News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा मल्ल के. सुन्दरले इन्द्रजात्राको मिथक, किंवदन्ती र काठमाडौंको सांस्कृतिक वैभवबारे कथा वाचन गरे।
- उनले मजिपाः लाखे, जीवित देवी कुमारी, दागिनी, पुलुकिसि र पितृपूजासहित इन्द्रजात्राका ७ मिथक प्रस्तुत गरे।
- सुन्दरका अनुसार भाद्र शुक्ल द्वादशीमा लिङ्गो ठड्याएपछि सुरु हुने इन्द्रजात्रा आठ दिन आठ रातसम्म काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा मनाइन्छ।
बिहीबार नेपाल प्रज्ञाप्रतिष्ठानको सिद्धिचरण हलमा नेपालभाषा एकेडेमीका चान्सलर तथा वरिष्ठ संस्कृतिविद् मल्ल के. सुन्दरले इन्द्रजात्राको मिथक र किंवदन्तीहरू सुनाएका थिए । प्रतिष्ठानको नयाँ कदम कथा डबलीको श्रृंखलाअन्तर्गत यो कार्यक्रम गरिएको थियो ।
सो कार्यक्रममा सुन्दरले इन्द्रजात्रासँग जोडिएका शताब्दीऔँ पुराना कथा, मिथक र किंवदन्ती, काठमाडौं शहरको उत्पत्ति अनि यसको सांस्कृतिक वैभवमाथि लिखित कथा वाचन गरेका थिए ।
उनले कथावाचनमा सुनाएअनुसार इन्द्रजात्राका ७ मिथक तल प्रस्तुत गरिएको छ ।
१.राक्षसी प्रवृत्तिबाट शान्त भैरव बनेका मजिपाः
मजिपाः लाखे इन्द्रजात्राका अग्रनायकका साथै कुमारी रथयात्राका मुख्य सुरक्षा नायक हुन् । पौराणिक मिथकअनुसार मायावी शक्ति भएका राक्षसी प्रवृत्तिका लाखे नेपालमण्डलकी एक सुन्दरी नवयुवतीको प्रेममा परेर मानिसको रूप लिई खेतबारीमा सघाउँदै बस्न थालेका थिए ।
नगरवासीले तान्त्रिक शक्तिद्वारा नियन्त्रणमा लिई राजासामु पुर्याएपछि ती लाखेले आफ्ना सम्पूर्ण दानवी र हिंसक प्रवृत्ति त्याग्ने, बलि नलिने र नेपालमण्डलको रक्षक (क्षेत्रपाल) बनेर लोकहितमा काम गर्ने प्रतिज्ञा गरे । त्यसपछि कुनै पनि पशुबलि नलिने शान्त भैरवका रूपमा ‘मजिपाः लाखे आजु’ स्थापित भए ।

यससँगै सन् १८४९ मा राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायत जाँदा हिन्द महासागरमा ठूलो समुद्री आँधी आउँदा सुब्या सिद्धिमान राजभण्डारीले मजिपाः लाखेको पुकार गर्दा घूँघरुको आवाज आई आँधी शान्त भएको ऐतिहासिक विश्वास छ । बेलायतबाट फर्केपछि जङ्गबहादुरले लाखेको मुकुण्डोमा चार वटा हीरा र सुनको चन्द्रहार चढाई विशेष राजकीय सम्मान प्रदान गरेका थिए ।
कुमारीको रथयात्रा सुरु हुनुअघि मजिपाः लाखेले अराध्यदेवी कुमारीप्रति तीन पटक छलाई मारेर स्वस्ती प्रणाम गर्छन् र थाः र भुस्याः को तालमा सडक नृत्य (लेप्याख) गर्दै रथको अगाडि बाटो पन्छाउने र सुरक्षा दिने काम गर्छन् ।
२.राष्ट्ररक्षाका लागि प्रेम त्याग गर्ने मञ्जु रानी र जीवित देवी कुमारीको रथयात्रा
जीवित देवी कुमारीको परम्परा राष्ट्रप्रेम र त्यागको गाथासँग जोडिएको छ । नेपालमण्डलकी अष्टमातृका गणकी सुपुत्री मञ्जु रानी हिमवतखण्डको रक्तचन्दन उपवनमा बिहार गर्दा दक्षिणबाट आक्रमण गर्ने असुर नायक चण्डासुरसँग प्रेममा परेकी थिइन् ।
तर जब चण्डासुरको आक्रमणबाट नेपालमण्डल असुरक्षित भयो, मञ्जु रानीले व्यक्तिगत प्रेमभन्दा मातृभूमिको रक्षालाई माथि राख्दै मोहिनी रूप धारण गरी आफ्नै प्रेमी चण्डासुरविरुद्ध युद्ध लडिन् र उनलाई परास्त गरिन् ।
देशका लागि गरेको यो बलिदान र समर्पणपछि उनले जीवनभर अविवाहित कुमारी रहने सङ्कल्प गरिन् । जसका कारण उनलाई कुमारी माताका रूपमा पुजिन थालियो । लिच्छवि कालमा राजा नरेन्द्रदेव र बज्राचार्य बन्धुदत्तको समयदेखि सुरु भएको कुमारी पूजनलाई पछि राजा प्रताप मल्लले खटमा बोक्ने र राजा जयप्रकाश मल्लले रथयात्रा गराउने राजकीय परम्परा बसालेका हुन् ।
आज पनि विजयादशमीका दिन राष्ट्राध्यक्ष स्वयं उपस्थित भई कुमारीको हातबाट टीका ग्रहण गर्ने परम्परा कायमै छ ।
३.देवराज इन्द्रलाई चोरदेव मानेर सजाय दिइने परम्परा
नेपालमण्डलवासीका लागि स्वर्गका अधिपत्ति देवराज इन्द्र चोरदेव (खँद्यः) मानिन्छन् । पौराणिक कथा अनुसार आफ्नी आमा अदितीको बसुन्धरा व्रतका लागि आवश्यक पारिजात फूल खोज्न इन्द्र नेपालमण्डल झरेका थिए ।
काठमाडौंको गणेशस्थान नजिकैको खेतबाट अनुमतिबिना पारिजात फूल टिप्दै गर्दा स्थानीय किसानले उनलाई चोर ठानी समातेर दुवै हात पछाडि फर्काई डोरीले पाता कसेर सार्वजनिक ठाउँमा बाँधेर राखेका थिए ।

इन्द्रजात्राका बेला टोलटोलमा इन्द्रलाई बाँधेर सजाय दिइएको प्रतिरूप उभ्याउने गरिन्छ । यस परम्पराले कानुन र न्यायका अगाडि राजा वा स्वर्गका देवराज जो भए पनि समान हुन्छन् भन्ने बलियो सामाजिक सन्देश दिन्छ । यही कारणले गर्दा नेपालमण्डलमा इन्द्रको कुनै छुट्टै मन्दिर वा देवस्थल बनाइएको पाइँदैन ।
४.देवमाता अदिति, दागिनी र सुरक्षात्मक बौमत जात्रा
पुत्र इन्द्र चोरीको अभियोगमा थुनामा परेपछि देवमाता अदिति मर्त्यलोकमा झरेर छोरालाई मुक्त गराउन नगरवासीसँग सम्झौता गर्न पुगिन् । नेपालमण्डलवासीले छोराको रिहाइको बदलामा मृत आत्माहरूको मोक्षका लागि स्वर्ग लैजाने र धानबालीका लागि वर्षातपछि शीतयुक्त अनुकूल मौसम मिलाइदिने शर्त राखे ।

भाद्र शुक्ल चतुर्दशीको राति काष्ठमण्डपबाट निस्कने सेतो मुकुण्डोकी दागिनी यात्रा तिनै देवमाता अदितीको रूप मानिन्छ । जसको मुकुण्डो सदैव आकाशतिर फर्किएको हुन्छ । आफ्ना दिवङ्गत आफन्तको मोक्षको कामना गर्दै मानिसहरू दागिनीको पछिपछि इन्द्रदहसम्म पुग्छन् ।
दागिनीको पछि लाग्ने भीडमा कोही नहराऊन् वा अँध्यारोमा वेवारिसे नपरून् भनेर मानन्धर समुदायका गुठीहरूले नागको आकृतिमा लहरै दियो बालेर बौमत (बीमत) यात्रा गराउँछन् ।
५.ऐरावत हात्तीको मिथक
देवलोकबाट पारिजात फूल लिन गएका देवराज इन्द्र लामो समयसम्म नफर्केपछि आमा अदितीले इन्द्रको खोजीका लागि उनका वाहन ऐरावत हात्तीलाई मर्त्यलोक पठाइन् । सेतो रङ र विशेष गुण भएको ऐरावत हात्ती नेपालमण्डल पुगेर आफ्ना स्वामी इन्द्रलाई नभेट्टाएपछि उन्मत्त बनेर नगरका गल्लीहरूमा दौडिएको थियो।

यही मिथकलाई जीवन्त राख्न काठमाडौंको किलागलका गोपाली किसान गुठीले इन्द्रजात्राको अवसरमा तानाकिसि (पुलुकिसि) जात्रा गर्दै आएका छन् । यसका साथै भक्तपुरमा पनि पुलुकिसि प्रस्तुत गरिने आफ्नै मौलिक परम्परा रहेको छ ।
६.पितृ सम्मान, पूर्वज पूजा र जाँड चढाउने परम्परा
इन्द्रजात्रा देवजात्रा वा रमाइलो मात्र नभई पूर्वज तथा पितृहरूप्रति श्रद्धा अर्पण गर्ने सामाजिक सांस्कृतिक अनुष्ठान हो । आठ दिनसम्म मनाइने यस पर्वको पहिलो दिन भाद्र शुक्ल द्वादशीमा वर्षभरि बितेका आफन्तहरूको सम्झनामा नगरको प्राचीन बाहिरी सीमा (उपाका) परिक्रमा गरिन्छ ।
यस अवसरमा नेवार समुदायले आफ्ना पूर्वजहरूलाई नै आजु (भैरव) का रूपमा स्थापित गरी टोलटोलमा प्रदर्शन गर्छन् । जस्तै, ज्यापू समुदायका आकाश भैरव, मानन्धर समुदायका वाका आजु, बज्राचार्य समुदायका श्वेत भैरव र हाबुद्यः, तथा मल्ल खलकका पचली भैरव ।

यी भैरवहरूको मूर्ति पछाडि घ्याम्पा (घैँटो) राखेर तान्त्रिक विधिद्वारा मद्य (जाँड) भरी मुखको नलीबाट हाच्वंद्यः को रूपमा प्रसाद र समयबजि बाँड्ने मौलिक परम्परा छ ।
७.औपचारिक आरम्भ, समयबधि र विविध सांस्कृतिक आयाम
इन्द्रजात्रा पर्व भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा मानन्धर गुठीद्वारा लिङ्गो (यसिँ) ठड्याएपछि औपचारिक रूपमा सुरु भई आठ दिन आठ रात (ध्याचा गुन्हः) सम्म निरन्तर चल्छ ।
यस अवधिमा काठमाडौं, भक्तपुर, ललितपुर, थिमी र मकवानपुर (चित्लाङ) भेगसम्म विभिन्न देवी नाच, महाँकाली नाच, डवलीहरूमा लोक नाटक (खःप्याख) तथा सांस्कृतिक प्रदर्शनहरू गरिन्छन्।
इन्द्रजात्रा धार्मिक सहअस्तित्व, लोकहित, तान्त्रिक साधना र नेपालमण्डलको गौरवशाली जीवित सभ्यताको अनुपम प्रतीक हो ।
प्रतिक्रिया 4