News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा जर्मनीकी मन्त्री रिम अलाबाली राडोभानसँगको भेटमा बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणमा सहयोग मागे।
- खनालले जलवायु उत्थानशीलता, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानी आवश्यक भएको भन्दै जर्मन सरकारप्रति आभार व्यक्त गरे।
- राडोभानले नेपालमा पछिल्लो विपद्लाई विश्वव्यापी साझा चुनौती भन्दै जर्मनी वित्तीय तथा मानवीय सहयोग दिन प्रतिबद्ध रहेको बताइन्।
८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आज जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय ‘साइडलाइन’ भेटवार्तामा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता औँल्याएका हुन् ।
भेटवार्तामा मन्त्री खनालले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जर्मन सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे।
उनले भने, ‘नेपालले विपद्पछिको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका कार्य अघि बढाइरहेको छ । यस क्रममा जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानी अत्यावश्यक छ ।’
मन्त्री खनालले नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि पुर्याउँदै आएको महत्वपूर्ण सहयोगको प्रशंसा गर्दै जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्नु विश्व समुदायको साझा जिम्मेवारी भएकामा जोड दिएको उनको सचिवालयले जनाएको छ ।
सो अवसरमा जर्मनीकी मन्त्री राडोभानले नेपालमा पछिल्लो पटक उत्पन्न ‘विनाशकारी विपद्लाई विश्वव्यापी साझा चुनौती’का रूपमा लिनुपर्ने बताउँदै जर्मनी नेपाललाई वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
भेटवार्तामा नेपाल–जर्मनीबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान हुनुका साथै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई आगामी दिनमा थप सुदृढ र गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
प्रतिक्रिया 4