८ असोज, काठमाडौं । नेपाली युवा सञ्चार उद्यमी समृद्धि ज्ञवालीले जलवायु न्यायलाई नेपालको स्वच्छ ऊर्जा सम्भावना र दक्षिण एसियामा बढ्दो विद्युत् मागसँग जोड्न आग्रह गरेकी छन् ।
उनले नेपालले आफ्नो अन्तर्राष्ट्रिय जलवायु एजेन्डालाई मुख्यत: जलवायु जोखिम तथा ‘लस एन्ड ड्यामेज’लाई केन्द्रमा राख्ने र दक्षिण एसियाका लागि स्वच्छ ऊर्जाको सम्भावित साझेदारका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन् ।
क्लाइमेट विक न्युयोर्कअन्तर्गत आयोजित कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएकी हुन् ।
जलवायु तथा स्वच्छ ऊर्जा अभियन्तासमेत रहेकी ज्ञवालीले जलवायु अभियन्ता, वैज्ञानिक, नीति निर्माता, व्यवसायी तथा पत्रकारहरूसँगको छलफलले नेपालको जलवायु कूटनीतिलाई आर्थिक तथा ऊर्जा महत्वाकांक्षासँग जोड्नुपर्ने बताइन् ।
‘नेपाल हिमनदी पग्लिरहेको र यहाँका समुदाय जलवायु परिवर्तनबाट पीडित भइरहेको देशका रूपमा मात्र चिनिइरहन सक्दैन । हामीले अझ ठूलो कथा भन्न आवश्यक छ,’ उनले भनिन्, ‘नेपाललाई जलवायु न्यायको माग गरिरहेको देशका रूपमा मात्र होइन, दिगो ऊर्जामार्फत ग्लोबल साउथको भविष्यलाई ऊर्जा उपलब्ध गराउन सक्ने देशका रूपमा पनि प्रस्तुत गर्नुपर्छ ।’
देश र कम्पनीहरू बढी ऊर्जा र स्रोतका लागि प्रतिस्पर्धा गरिरहेका बेला त्यो प्रतिस्पर्धा जमिनबाट समुद्रतर्फसमेत विस्तार भइरहेको उनले बताइन् ।
‘यस्तो अवस्थामा नेपालको जलवायु न्यायसम्बन्धी बहस मात्र हाम्रो अर्थतन्त्रलाई अघि बढाउन पर्याप्त नहुन सक्छ । हाम्रो रणनीति फरक हुन आवश्यक छ,’ ज्ञवालीले भनिन् ।
उनले नेपालको हिमालय संरक्षणलाई देशको विशाल स्वच्छ ऊर्जा सम्भावना, विशेषगरी जलविद्युत्सँग जोड्नुपर्ने बताइन् ।
‘हामीले लस एन्ड ड्यामेजलाई स्वच्छ ऊर्जा लगानीसँग जोड्नुपर्छ । जलवायु कूटनीतिलाई आर्थिक कूटनीतिसँग जोड्नुपर्छ,’ उनले भनिन् ।
क्लाइमेट विकका क्रममा ज्ञवालीले वातावरणीय अभियन्ता जेन फोन्डा र एरिन ब्रोकोभिचसँग पनि भेटघाट तथा छलफल गरेकी थिइन् ।
उनीहरूसँग नेपाल र हिमालयले सामना गरिरहेका जलवायु चुनौतीबारे छलफल भएको उनले बताइन् ।
प्रतिक्रिया 4