News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले केन्द्रीय समितिको बैठकमा नेतृत्व फेरबदलभन्दा पार्टी एकता र संगठनात्मक सुधारमा केन्द्रित हुने मत बलियो देखिएको छ।
- उपमहासचिव योगेश भट्टराईले अन्तरिम नेतृत्व चयनको प्रस्ताव राख्दा सचिव महेश बस्नेतले पुरानो संसद् पुनर्स्थापनाको पक्षमा सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बताए।
- कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा असान्दर्भिक भएको भन्दै फागुन २१ को निर्वाचनपछि एमालेलाई जनताबीच पुनःस्थापित गर्नुपर्ने धारणा राखे।
७ असोज, काठमाडौं । एमालेमा पार्टी पुनर्गठन र नेतृत्व फेरबदलबारे बाहिर व्यापक चर्चा भएपनि जारी केन्द्रीय समितिको बैठकमा भने बहसको कोण बदलिएको छ ।
अध्यक्ष ओलीको विकल्पमा जाने खालको धारणा राख्दै आएका नेताहरू नै अब मिलेर जाने तथा पार्टीको संगठनात्मक शैली सुधार्ने दिशामा मत राखेपछि बहसको कोण फेरिएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले ल्याएको राजनीतिक प्रतिवेदनमा पार्टीभित्रका समस्या र कार्यशैलीका विषयमा पनि कमजोरी रहेका केही कुरा उल्लेख भएपछि उपाध्यक्षहरू विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले नै मोडरेट विचार राखेका थिए । पहिलो दिन गत सोमबार केही तितो शैलीमा ओलीले सुरू गरेको केन्द्रीय कमिटीको बैठक मंगलबार र बुधबार सम्हालिएको थियो ।
दुई दिनदेखि जारी बैठकमा नेताहरूले पार्टी सुधार अध्यक्षको शैली परिमार्जन देखि आगामी दिनमा कसरी स्थापित हुने भन्ने मिश्रित धारणा राखेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा नेताहरूले पार्टीलाई तत्काल एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। तर, पार्टीको पछिल्लो अवस्था सुधार्नुपर्ने उपायका विषयमा भने उनीहरूका प्रस्ताव फरक छन्।
कसैले जनतासँग सम्बन्ध सुधार र संगठन सुदृढीकरणलाई प्राथमिकता दिएका छन् भने कसैले विगतको नीति र कार्यशैलीमै पुनर्विचार गर्नुपर्ने बताएका छन्।

वामपन्थी एकता, नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्ने, डिजिटल संरचना बनाउने, विदेशमा रहेका नेपालीसँग सम्बन्ध विस्तार गर्ने विषय पनि बैठकमा उठेका छन्।
उपमहासचिव योगेश भट्टराईले अन्तरिम नेतृत्व चयनको प्रस्ताव राखेका छन् ।
एमाले सचिव महेश बस्नेतले पुरानो संसद् पुनर्स्थापनाको पक्षमा उभिँदै सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने प्रस्ताव गरेका छन्। ‘अदालतमा विचाराधीन पुरानो संसद् पुनर्स्थापना स्थापना गरेर सरकारका प्रतिगामी अधिनायकबादी कदम सच्चाउन पर्दछ। जसबाट एमालेको पुरानो हैसियत जोगाउने राम्रो अवसर पनि हो’ बस्नेतले भने।
बस्नेतको यो प्रस्तावको अर्का सचिवले हिक्मत कार्कीले भने विमति राखेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका कार्कीले पार्टीभित्र अहिले पनि उठ्ने गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दालाई अब बोकेर हिँड्न नहुने धारणा राखेका छन् ।

उनले यो मुद्दा असान्दर्भिक भइसकेको उल्लेख गरे । अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा पनि प्रतिनिधिसभा पुनर्स्थापनाको कुरा छ । ‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दाभन्दा एमालेलाई जनताबीच पुनःस्थापित र सुदृढ गर्ने दिशामा अघि बढ्नु पर्छ’ उनको बैठकमा भनाई थियो ।
नेता प्रदीप ज्ञवालीले पार्टीभित्र सबैभन्दा धेरै अवसर पाउने नेताहरू नै असन्तुष्ट देखिनुको कारणबारे प्रश्न उठाएका छन्। ‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? सन्देश नै प्राप्ति हो भन्ने दियौँ कि अवसर दिँदा मूल्याङ्कन भएन ?’ उनले प्रश्न गरेका छन् ।
ज्ञवालीले एमाले, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र नै असाधारण संकटमा रहेको उल्लेख गर्दै अहिले पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रको एकता आवश्यक रहेको बताए। त्यसको अगुवाइ एमालेले गर्नुपर्ने उनको भनाइ छ।

पार्टी पुनर्गठनको बहस तलसम्म पुग्दा त्यसले ध्रुवीकरण बढाएको र व्यक्ति केन्द्रित भएको उनको भनाइ छ। ‘पहिला औषधिको प्रेस्क्रिप्सन, त्यसपछि रोगको डायग्नोसिस गर्न खोजेजस्तो’ अवस्था देखिएको उनले टिप्पणी गरेका छन् ।
नेतृ रामकुमारी झाँक्रीले पार्टीको सबै दोषको भारी अध्यक्षलाई बोकाएर विदान गर्ने निष्कर्ष सही हो भन्ने प्रश्न गरिन् । उनले महाधिवेशनमा अध्यक्षको राजनीतिक प्रतिवेदन सर्वसम्मत पास भएको प्रसंग उल्लेख गर्दै निर्वाचनमा जाँदा त्यो राजनीतिक स्पिरिट किन बोकिएन ? भन्ने प्रश्न गरिन् ।
‘निर्वाचनपछि छोटो समयमै हारको जिम्मेवारी अध्यक्षले लिनुपर्छ, विशेष महाधिवेशन गर्नुपर्छ र अध्यक्ष रहँदासम्म पार्टी बनाउन सकिँदैन भन्ने धारणा अघि सारिएको भन्दै झाँक्रीले त्यसलाई पनि पुनरावलोकन गर्नुपर्ने बताइन्।
केन्द्रीय सदस्य सूर्य थापाले ‘दुई कार्यकाल र ७० वर्षे उमेरहद कुनै रामबाण उपचार नभएको उल्लेख गर्दै नेतृत्व परिवर्तनले मात्र समाधान नहुने धारणा राखे । ‘पार्टीलाई अन्त्यहीन बहसको डिबेट क्लबजस्तो बनाउनु हुँदैन। व्यक्ति मन पर्ने वा नपर्ने हुन्छ, तर महाधिवेशनको फैसला, विधि र पद्धतिको कार्यान्वयन हरेकका लागि स्वेच्छिक नभएर बाध्यकारी हुनुपर्छ’ उनले भने ।

नेता विष्णु रिजालले पार्टीको समस्या संगठनात्मक नभएको भन्दै नीति र कार्यशैलीमै पुनर्विचार गर्नुपर्ने बताएका छन् । उनले नेपाली सेनाप्रति पार्टीको दृष्टिकोणबारे पनि स्पष्टता आवश्यक रहेको बताएका छन् । भदौ २३ र २४ का घटनामा सेनाको भूमिकाबारे प्रश्नहरू रहेको भन्दै उनले यसबारे पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताए। उनले वामपन्थी एकताको प्रस्तावसमेत अघि सारे।
‘हाम्रो पार्टीले वामपन्थी एकताको निर्णय गर्नुपर्छ । हाम्रो नीति र नेतृत्वमा नेकपालगायत अरु वामपन्थी दलसँग एकता गर्दा कम्युनिस्ट आन्दोलनलाई पुनःस्थापित गर्न सहज हुन्छ’ उनले भने ।पार्टीका विभागमा कम्तीमा ५० प्रतिशत विज्ञ युवालाई समेट्ने नीति बनाउनुपर्ने रिजालको प्रस्ताव थियो।
केन्द्रीय सदस्य रविन्द्र अधिकारीले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै आन्तरिक एकता मजबुत बनाउनुपर्ने बताए ।
पार्टी एकताबद्ध भए अहिले देखिएका समस्या क्रमशः समाधान गर्दै एमालेलाई पुरानै अवस्थामा फर्काउन सकिने उनको भनाइ थियो। ‘सामूहिकता चल्नुपर्छ,’ अधिकारीले भने, ‘हामी रिभाइभ हुने पर्याप्त आधार छन्। एउटा प्रतिबद्धता गरेर जाऔँ।’
केन्द्रीय सदस्य मोहनमाया ढकालले पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुट्नुपर्ने बताइन्।
पछिल्लो निर्वाचनले पार्टीलाई ठूलो धक्का दिएको र त्यसको पराकम्प अझै साम्य नभएको उनको भनाइ थियो। ‘पार्टीप्रति जनतामा किन किन निराशा छाएको छ । त्यसको एक धक्का हामीले गत निर्वाचनमा व्योहोरियौं । त्यसको पराकम्प साम्य नहुँदै अर्को चुनावी धक्काको तयारी हुदैछ’ ढकालले भनिन्, ‘तर पार्टी भित्रको एकता,कार्यकर्ताप्रतिको सम्मान र जनताप्रतिको जवाफदेहिताले हामी यो धक्काको सामना गरेर विजय हासिल गर्न सक्छौं ।’
केन्द्रीय सदस्य एवं जनसंगठन समन्वय प्रमुख विशाल भट्टराईले नयाँ पुस्ताको निर्णायक उपस्थिति बढ्दै गए पनि त्यही क्षेत्रमा एमालेको उपस्थिति कमजोर बनेको बताए।
‘राष्ट्रिय जीवनका प्रत्येक क्षेत्रमा नयाँ पुस्ता निर्णायक रूपमा आयो, हामी त्यहाँ पातलिएका छौँ। हाम्रो उपस्थिति बाक्लो बनाउन युवा आकर्षणको कार्यक्रम अपरिहार्य छ ।’

उनले युवालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए।
केन्द्रीय सदस्य डा. भिष्म अधिकारीले विदेशमा रहेका नेपालीका मागलाई पार्टीले सम्बोधन गर्नुपर्ने बताए।
वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका कारण ठूलो संख्यामा नेपाली विदेशमा रहेको र उनीहरूको प्रभाव देशको राजनीतिमा समेत परेको उनको भनाइ थियो।
केन्द्रीय सदस्य मीनबहादुर शाहीले जनमतको निर्माण नेताहरूबीच हुने एकआपसको प्रशंसा वा तिखो आलोचनाले मात्र हुन नसक्ने भन्दै समग्र कार्यशैली सुधार्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै शाहीले आम रूपमा प्रस्तुत हुने बोलीवचन, व्यवहार र कार्यशैलीमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
उनले पार्टीभित्र भइरहेका छलफल र अन्तरसंवादले जनसरोकारका विषयलाई कति प्राथमिकतामा राखेका छन् भन्ने कुराले मात्रै अर्थ राख्ने बताए।
प्रतिक्रिया 4