+
+
Shares

नेपाली कामदारलाई तलब फिर्ता गराउने सिड्नीको कम्पनीलाई पौने दुई लाख डलर जरिबाना

अदालतको विवरणअनुसार, सुरुका १० हप्तासम्म कुनै तलब नपाएकी उनलाई पछि सञ्चालक खरेलसँग सम्बन्धित खातामा पैसा जम्मा गर्न लगाइएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १९:१९

७ असोज, सिड्नी । अस्ट्रेलियाको सिड्नीमा एक नेपाली आप्रवासी कामदारलाई आफ्नै तलब कम्पनीलाई फिर्ता गर्न लगाएर शोषण गरेको ठहर गर्दै अदालतले इनोभेटिभ एसोसिएट्स प्रालि र यसका सञ्चालकलाई कुल १ लाख ७७ हजार अस्ट्रेलियन डलर जरिवाना तिराएको छ।

अस्थायी भिसामा रहेकी ती नेपाली महिला सन् २०१९ मा उक्त लेखा तथा वित्तीय सेवा कम्पनीमा पार्टटाइम अकाउन्टिङ असिस्टेन्टका रूपमा नियुक्त भएकी थिइन्। अदालतको विवरणअनुसार, सुरुका १० हप्तासम्म कुनै तलब नपाएकी उनलाई पछि सञ्चालकसँग सम्बन्धित खातामा पैसा जम्मा गर्न लगाइएको थियो।

कामदारले जम्मा गरेको सोही रकम कम्पनीको खातामा सारेर उनकै तलब, कर र सुपरएनुएसन भुक्तानी गरेको नक्कली विवरण खडा गरिएको थियो।

सन् २०१९ अक्टोबरदेखि २०२० डिसेम्बरसम्म ती कामदारले ३२ हजार ९०७ डलर जम्मा गरे पनि उनलाई तलबका रूपमा जम्मा २७ हजार ८७४ डलर मात्र फिर्ता दिइयो। अनुसन्धानका क्रममा उनलाई सार्वजनिक बिदा, वार्षिक बिदा र अन्य हकसमेत नदिएको खुलेपछि कम्पनीले तिर्नुपर्ने कुल ४० हजार १६४ डलर भने पछि पूर्ण रूपमा फिर्ता गराइएको थियो।

श्रमसम्बन्धी नियम उल्लंघन गरेको तथा अनुसन्धान अधिकारीलाई भ्रामक कागजात बुझाएको भन्दै अदालतले कम्पनीलाई १ लाख ४८ हजार र सञ्चालकलाई व्यक्तिगत रूपमा २९ हजार डलर जरिवाना तोकेको हो।

अस्ट्रेलियाको श्रम मामिला हेर्ने निकाय फेयर वर्क अम्बड्समनका अनुसार, यो कारबाहीले विशेषगरी अस्थायी भिसामा रहेका कामदारहरूलाई आफ्नो न्यूनतम पारिश्रमिक, बिदा तथा अन्य अधिकारबारे सचेत रहन र रोजगारदाताले सञ्चालन गर्ने शंकास्पद क्यासब्याक अभ्यासविरुद्ध उजुरी गर्न महत्त्वपूर्ण सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?