+
+
Shares

खोटाङमा सबै स्थानीय तहका शैक्षिक संस्था बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारी वर्षा, भिषण हावाहुरी र चट्याङको सम्भावना देखिएपछि खोटाङका १० वटै स्थानीय तहले असोज ८ र ९ गते शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन्।
  • दिक्तेल रूपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाले दुई दिन बिदा दिएका छन्, र अभिभावकलाई जोखिमयुक्त स्थानमा बालबालिका जान नदिन आग्रह गरेका छन्।
  • जिल्ला प्रशासन कार्यालय खोटाङले असोज ८ देखि ११ गतेसम्म भारी वर्षा हुने सम्भावना उल्लेख गर्दै उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ।

८ असोज, खोटाङ । भारी वर्षालाई मध्यनजर गर्दै खोटाङका १० वटै स्थानीय तहहरूले एकदेखि दुई दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् । भारी वर्षा, भिषण हावाहुरी र चट्याङ पर्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै स्थानीय तहले असोज ८ र ९ गते शैक्षिक संस्थामा बिदा दिएको हो । हिउँदे वा वर्षे बिदाबाट मिलान गर्नेगरी दुई स्थानीय तहले एक दिन र आठ स्थानीय तहले दुई दिन विदा दिएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले स्थानीय बिदाबाट मिलान हुने गरी बिदा दिन सूचना जारी गरेको छ । यस्तै, बालवालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका ठाउँमा जान नदिन अभिभावकलाई आग्रह गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले पनि विद्यालयलाई दुई दिन बिदा दिएको छ । हलेसी तुवाचुङले दुधकोसी र सुनकोसीको तटीय क्षेत्रमा बस्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

केपिलासगढी गाउँपालिकाले असोज ८ गते शैक्षिक संस्थामा विदा दिएको छ । मौसमको अवस्था हेरेर थप बिदाबारे निर्णय गर्ने गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ । यस्तै, साकेला गाउँपालिकाले पनि असोज ८ गते बिदा दिएको छ । अवस्था हेरेर अन्य बिदाबारे निर्णय गर्ने गाउँपालिकाले जनाएको छ ।

यस्तै, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र रावाबेसी गाउँपालिकाले दुई/दुई दिन बिदा दिने निर्णय गरेको छ ।

असोज ८ गतेदेखि ११ गतेसम्म भारी वर्षाको सम्भावना भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले पनि उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?