+
+
Shares

भारी वर्षाको पूर्वानुमानसँगै कर्णालीमा उच्च सतर्कता

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कडेलसँग मुख्यमन्त्री मंगलबहादुर शाहीले लिएको ब्रिफिङपछि प्रदेश सरकारले मौसमको अवस्थालाई निरन्तर निगरानी गर्ने र आवश्यकता अनुसार सम्बन्धित जिल्लामा थप सतर्कता अपनाउने तयारी गरेको जनाएको छ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज ८ गते ६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना देखिएपछि प्रदेश सरकार, जिल्ला प्रशासन र स्थानीय तहले बाढी, पहिरो, डुबान र सडक अवरोधका जोखिमबारे सतर्कता बढाएका छन्।
  • मुख्यमन्त्री मंगलबहादुर शाहीले मौसम पूर्वानुमानबारे ब्रिफिङ लिएर सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी, समन्वय र उद्धार–राहत संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
  • जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

८ असोज, सुर्खेत । कर्णाली प्रदेशमा आगामी केही दिन भारी वर्षाको सम्भावना देखिएपछि प्रदेश सरकारदेखि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसम्मले पूर्वतयारी तथा सतर्कता बढाएका छन्।

सम्भावित बाढी, पहिरो, डुबान, भूक्षय तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कडेलसँग पछिल्लो मौसम पूर्वानुमान, सम्भावित वर्षाको जोखिम र त्यसबाट पर्न सक्ने प्रभावबारे ब्रिफिङ लिएका छन्। मौसमको अवस्था र जोखिमबारे जानकारी लिएपछि प्रदेशका सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र समन्वयमा रहन आग्रह गरिएको छ।

मौसम पूर्वानुमानपछि पूर्वतयारी तीव्र

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका केही स्थानमा समेत भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले कर्णालीका जोखिमयुक्त बस्ती तथा सडक क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ।

कर्णालीका विभिन्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै नदी तथा खोला किनार, पहिरोको जोखिम भएका बस्ती र कमजोर भौगोलिक क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न तथा मौसमको अवस्था हेरेर मात्रै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।

बाढी-पहिरोको जोखिममा उच्च सतर्कता

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सडक डिभिजन कार्यालय चौरजहारीले समेत सूचना जारी गरी असोज ८ देखि १२ गतेसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै पहिरो सम्भावित क्षेत्र, खोला–नाला र कमजोर सडक खण्डमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। भारी वर्षाका बेला अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपरे मौसमसम्बन्धी सूचना अद्यावधिक गरेर मात्रै अघि बढ्न भनिएको छ।

कर्णालीका हिमाली तथा पहाडी जिल्लामा वर्षासँगै सडक तथा ग्रामीण यातायात प्रभावित हुने जोखिमसमेत उच्च रहेको छ। यसअघि नै कमजोर अवस्थामा रहेका सडक, पुल तथा पहिरोको जोखिम भएका खण्डमा थप क्षति हुनसक्ने भएकाले सम्बन्धित निकायलाई सडक खुलाउने उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।

उद्धार तथा राहतका संयन्त्र तयारी अवस्थामा

प्रदेश सरकारले स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित कार्यालयबीच समन्वय गरी विपद्को पूर्वतयारीलाई प्रभावकारी बनाउन जोड दिएको छ। सम्भावित विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।

मौसम पूर्वानुमानका आधारमा नागरिकलाई नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका भिरालो जमिन र कमजोर सडकबाट टाढा रहन आग्रह गरिएको छ। वर्षाको समयमा रातिको यात्रा नगर्न तथा स्थानीय प्रशासन र मौसमसम्बन्धी आधिकारिक सूचनालाई आधार बनाउनसमेत अनुरोध गरिएको छ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख कडेलसँग मुख्यमन्त्री शाहीले लिएको ब्रिफिङपछि प्रदेश सरकारले मौसमको अवस्थालाई निरन्तर निगरानी गर्ने र आवश्यकता अनुसार सम्बन्धित जिल्लामा थप सतर्कता अपनाउने तयारी गरेको जनाएको छ।

देशभर नै सम्भावित भारी वर्षालाई लिएर संघीय सरकारदेखि स्थानीय तहसम्म पूर्वतयारी तीव्र पारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले समेत असोज ९ देखि ११ गतेसम्मको सम्भावित भारी वर्षालाई ध्यानमा राखी सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?