+
+
Shares

संसद् पुनःस्थापनाबारे एमाले केन्द्रीय कमिटीमा छलफल हुन्छ : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सचिव महेश बस्नेतले संसद् पुनःस्थापनासम्बन्धी मुद्दा र नागरिक दबाबले प्रतिनिधिसभा ब्युँताउने वातावरण बन्दै गएको बताएका छन्।
  • बस्नेतले यस विषयलाई एमालेको आगामी केन्द्रीय कमिटी बैठकमा औपचारिक छलफलको एजेन्डा बनाइने दाबी गरेका छन्।
  • उनले पार्टीको समीक्षा तथा पुनर्गठन कार्यदल अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन बनाइएको भन्ने चर्चालाई गलत प्रचार भन्दै खण्डन गरेका छन्।

२६ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी मुद्दा र नागरिक दबाबका कारण संसद् ब्युँताएर गलत अभ्यास सच्याउनुपर्ने वातावरण बन्दै गएको बताएका छन्।

शुक्रबार पार्टीको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले यस विषयलाई एमालेले आगामी केन्द्रीय कमिटी बैठकमा औपचारिक छलफलको एजेन्डा बनाउनेसमेत उनले दाबी गरे।

‘सरकारले जुन खालको गलत हर्कत गरिरहेको छ, आम जनता त्यो जनादेश फिर्ता गर्नुपर्छ भन्ने मनोविज्ञान र मनस्थितिमा पुगेका छन्,’ बस्नेतले भने, ‘जनताको आन्दोलनको बल र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट संसद् पुनःस्थापना हुने एउटा परिवेश बन्दै छ। यसले निर्वाचनका क्रममा गरिएका गलत अभ्यासहरू सच्चिने ठाउँमा पुर्‍याउँछ। आगामी केन्द्रीय कमिटीको बैठकमा हामी यसलाई छलफलको एजेन्डा बनाउँछौँ।’

सचिव बस्नेतले वर्तमान सरकारको कार्यशैलीबाट आजित भएका नागरिकहरू आफ्नो मत फिर्ता लिने मनस्थितिमा पुगिसकेको दाबी गरेका छन्। सरकार बनेको ६ महिना नपुग्दै जनस्तरमा व्यापक निराशा छाएको उनले टिप्पणी गरे ।

अन्तर्राष्ट्रिय शक्तिहरूले सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोगमार्फत नयाँ पुस्तामा भ्रम सिर्जना गरेर वर्तमान सरकार निर्माण गराएको आरोप उनले लगाए।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान सरकारका गतिविधि हेरेपछि आम नागरिकले निर्वाचनमा गरेको निर्णय गलत भएको महसुस गर्न थालेको उनको जिकिर छ।

‘अध्यक्ष हटाउन कार्यदल बनेको होइन’

पार्टीको समीक्षा तथा पुनर्गठनका लागि गठित कार्यदल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन बनाइएको भन्ने चर्चालाई बस्नेतले ‘गलत प्रचार’ भन्दै खण्डन गरेका छन्।

कार्यदललाई निर्वाचनको निर्मम समीक्षा गर्ने, बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई अघि बढाउने र आवश्यक पुनर्गठनको खाका कोर्ने जिम्मेवारी मात्र दिइएको उनले जिकिर गरे।

आगामी दिनमा पार्टीभित्रका कमजोरी सुधार गरी जनतामा छरिएका भ्रम चिर्ने, जनतासँग निरन्तर अन्तरक्रिया गर्ने र एमालेलाई सामाजिक न्याय तथा समाजसेवाको क्षेत्रमा केन्द्रित गरेर अझ सशक्त बनाइने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?