र भन्सार अधिकृत चक्रदेव भट्टबीचको फोन संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
  • संवाद अत्तरियामा २६ लाख बराबरको सामानसहित नियन्त्रणमा लिइएको भारतीय गाडीबारे भएको खुलेको छ।
  • भट्टले व्यवसायीलाई अनावश्यक दु:ख नदिन आग्रह गर्दै गाडी छाड्न वा भन्सारमा पठाउन भनेका छन्।

७ असोज, धनगढी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसी र भन्सार अधिकृत चक्रदेव भट्टबीच भएको फोन संवादको अडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एसपी केसीलाई फोन गर्ने अधिकृत भट्ट कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा कार्यरत रहेको खुलेको छ । भट्टले केसीलाई गड्डाचौकीबाट भन्सार पास भइसकेको गाडी कैलालीमा किन नियन्त्रणमा लिएको ? भन्दै प्रश्न गरेको अडियोमा सुनिन्छ ।

उनी यत्तिमै रोकिँदैनन् । त्यो गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा पठाउन निर्देशन दिन्छन् । गाडी नछाडिएमा गृहमन्त्री, आईजीपी र भन्सार चिफलाई फोन गरिदिने चेतावनीसमेत भट्टले संवादका क्रममा एसपीलाई दिएका छन् ।

एसपी केसीले पनि बरामद गरिएको भारतीय गाडी थप कारबाहीका लागि भन्सार कार्यालय नै बुझाउने बताउँछन् । तर सार्वजनिक अडियोमा दुई जनाबीचको संवाद कुन गाडीबारेको हो भन्ने यकिन भएको छैन ।

दुई जनाबीचको फोन संवाद भने अत्तरियाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले हालै गाडीका टायर, ट्युब लगायतका सामानसहित भारतीय गाडी नियन्त्रणमा लिएको प्रसंगको भएको खुलेको छ ।

अत्तरियामा यूपी३१सिटी१३०३ नम्बरको भारतीय गाडी अवैध भनिएको २६ लाख बराबरको सामानसहित संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । त्यो गाडी गड्डाचौकी भन्सार कार्यालयबाट पास भएर आएको थियो । सशस्त्र प्रहरीले उक्त सामान कम मूूल्यांकन गरी भन्सारबाट सेटिङमा पास गरेको भन्ने विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको थियो ।

गाडी नियन्त्रणमा लिएपछि नै भन्सार अधिकृत भट्टले एसपी केसीलाई फोन गरी हप्काएका थिए । नियन्त्रणमा लिइएको गाडी सुरक्षाकर्मीले कैलाली भन्सार कार्यालयमा बुझाएको थियो । कैलाली भन्सारले अन्डर बिलिङ नदेखिएको भन्दै गड्डाचौकी पठाएको थियो । गड्डाचौकीले सम्बन्धित व्यक्तिलाई नै सामान फर्काएको पाइएको छ ।

भन्सार अधिकृत भट्टले भने सशस्त्र प्रहरीले व्यवसायीलाई अनावश्यक दु:ख दिन थालेको आरोप लगाएका छन् । भन्सारबाट पास भइसकेको सामान नियन्त्रणमा लिएर बहादुरी नदेखाउनसमेत सुरक्षा निकायलाई उनले चेतावनी दिएका छन् ।

भन्सार तिरेर पास भएको गाडी सशस्त्रले नियन्त्रणमा लिएपछि व्यवसायीलाई दु:ख नदिन आग्रह गर्दै एसपीलाई फोन गरिएको भट्टले बताएका छन् । तर बोल्ने क्रममा शैली केही रुखो भएको भने स्वीकार गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका एसपी केसीले भने बरामद गरिएको गाडी भन्सार कार्यालय बुझाइसकेको बताएका छन् ।

सीमा क्षेत्रमा भन्सारका कर्मचारी र सुरक्षा अधिकारीबीच समन्वय अभावका कारण बेलाबखत यस्ता खालका समस्या आइरहने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?