७ असोज, काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकमा नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक नेतृत्व र पार्टीको पछिल्लो निर्वाचन परिणामबारे प्रश्न उठाउँदै कमजोरीको सम्पूर्ण जिम्मेवारी एक व्यक्तिमाथि थोपर्न नहुने धारणा राखेकी छन्।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै झाँक्रीले पार्टीभित्र गठन गरिएको कार्यदल र त्यसले अघि सारेको निष्कर्षप्रति असहमति जनाइन्।
उनका अनुसार कार्यदल गठनले पार्टीका तल्लो तहका कार्यकर्तालाई अनावश्यक रूपमा दुई ध्रुवमा विभाजित गरेको थियो।
झाँक्रीले निर्वाचनमा पार्टीले महाधिवेशनबाट पारित गरेको राजनीतिक लाइन र साझा निष्कर्षलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताइन्।
उनले निर्वाचनका क्रममा ‘विद्यार्थीको हत्यारा केपी ओली हुन्’ र ‘अध्यक्षले जिम्मेवारी लिनुपर्छ’ भन्ने भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसले पार्टीको राजनीतिक सन्देश कमजोर बनाएको संकेत गरिन्।
उनले प्रश्न गरिन्, ‘महाधिवेशनमा अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मत पास भएको थियो। तर निर्वाचनमा जाँदा त्यो राजनीतिक स्पिरिट किन बोकिएन?’
निर्वाचनपछि छोटो समयमै ‘हारको जिम्मेवारी अध्यक्षले लिनुपर्छ’, ‘विशेष महाधिवेशन गर्नुपर्छ’ र ‘अध्यक्ष रहँदासम्म पार्टी बनाउन सकिँदैन’ भन्ने धारणा अघि सारिएको भन्दै झाँक्रीले त्यसलाई पनि पुनरावलोकन गर्नुपर्ने बताइन्।
उनका अनुसार सबै दोषको भारी अध्यक्षलाई बोकाएर नेतृत्वबाट बिदा गर्ने सन्देश पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्म गएको थियो।
झाँक्रीले पार्टीभित्रको कमजोरीलाई एक व्यक्तिको असफलताका रूपमा मात्र हेर्न नहुने बताउँदै सामूहिक समीक्षा आवश्यक रहेको धारणा राखिन्।
उनले सामाजिक सञ्जाल र डिजिटल प्रविधिले जनमत तथा निर्वाचनलाई प्रभावित पारिरहेको विषयलाई पनि पार्टीले गम्भीर रूपमा लिनुपर्ने बताइन्।
झाँक्रीले बदलिँदो प्रविधि र विश्व राजनीतिका चुनौती सामना गर्न पार्टीले ‘इन्टरनेट सोभरेन्टी’ र ‘स्पेस सोभरेन्टी’ जस्ता नयाँ विषयमा समेत रणनीति बनाउनुपर्ने बताइन्।
उनले गत भदौमा भएको घटनापछि पार्टी नेतृत्वमाथि संकट आउँदा तत्कालीन मन्त्री तथा पदाधिकारीहरू नेतृत्वसँग कति दृढतापूर्वक उभिए भन्ने प्रश्नसमेत उठाइन्।
पार्टीभित्र वर्गीय पक्षधरता र राजनीतिक विचारको अभ्यास कमजोर हुँदै गएको भन्दै उनले ‘विद्यार्थी मार्यो, यो सरकार हत्यारा हो’ भन्ने भाष्य बनेपछि त्यसको राजनीतिक प्रतिवाद गर्न पार्टी असफल भएको संकेत गरिन्।
प्रतिक्रिया 4