+
+
Shares

दुई महिनामा साढे ३ अर्बको धानचामल आयात

भन्सार विभागको तथ्यांक अनुसार चालु आव पहिलो दुई महिना अवधिमा कुल ४५ हजार ५ सय ४३ टन धानचामल आयात भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १८:२६

७ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो दुई महिना (साउन र भदौ) मा नेपालमा करिब साढे ३ अर्ब रुपैयाँको ४५ हजार टनभन्दा बढी धानचामल आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आव पहिलो दुई महिना अवधिमा कुल ४५ हजार ५ सय ४३ टन (४ करोड ५५ लाख ४३ हजार ९ सय ५६ किलो) धानचामल आयात भएको हो ।

यसका लागि मुलुकबाट कुल ३ अर्ब ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ बाहिरिएको छ । गत आव २०८२/८३ सोही अवधिमा भने  १ लाख ६ हजार १७ टन (१० करोड ६० लाख १७ हजार २ सय ३२ किलो) धानचामल आयात भएको थियो । त्यसबेला धानचामल खरिदका लागि मात्रै ५ अर्ब ६१ करोड ३१ लाख १७ हजार खर्च भएको थियो ।

यी दुई वर्षको तथ्यांक तुलनात्मक अध्ययन गर्दा गत वर्षको दाँजोमा यस वर्ष धानचामल आयातमा परिमाण र रकम दुवै हिसाबले ठूलो कमी आएको छ ।

चालु आवको समीक्षा अवधिमा सबैभन्दा बढी अन्य चामल १९ हजार ६ सय ३९ टन आयात भएको छ, जसको मूल्य १ अर्ब ३९ करोड २८ लाख ३ हजार रुपैयाँ बराबर छ ।

त्यसैगरी बासमती चामल ८ हजार ८ सय ६८ टन भित्रिएको छ । यसका लागि १ अर्ब २१ करोड २० लाख ५ हजार खर्च भएको छ ।

कच्चा धानतर्फ १६ हजार ४ सय ९ टन आयात हुँदा ७४ करोड ६६ लाख २२ हजार रुपैयाँ विदेशिएको छ । यसबाहेक ६ सय २५ टन कनिका २ करोड ५७ लाख ४५ हजार रुपैयाँमा आयात भएको छ ।

व्यापारिक प्रयोजनका ठूला आयात बाहेक निकै कम परिमाणमा धानको बिउ र खैरो चामल पनि आयात भएका छन् । जसमा ६७ किलो धानको बिउ ५ लाख १ हजार रुपैयाँ र ७ सय ७५ किलो खैरो चामल ९९ हजार रुपैयाँमा खरिद भएको तथ्यांकमा उल्लेख छ ।

धान र चामल आयातबाट सरकारले चालु आव पहिलो दुई महिनामा कुल २७ करोड ४४ लाख ४८ हजार बराबर राजस्व संकलन गरेको छ । गत वर्ष सोही अवधिमा ४२ करोड ४ लाख ८२ हजार बराबर राजस्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?