७ असोज, काठमाडौं । एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पार्टीभित्र अहिले पनि उठ्ने गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अब बोकेर हिँड्न नहुने धारणा राखेका छन् ।
एमाले केन्द्रीय कमिटीको जारी बैठकमा उनले यो मुद्दा असान्दर्भिक भइसकेको उल्लेख गरे । अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा पनि प्रतिनिधिसभा पुनर्स्थापनाको कुरा छ । जसलाई आज सचिव महेश बस्नेतले पनि बैठकमा उठाएका थिए । तर कार्कीको यसमा फरक मत थियो ।
‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दाभन्दा एमालेलाई जनताबीच पुनःस्थापित र सुदृढ गर्ने दिशामा अघि बढ्नु पर्छ’ उनको बैठकमा भनाई थियो ।
अबको प्रमुख राजनीतिक कार्यभार स्थानीय तहको निर्वाचनको तयारी भएको बताए। त्यसअघि पार्टी पङ्क्तिलाई व्यवस्थित, सक्रिय र एकताबद्ध बनाउनुपर्नेम उनको धारणा थियो ।
कार्कीले भदौ २३–२४ पछिको राजनीतिक परिस्थितिमा संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय हितको संरक्षणलाई एमालेले महत्वपूर्ण दायित्वका रूपमा लिनुपर्ने बताए। संविधान पक्षधर राजनीतिक शक्तिहरूसँग साझा विषयमा आवश्यकताअनुसार कार्यगत सहकार्य गर्न सकिने भए पनि सहकार्य र पार्टी एकीकरणलाई एउटै रूपमा बुझ्न नहुने उनको भनाइ थियो।‘नेकपा एमालेको आफ्नै वैचारिक, सांगठनिक र राजनीतिक पहिचानलाई अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्छ,’ कार्की भने।
कार्की पार्टीको आन्तरिक एकता, संगठनको पुनर्संरचना र जनतासँगको सम्बन्ध पुनःस्थापनालाई तत्कालको पहिलो प्राथमिकता बनाउनुपर्ने बताए। पार्टीको आत्मगत अवस्था बलियो नबनाई सडक संघर्ष वा अन्य राजनीतिक अभियान प्रभावकारी हुन नसक्ने उनको धारणा थियो। ‘पहिले पार्टीलाई व्यवस्थित र एकताबद्ध बनाऔँ, संगठनलाई जनतासँग जोडौँ, त्यसपछि स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सम्पूर्ण पार्टी परिचालन गरौँ,’ कार्कीले भने।
प्रतिक्रिया 4