८ असोज, धनगढी । कैलालीमा प्रेमीसँग मिलेर पतिको हत्या गरेको अभियोगमा पक्राउ परेकी महिलासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
कैलाली जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलाशले लम्कीचुहा नगरपालिका–१० का दीपक सुनार हत्या प्रकरणमा पक्राउ परेका पाँचै जनालाई कारागार पठाउने थुनछेक आदेश दिएको हो ।
बिहीबार भएको थुनछेक आदेशअनुसार हत्यामा संलग्न भनिएकी मृतक दीपककी पत्नी यमुना सुनार, उनका प्रेमी दुर्योधन सुवर्णकार, टीकापुरका रामराजेश महतो, कञ्चनपुरका वीरेन्द्र राना र भीमराज रानालाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहीबार अदालतले दिएको आदेशअनुसार उनीहरू पाँचै जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको जानकारी दिए ।
प्रहरीको अनुसन्धान अनुसार यमुना र उनका प्रेमी दुर्योधनको योजनामा साउन २१ मा दीपकको हत्या गरेर उनको शव कर्णाली नदीमा बगाइएको थियो ।
दीपकको हत्या गर्न उनीहरूले रामराजेश महतोको सहयोगमा कञ्चनपुरका वीरेन्द्र राना र भीमराज रानालाई एक लाख ६० हजारको सुपारी दिएका थिए ।
उनीहरूकै योजनामा यमुनाले पति दीपकलाई जानकी गाउँपालिकाको अमरावती जंगलमा पुर्याएकी थिइन् । जहाँ दीपकको हत्या भयो । हत्यापछि शव टुक्राटुक्रा पारेर कर्णाली नदीमा बगाइएको खुलेको प्रहरीले जनाएको छ ।
पछि अनुसन्धानका क्रममा जंगलमा फेला मासुको टुक्राका आधारमा त्यहाँ भेटिएको रगत मानिसकै भएको पत्ता लागेको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा पत्नी यमुना र प्रेमी दुर्योधनको योजनामा उनको हत्या भएको कुरा पत्ता लगाएको थियो ।
प्रतिक्रिया 4