News Summary
Generated by OK AI. Editorially reviewed.- कपिलवस्तुको बाणगंगा जलाधार क्षेत्रका नौ स्थानमा जल सतह र मौसम मापन केन्द्र स्थापना गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।
- करिब ३५ लाख रुपैयाँ लागतका केन्द्रबाट तापक्रम, वर्षा, हावाको गति र जल सतह मापन गरेर विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइनेछ।
- वाणगंगा नगर प्रमुख चक्र अर्यालले सम्भावित बाढी र डुबानका क्षेत्रमा साइरनसहितको पूर्वसूचना प्रणाली आवश्यक रहेको बताए।
८ असोज, काठमाडौं । कपिलवस्तुको बाणगंगा जलाधार क्षेत्रका विभिन्न नौ स्थानमा जल सतह तथा मौसम मापन केन्द्र स्थापना गरिएको छ । मौसम तथा जलसम्बन्धी तथ्यांक नियमित रूपमा संकलन गरी विपद् जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यी केन्द्रहरू स्थापना गरिएको हो ।
स्थापित चार वटा मौसम मापन केन्द्रमध्ये शिवराज नगरपालिकाको मैनार, अर्घाखाँचीको सिमलपानी, बुद्धभूमि नगरपालिकाको रनगाई र यशोधरा गाउँपालिकाको बैदौलीमा केन्द्र स्थापना गरिएको छ । यी केन्द्रबाट तापक्रम, वर्षा, हावाको गति लगायत विभिन्न मौसमसम्बन्धी तथ्यांक मापन तथा संकलन गरिनेछ ।
त्यस्तै, पाँच स्थानमा जल सतह मापन केन्द्र स्थापना गरिएको छ । पावरब्रिज, गुडुङ खोला, बेलनदी पुल, रामघाट पुल र बर्गदाघाट–वाणगंगा पुलमा जल सतह मापन केन्द्र जडान गरिएको हो ।
यी केन्द्रबाट नदी तथा खोलाको जल सतह नियमित रूपमा मापन गरी सम्भावित बाढीको जोखिमबारे समयमै सूचना प्रवाह गर्न सहयोग पुग्नेछ ।
केन्द्रहरू सञ्चालनमा आएसँगै विशेषगरी वर्षायाममा हुने बाढी तथा डुबानबाट हुने जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै, बेमौसमी वर्षा, असिना, चट्याङ तथा हावाहुरीका कारण कृषि बाली, पशुचौपाया तथा मानव जीवनमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि समेत केन्द्रबाट प्राप्त मौसम तथा जलसम्बन्धी तथ्यांक उपयोगी हुने बताइएको छ ।
स्थानीय तहलाई हस्तान्तरण
करिब ३५ लाख रुपैयाँको लागतमा तयार गरिएका केन्द्रहरूको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिएका छन् । रेन (RAIN) परियोजनाको लगानीमा निर्माण गरिएका यी जल तथा मौसम मापन केन्द्रहरू मंगलबार आयोजित एक कार्यक्रमबीच सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
स्थानीय तहलाई हस्तान्तरण कार्यक्रममा मौसमविद् हिरा भट्टराईले जल तथा मौसम मापन केन्द्रबाट तथ्यांक संकलन, सूचना प्रवाह तथा पूर्वसूचना प्रणालीमार्फत विपद् जोखिम न्यूनीकरण गर्न सकिने उपायबारे जानकारी गराएका थिए ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले विपद्का कारण विभिन्न समस्या उत्पन्न हुने भएकाले सम्भावित बाढी तथा डुबानको जोखिम रहेका क्षेत्रमा साइरनसहितको पूर्वसूचना प्रणालीको व्यवस्था गर्नुपर्ने बताए । उनले स्थापित केन्द्रहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरी प्राप्त सूचनालाई समयमै समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा अन्य सरोकारवालाहरूको पनि सहभागिता थियो ।
यी जल तथा मौसम मापन केन्द्रहरूको जडान तथा सञ्चालनसम्बन्धी कार्यको ठेक्का भने इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रा. लि. ले प्राप्त गरेको थियो ।
प्रतिक्रिया 4