News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्र अवलोकन गरी जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी दबाब सिर्जना गर्नुपर्ने बताए ।
- उनले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा जलवायु असरबारे जोडदार ढंगले उठाउनुपर्ने माग गर्दै आफ्नो पार्टीले ध्यानाकर्षण पत्र बुझाएको बताए ।
- नेपालले त्रिशूली नदी वारपार र यातायात सुचारु गर्न सरकारले एक महिना बित्दा पनि ध्यान नदिएको गुनासो गर्दै पुनःस्थापनामा सरकार, जनप्रतिनिधि र दलको भूमिका आवश्यक रहेको बताए।
७ भदौ, नुवाकोट । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले विश्वका शक्तिराष्ट्रहरूको लापरबाही र गद्धारीको कारण नेपालजस्तो निर्दोष मुलुकले पीडा भोग्नु परिरहेको टिप्प्णी गरेका छन् ।
बाढी प्रभावित तीन जिल्लाहरू रसुवा, नुवाकोट र धादिङका क्षतिग्रस्त क्षेत्रहरूको बुधवार अवलोकन र प्रभावित नागरिकहरूलाई भेट्न पुगेका नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष मारबाट बच्न नेपालजस्ता अन्य राष्ट्रहरू एकताबद्ध भई कार्बन उत्सर्जन गर्ने ठूला राष्ट्रहरूविरुद्ध विश्वव्यापी दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
भोटेकोशी बाढीले तहसनहस पारेको सन्दर्भलाई उल्लेख गर्दै नेपालले भने, ‘जलवायु परिवर्तनको प्रभावको मारमा नेपालजस्ता मुलुकहरूमा यस्ता महाविपत्तिहरू आइरहेकोले हामीलाई विश्वको ध्यान आकर्षण गर्ने यही मौका हो ।’
आफू प्रधानमन्त्री भएका बखत विश्वको सर्वोच्च स्थान सगरमाथाको कालापथ्थरमा जलवायु सम्मेलन गरी विश्व समुदायको ध्यान तानेको स्मरण गर्दै उनले प्रधानमन्त्रीले अब संयुक्त राष्ट्रसँघमा यो विषयलाई जोडदार ढंगले उठाउनुपर्ने मागसमेत गरे ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक समेत रहेका नेता नेपालले भने, ‘भोटेकोशी बाढीले पुर्याएको नोक्सानबाट शिक्षा लिँदै प्रधानमन्त्रीको अहिलेको यूएन सभामा जलवायु असरबारे कुरा उठाउन हाम्रो पार्टीले विज्ञहरूको परामर्श लिएर उहाँलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छौँ ।’
बाढी प्रभावित जिल्लाका नागरिकहरूको उद्धार, राहत र पुनस्थापनामा आफ्नो पार्टीका जनसंगठनहरूले बाढी गएकै दिनदेखि सक्रियता लिएको बताउँदै उनले पीडितहरूको बसोवासमा लागि तीन सयभन्दा धेरै घरहरू निर्माण गरिरहेको बताए ।
‘बाढीले बगाएका सुनचाँदी, पैसा र धनमालको उत्खनन गरी घरधनीहरूलाई हाम्रा युवाहरूले बुझाएका छन्’, उनले कार्यकर्ताहरूलाई अझै खटिन आग्रह गरे ।
त्रिशूली नदी वारपारमा ावतजावतदेखि अयातायात सुचारु गर्न एक महिना बितिसक्दा पनि सरकारले ध्यान नदिएकोेले नागरिकहरू प्रताडित र आतंकित हुनपुगेकोमा उनले गुनासो गरे ।
बाढीको असरले बिदुर नगरपालिका क्षेत्र सबैभन्दा धेरै पिडामा रहेको आफूले अवलोकनको क्रममा देखेको बताउँदै नेता नेपालले खासगरी तीनवटै जिल्लाको पुन:स्थापनामा सरकार, जनप्रतिनिधि र राजनीतिक दलहरूको ठूलो भूमिका आवश्यक रहेकोतर्फ जोड दिए । जनप्रतिनिधिहरूसँग आग्रह गर्दै भने, ‘वास्तविक पिडितहरूको पहिचान गरी राहत र पुन:स्थापनामा ध्यान दिनुस् ।’
प्रतिक्रिया 4