News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय योजना आयोगले रसुवागढी र भोटेकोशी बाढीबाट बाहिरका प्रभावित नागरिकको विवरण स्थानीय तहमार्फत संकलन गर्ने भएको छ।
- आयोगले विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनका लागि व्यक्तिगत र सम्पत्तिको क्षतिको विवरण सम्बन्धित पालिकाबाट भराउन सूचना जारी गरेको छ।
- आयोगले आगामी १५ असोजभित्र स्थायी बसोबास भएको स्थानीय तहमा विवरण संकलन गरिसक्न अनुरोध गरेको छ।
८ असोज, काठमाडौं । राष्ट्रिय योजना आयोगले रसुवागढी तथा भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित बाहेक जिल्लाका प्रभावित नागरिकको विवरण स्थानीय तहमार्फत संकलन गर्ने भएको छ ।
आयोगले अहिले विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रतिवेदन तयार पारिरहेको छ । सो क्रममा बाढी आएको जिल्ला भन्दा बाहिरबाट सो स्थानमा पुगेका व्यक्तिको व्यक्तिगत तथा सम्पत्ति र व्यवसायमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहबाट संकलन गरिने भएको छ ।
सोही क्रममा आयोगले एक सूचना प्रकाशित गर्दै प्रभावित परिवार, आफन्त तथा कानूनी हकवालाले सम्बन्धित पालिकाका प्रकासकीय अधिकृत वा वडा सचिव वा तोकिएको कर्मचराीमार्फत व्यक्तिगत विवरण भराउन आग्रह गरेको छ ।
यस बाढीले रसुवा, नुवाकोट र धादिङमा अस्थायी रुपमा बसोबास गरिरहेका तथा पर्यटकीय गतिविधिमा भाग लिन सो क्षेत्रमा पुगेका कैयौं व्यक्ति प्रभावित बनेका छन् । त्यसमध्ये कतिपयको ज्यान गएको छ भने हजारौं व्यक्ति वेपत्ता छन् ।
बाढी प्रभावित क्षेत्रमा अक्सर बसोबास नभएका तर, त्यहाँ काम गर्न गएका मजदुर, तीर्थ गएका तीर्थालु, पदयात्रामा गएका स्वदेशी तथा विदेशी पर्यटक, उनीहरूका पथ प्रदर्शक, आयात गरिएका सामान लिन गएका सवारी चालक, सहयोगी, अन्य व्यक्ति तथा व्यापार व्यवसाय गरेर बसिरहेका व्यक्तिको परिवार तथा आफन्तले व्यक्तिगत र क्षति भएको सम्पत्तिको विवरण स्थायी रुपमा बसोबास रहेको क्षेत्रका स्थानीय तहमार्फत संकलन गरिने भएको छ । यो काम आगामी १५ असोजसम्म गरिसक्न आयोगले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4