News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक सौरभ चौधरीको फिल्म ‘द राइज अफ साम्राज्य’को छायांकन विराटनगरमा शुभमुहूर्तसँगै ७० दिनको तालिकामा सुरू भएको छ।
- एपिक एक्सन ड्रामाका रूपमा बन्ने फिल्मको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ।
- फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिँदैछन्।
काठमाडौं । निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । विराटनगरमा शुभमुहूर्त गर्दै छायांकन थालिएको हो ।
यो फिल्मलाई उनले यसपटक अझ ठूलो क्यानभासमा निर्माण गर्न लागेको बताएका छन् । एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने बताइएको फिल्मको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ । अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ ।
फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ प्रमुख भूमिकामा देखिँदैछन् ।
फिल्ममा सौगातले निर्वाह गर्ने चरित्र चुनौतीपूर्ण हुने जनाइएको छ । यसमा उनले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा प्रस्तुत गर्ने निर्देशकले बताएका छन् । एउटै पात्रको लामो उमेर अन्तरलाई अभिनयमार्फत देखाउनु सौगातका लागि समेत महत्वपूर्ण चुनौती बन्नेछ ।
यो फिल्म निर्देशक चौधरीको दयाहाङसँग पहिलो सहकार्य समेत हुनेछ । सुशीलसँग पनि सौरभको करिब ६ वर्षपछि पुनर्मिलन भएको छ । उनीहरूले यसअघि सौरभकै पहिलो निर्देशकीय चलचित्र ‘लभ डायरीज’मा सहकार्य गरेका थिए ।
‘द राइज अफ साम्राज्य’को पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने निर्माण पक्षको दाबी छ ।
प्रवेश चौधरी र निलादेव निर्माता रहेको फिल्ममा विश्वास बस्नेत सह-निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् ।
प्रतिक्रिया 4