News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको मरिण गाउँपालिकास्थित जियान फुड्स प्रालिको मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा अध्यागमन विभागले रद्द गरेको छ।
- विभागले भिसाको उद्देश्यविपरीत काम गरेको भन्दै निष्काशन प्रक्रिया अघि बढाएको र उनीहरू बिजनेस भिसामा आएका चिनियाँ नागरिक भएको जनाएको छ।
- कम्पनीले श्रम भिसा स्वीकृतिका लागि पहल गरिए पनि नपाएको र भिसा रद्द हुँदा काम समयमै सक्न गाह्रो हुने दाबी गरेको छ।
८ असोज, काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका साहानमा निर्माणधीन मासु फ्याक्ट्रीमा काम गर्ने ८८ जना विदेशीको भिसा रद्द भयो ।
छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फुड्स प्रालि (नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्ट) मा कार्यरत ८८ विदेशीको भिसा रद्द भएको हो ।
कालिकास्थानस्थित अध्यागमन विभागले बुधबार एकै पटक एक निर्णय गर्दै ती विदेशी कामदारको भिसा रद्द गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै अब सबै कामदारलाई विदेश डिपोर्ट गर्ने प्रक्रिया अघि बढेको विभागका प्रवक्ता टीकाराम ढकालले बताएका छन् ।
ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएकाले भिसा रद्द गरिएको हो । यसका अतिरिक्त अध्यागमन ऐन, २०४९ बमोजिम जरिबाना गरी निष्काशनको प्रक्रिया अघि बढाइएको छ ।’
भिसा उद्देश्यविपरीत काम गरेको विज्ञप्तिमा उल्लेख गरिए पनि उनीहरूले कुन भिसामा आएर के काम गरेका थिए भन्नेबारे बताइएको छैन । विभागका एक अधिकारीका अनुसार अहिले भिसा रद्द गरिएकाहरू विजनेस भिसामा नेपाल आएर काम गरिरहेका चिनियाँ नागरिक हुन् ।
एकै पटक किन ८८ कामदारको भिसा रद्द गरियो भन्ने अनलाइनखबरको प्रश्नमा विभागका महानिर्देशक रामचन्द्र तिवारी भन्छन्, ‘उहाँहरू विजनेस भिसामा आउनुभयो । तर भिसाको उद्देश्यविपरीत काम गरेको देखिएकाले अध्यागमन कानुनअनुसार प्रक्रिया अघि बढाइएको हो ।’
विभाग स्रोतका अनुसार उनीहरू सबैजसो आईटी कम्पनी खोलेर विजनेस भिसामा नेपाल आएका हुन् ।
कम्पनी रजिस्ट्रार कार्यालयदेखि उद्योग विभागम्म विभिन्न नाममा आईटी कम्पनी दर्ता गरी विजनेस भिसामा नेपाल आएर निमार्णाधीन मासु फ्याक्ट्रीमा काम गरेको देखिएकाले भिसा उद्देश्यविपरीत रहेको अध्यागमनले बताएको छ । आईटी कम्पनीमा लगानीको थ्रेसहोल्ड नलाग्ने भएकाले धेरैजसो आईटी कम्पनी दर्ता गरेर नेपाल आउने गरेको अध्यागमनका अधिकारीहरू बताउँछन् ।
विजनेस भिसामा आएका उनीहरू व्यवसाय नगरी कामदारको रूपमा रहेकोले नेपाल प्रवेशकै लागि मात्रै विजनेस भिसा लिएको देखिएको अध्यागनको बुझाइ छ । ‘नेपाल प्रवेशका लागि मात्रै उनीहरूले विजनेस भिसा लिएको देखिन्छ । कागजमा कम्पनी छन् । तर कुनै व्यवसाय नगरी काम गरेको देखिन्छ,’ विभागका एक अधिकारी भन्छन् ।
कम्पनीको आफ्नै दाबी
यता, मासु फ्याक्ट्री खोल्ने कम्पनीले भने आफ्नै दाबी गरेको छ । श्रम भिसाका लागि प्रक्रिया अघि बढाउँदासमेत नपाएको र यहीबीचमा अकस्मात भिसा रद्द हुँदा स्किल म्यानपावरको कमी हुने भएकाले समयमै काम सक्न गाह्रो हुने दाबी गरेको छ ।
जियान फुड्स प्रालिले कामदार भिसा स्वीकृति गरिदिन भन्दै लेखेको पत्रसमेत अनलाइनखबरले प्राप्त गरेको छ । १ साउनमा जियान फुड्स प्रालिले कृषि, वन तथा वातावरण मन्त्रालय, कृषि विभागमा पत्र पठाउँदै कामदार भिसा स्वीकृत गरिदिन आग्रह गरेको देखिन्छ ।
‘हाम्रो कम्पनीले नेपालमा ठूलो खाद्य प्रशोधन परियोजना सञ्चालन गर्न लागेको सन्दर्भमा चीनका प्राविधिक कामदारहरूको श्रम अनुमति तथा कार्य भिसासम्बन्धी आवेदन पेस गर्न चाहन्छौं,’ कृषि विभागमा पठाएको पत्रमा उल्लेख छ ।
मरिणमा आधुनिक भैंसी वध तथा खाद्य प्रशोधन कारखाना स्थापनाको काम भइरहेको र त्यहाँ काम गरेका विदेशीहरू प्राविधिक दक्ष जनशक्ति भएकाले उनीहरूको श्रम भिसा स्वीकृत गराउन पत्रमा भनिएको छ ।
कारखानाको सम्पूर्ण उत्पादन लाइन जटिल र उच्च प्रविधि स्तरको भएकाले यसलाई सञ्चालन गर्न अनुभवी प्राविधिक विशेषज्ञहरूको आवश्यकता हुने भएकाले क्षमता भएका विदेशी कामदारलाई प्राथमिकतामा राखेर काम गरिएको दाबी चिनियाँ पक्षको छ ।
पत्रमा भनिएको छ, ‘हाम्रो कम्पनीमा ५०० जना विदेशी विशेषज्ञ टोली आवश्यक छ । यो संख्या हाम्रोमा १० हजार स्थानीय स्थायी कामदारको ५ प्रतिशतभन्दा कम भएकाले नेपाल सरकारको श्रम व्यवस्थापन नियमावलीसँग पूर्ण रूपमा मेल खान्छ । यी विदेशी विशेषज्ञहरू नेपालमा उपस्थित नभएमा सम्पूर्ण उपकरण सञ्चालनमा आउन सक्दैन ।’
आउँदो पुसबाट यो मासु फ्याक्ट्री पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी थियो । करिब ५० बिघा जमिनमा पशु बधशाला निर्माण भइरहेको छ ।
कस्तो हो मरिणको मासु फ्याक्ट्री ?
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने सम्झौता भएको थियो ।
पछि यसको लगानी स्वीकृत भएपपछि ओलीले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराउँदै लेखेका थिए, ‘उद्योग विभागबाट उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ लगानीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।’
चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका–४ सिन्धुलीमा उक्त उद्योग स्थापनाको प्रस्ताव गरेको र उद्योगले वार्षिक २ लाख टन मासु र ५५ हजार टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको उत्पादन) गर्ने लक्ष्य राखेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका थिए ।
परियोजना सञ्चालन भएपछि विभिन्न लाभ हुने बताइएको छ । जसमा भैंसी पालनतर्फ करिब १० अर्ब अमेरिकी डलर बराबरको मानकीकृत भैंसी पालन उद्योगको विकास हुने दाबी गरिएको छ । यसले १० लाख नेपाली किसानलाई प्रत्यक्ष लाभ हुने बताइएको छ ।
कारखानाले १० हजार नेपाली कामदारलाई रोजगारी दिने र प्रशोधित राँगाभैंसीको मासु चीन निर्यातपश्चात् नेपालले वार्षिक १.५ अर्ब अमेरिकी डलर विदेशी मुद्रा आर्जन गर्ने दाबी गरिएको छ ।
प्रतिक्रिया 4