News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८३/८४ का साउन र भदौमा नेपालले भारतबाट ३ अर्ब ५२ करोड ७२ लाख ३२ हजार रुपैयाँका १ लाख १६ हजार ६ सय ४१ टन आलु, प्याज र गोलभेँडा आयात गरेको छ।
- भन्सार विभागका अनुसार दुई महिनामा आलु आयातमै १ अर्ब ८५ करोड ७२ लाख १५ हजार रुपैयाँ खर्च भएको छ, र ७३ हजार ८ सय ७९ टन आलु भित्रिएको छ।
- त्यस्तै, सो अवधिमा १ अर्ब ४७ करोड ५५ लाख ३९ हजार रुपैयाँ बराबरको ३५ हजार १ सय ७४ टन प्याज र १९ करोड ४४ लाख ७८ हजार रुपैयाँ बराबरको ७ हजार ५ सय ८६ टन गोलभेँडा भारतबाट आयात भएको छ।
७ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो दुई महिना (साउन र भदौ) मा नेपालले भारतबाट साढे ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यको ताजा आलु, प्याज र गोलभेँडा आयात गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार स्वदेशी उत्पादनले बजारको दैनिक माग धान्न नसक्दा दुई महिनाकै अवधिमा १ लाख १६ हजार टनभन्दा बढी यी तरकारी आयात गर्नुपरेको देखिएको हो ।
साउन र भदौमा मात्रै कुल ३ अर्ब ५२ करोड ७२ लाख ३२ हजार रुपैयाँ बराबरको १ लाख १६ हजार ६ सय ४१ टन आलु, प्याज र गोलभेँडा नेपाल भित्रिएको छ ।
यसरी भएको ठूलो परिमाणको तरकारी आयातबाट सरकारले कुल ३१ करोड ७६ लाख ८२ हजार रुपैयाँ बराबर भन्सार राजस्व संकलन गरेको छ ।
यी तीन वटै कृषि उपज शतप्रतिशत भारतबाट मात्र आयात भएकोे छ । आयात भएका तरकारीमध्ये सबैभन्दा बढी रकम आलु खरिदमा बाहिरिएको छ । दुई महिनामा भारतबाट १ अर्ब ८५ करोड ७२ लाख १५ हजार रुपैयाँ बराबरको ७३ हजार ८ सय ७९ टन ताजा आलु आयात भएको छ । यति ठूलो परिमाणमा आलु भित्रिँदा सरकारले १६ करोड ७२ लाख ९७ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
आलुपछि सबैभन्दा धेरै रकम ताजा प्याज आयातमा खर्च भएको छ । दुई महिनाको छोटो अवधिमै नेपाली भान्साका लागि १ अर्ब ४७ करोड ५५ लाख ३९ हजार रुपैयाँ बराबरको प्याज भारतबाट भित्रिएको छ ।
परिमाणका हिसाबले ३५ हजार १ सय ७४ टनभन्दा बढी प्याज नेपाल भित्रिँदा सरकारको खातामा १३ करोड २८ लाख ४७ हजार बराबर राजस्व जम्मा भएको छ ।
यसैगरी भान्सामा दैनिक प्रयोग हुने ताजा गोलभेँडा आयातमा पनि करोडौं रकम विदेशिएको छ । साउन र भदौमा १९ करोड ४४ लाख ७८ हजार रुपैयाँ बराबरको ७ हजार ५ सय ८६ टन गोलभेँडा भारतबाट खरिद गरिएको छ । गोलभेँडाको यो आयातबाट सरकारले १ करोड ७५ लाख ३८ हजार बराबर राजस्व प्राप्त गरेको छ ।
प्रतिक्रिया 4