News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ अभिनेता सुनिल पोखरेलले ६८ वर्षीय हास्यकलाकार भसिलि स्भियतलोभिडोभको भूमिकामा जीवन्त अभिनय गरेका छन्।
नाटक सकिन्छ । मञ्चका बत्तीहरू निभ्छन् । दर्शकहरू कलाकारको प्रशंसा गर्दै आआफ्नो घरतिर लाग्छन् । मञ्चमा के बाँकी रहन्छ ?
नेपाल-रुस रंग सप्ताहको अवसरमा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मञ्चन भइरहेको अन्तिम गीतले यही प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छ । यो रुसी साहित्यकार अन्तोन चेखभको चर्चित नाटक हो । महेश पौड्यालले नेपाली रूपान्तरण गरेको यो नाटकलाई शैली थिएटरका नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।
नाटकको कथा ६८ वर्षका वृद्ध हास्यकलाकार भसिलि स्भियतलोभिडोभको वरपर घुम्छ । उनी रंगमञ्चका पुराना र अनुभवी कलाकार हुन् । नाटक सकिएपछि खुसीको मातमा उनी ड्रेसिङ रुममै निदाउँछन् । उनको होस खुल्दा नाटकघर निस्पट्ट अँध्यारो, चिसो र रित्तो भइसकेको हुन्छ ।
सोही साँझ दर्शकबाट १६ पटकसम्म वान्स मोरको ताली पाएका ती कलाकारलाई घरसम्म पुर्याइदिने एउटा मान्छेसम्म हुँदैन । ४५ वर्ष रंगमञ्चमा बिताएको एउटा स्रष्टाका लागि योभन्दा ठूलो विडम्बना के हुन सक्छ ? यही अँध्यारो हलमा उनले आफ्नो विगत, वर्तमान र कलायात्राको हिसाबकिताब गर्न थाल्छन् ।

अभिनयका हिसाबले वरिष्ठ अभिनेता सुनिल पोखरेलले ६८ वर्षीय भसिलिको भूमिकामा जीवन्त प्रस्तुति दिएका छन् । एउटा वृद्ध कलाकारको निराशा, आवेग, मादकता र आन्तरिक पीडालाई उनले मञ्चमा बडो सहज ढङ्गले पोखेका छन् । आफ्नै गुरुलाई मञ्चमा निर्देशन गरेका नवराज बुढाथोकीले पोखरेलको अभिनय सामर्थ्यलाई मञ्चमा सुन्दर ढङ्गले संयोजन गरेका छन् ।
यसअघि पुस २०७६ मा पोखरेल मार्क्स फर्किएमा देखिएका थिए । अनलाइनखबरसँगको संक्षिप्त कुराकानीमा आफ्नो जीवनका कतिपय कुराहरू भसिलिसँग मिल्ने उनले बताएका थिए । जस्तो; भसिलि र पोखरेल दुवैले आफ्नो जीवनको लामो समय रंगमञ्चमा बिताएका छन् । भसिलि जसरी पोखरेल पनि नाटकका गुरु हुन् । उनीहरू दुवैले जीवनलाई हेर्ने कतिपय कुरामा समानता छ । आदि ।
तर, बस् ! यी संयोग हुन् । र, यसैले हुन सक्छ – संवादले दौडाएको अन्तिम गीत स्वभाविक देखिन्छ । विशेषत: पोखरेल नाटकको सुरुदेखि अन्तिमसम्मै देखिन्छन् । कुनै दृश्य परिवर्तन हुँदैन । उनले बस् वेदना सुनाइरहन्छन् । त्यो वेदना नै यो नाटकको मूल शक्ति हो । नाटक बुझ्न भने भसिलिलाई बुझ्नै पर्ने हुन्छ ।

भसिलि सम्भ्रान्त परिवारका सदस्य थिए । सेनामा पनि काम गरिसकेका थिए । तर, कलाप्रतिको मोहका कारण उनले आफ्नो सुखद् भविष्य र जागिर छाडेर रंगमञ्च रोजे ।
तर समाजले उनलाई के दियो ? त्यो त उनले मञ्चमा भन्ने नै छन् ।
केही नतिजाहरू –
जब उनले प्रेम गरेकी युवतीसमक्ष विवाहको प्रस्ताव राख्छन्, ती युवतीले उल्टै सर्त राख्छिन् – नाट्यकर्म छाड्नुपर्छ । अर्थात्, समाजले मञ्चमा उभिएर मनोरञ्जन गराउने कलाकारलाई हेरेर ताली त बजाउँछ, तर उसलाई आफ्नो परिवारको सदस्यका रूपमा स्वीकार्न तयार हुँदैन ।
भसिलिले महसुस गर्छन् कि उनी दर्शकका लागि फुर्सदको समय काट्ने खेलौना र निचोरिएको कागतीजस्तै फुटेको बोतल मात्र थिए ।
नाटकमा अर्का पात्र छन् – निकिता, जसको भूमिका सब्बु गुरुङले निभाएकी छन् । उनीसँग बस्ने घर नभएकाले राति ड्रेसिङ रुममै ओत लाग्न आउँछिन् । खासमा अँध्यारो हलमा भसिलि र निकिताबीच हुने संवाद नै नाटकको मुख्य प्राण हो । त्यो बाहेक नाटकमा अन्य केही हुँदैन ।
सुरुमा निराश र जीर्ण देखिएका भसिलिले आफूभित्रको कलाकार अझै नमरेको सिद्ध गर्न शेक्सपियरका किङ लियर, ह्यामलेट, ओथेलो तथा पुश्किनका संवादहरू बोल्छन् ।

अर्कोतिर, आफूभित्रको बुढेसकाललाई बिर्सेर प्रस्तुत गरिएका यी संवादहरू नै उनीभित्र बाँकी रहेको कला र प्रतिभाको अन्तिम तथा जीवन्त स्वरुप हो । जुन निकै यथार्थको नजिक देखिन्छ । बोझिला छैनन् । यसमा महेश पौड्यालको सरल रूपान्तरणले काम गरेको छ । यद्यपि पात्रहरूको नाम पनि नेपाली नै राखिएको भए अझ त्यसले स्थानीयपनको झल्को दिने थियो ।
समग्रमा, अन्तिम गीत ले सफलताको पछाडि लुकेको एक्लोपनको ऐना देखाउँछ । हरेक स्रष्टाको पीडालाई देखाउँछ । त्यसमा पोखरेलको अभिनय रहँदा यो नाटक अझ यथार्थ नजिक देखिएको छ । हलबाट निस्कँदा दर्शकको मनमा पक्कै प्रश्न रहिरहन्छ – के हामी कलाकारलाई मञ्चमा छउन्जेल मात्र माया गर्छौं अनि नाटक सकिएपछि उसलाई एक्लै छाडिदिन्छौं ?
फोटो: दा मेसेज
प्रतिक्रिया 4