+
+
Shares

स्वास्थ्यलाई हानि गर्ने वस्तुको विज्ञापन नगर्न कलाकारलाई भारतीय राष्ट्रपति मुर्मूको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति द्रौपदी मुर्मूले गुजरातमा ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा लोकप्रिय कलाकारलाई स्वास्थ्यका लागि हानिकारक वस्तुको विज्ञापन नगर्न आग्रह गरिन्।
  • उनले बालबालिका र युवामा कलाकारको प्रभाव धेरै हुने भन्दै विज्ञापन छनोटमा जिम्मेवार हुनुपर्ने र महिलाको सहभागिता बढाउनुपर्ने बताइन्।
  • महाराष्ट्र एफडीएले विमल इलायचीको विज्ञापनमार्फत पान मसालाको अप्रत्यक्ष प्रचार भएको आशंकामा शाहरुख खान, अजय देवगन र टाइगर श्राफलाई कारण देखाऊ नोटिस जारी गरेको छ।

गुजरात । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले लोकप्रिय फिल्म कलाकारलाई स्वास्थ्यका लागि हानिकारक वस्तुको विज्ञापन नगर्न आग्रह गरेकी छन् । कलाकारले बालबालिका र युवाको जीवनशैलीमा प्रभाव पार्ने भएकाले विज्ञापन छनोट गर्दा जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

गुजरातमा आयोजित ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मूले लोकप्रिय कलाकारको जीवनशैली र व्यवहारबाट करोडौँ बालबालिका तथा युवा प्रभावित हुने बताइन् ।

उनले भनिन्, ‘अत्यन्त लोकप्रिय फिल्म कलाकारमा देशवासी, विशेषगरी युवालाई प्रभावित पार्ने अपार क्षमता हुन्छ । सफल कलाकारले अनुशासित जीवनशैलीका फाइदाबारे बताउँदा करोडौँ बालबालिका र युवाले उनीहरूको अनुसरण गर्छन् ।’

स्वास्थ्यका लागि हानिकारक वस्तुको विज्ञापन नगर्न आग्रह गर्दै उनले भनिन्, ‘लोकप्रिय कलाकारले स्वास्थ्यका लागि हानिकारक पदार्थको प्रचार नगरून् भन्ने मेरो अनुरोध छ । वास्तविक स्टार त्यही हो, जसले उज्यालो फैलाउँछ, अँध्यारो होइन ।’

राष्ट्रपति मुर्मूले राष्ट्रिय चलचित्र पुरस्कारका लागि फिल्म छनोट गर्ने निर्णायक समितिमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकता पनि औँल्याइन् ।

‘हरेक क्षेत्रीय निर्णायक समितिमा महिलाको सहभागिता सुनिश्चित होस् भन्ने म चाहन्छु,’ उनले भनिन् । कुनै पनि क्षेत्रमा महिलाको दृष्टिकोण समावेश गर्दा विषयवस्तुलाई सबै पक्षबाट हेर्ने सोचको विकास हुने उनको भनाइ थियो ।

विमल इलायचीको विज्ञापनमा तीन अभिनेतालाई नोटिस

राष्ट्रपति मुर्मूको आग्रहअघि महाराष्ट्रको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले विमल इलायचीको विज्ञापनसम्बन्धी विवादमा बलिउड अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्राफलाई कारण देखाऊ नोटिस जारी गरेको थियो ।

महाराष्ट्र एफडीएका अनुसार विमल इलायचीको विज्ञापनमार्फत विमल पान मसालाको अप्रत्यक्ष प्रचार गरिएको हुन सक्ने आशंका छ । महाराष्ट्रमा विमल पान मसाला प्रतिबन्धित छ ।

प्रशासनले तीनै अभिनेतासँग उक्त विज्ञापन अभियानमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको थियो । यो विवाद अदालतसम्म पनि पुगेको छ । दिल्ली उच्च अदालतले महाराष्ट्र एफडीएको नोटिसलाई चुनौती दिँदै पीबी एग्रो एलएलपीले दायर गरेको निवेदन खारेज गरेको थियो ।

विमल इलायचीको विज्ञापनमार्फत पान मसालाको कथित अप्रत्यक्ष प्रचार गरिएको विषयमा एफडीएले नोटिस जारी गरेको थियो ।

विज्ञापन विवादपछि अक्षय कुमारले मागेका थिए माफी

सन् २०२२ मा अभिनेता अक्षय कुमार पनि विमल पान मसालाको विज्ञापनका कारण विवादमा परेका थिए ।

अक्षय, अजय देवगन र शाहरुख खानसँगै विमलको विज्ञापनमा देखिएका थिए । त्यसपछि सामाजिक सञ्जालमा उनका प्रशंसकले आलोचना गरेका थिए ।

स्वस्थ जीवनशैली र शारीरिक तन्दुरुस्तीको वकालत गर्ने अभिनेताले पान मसालाको ब्रान्ड प्रवद्र्धन गर्न नहुने उनीहरूको तर्क थियो । विवाद बढेपछि अक्षयले सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकसँग माफी मागेका थिए । उनले विमलको ब्रान्ड एम्बेसडरबाट अलग हुने निर्णयसमेत गरेका थिए ।

विज्ञापनबाट प्राप्त पारिश्रमिक सामाजिक हितको काममा दान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए ।

तर, अक्टोबर २०२३ मा विमलको अर्को विज्ञापन सार्वजनिक भएपछि अक्षय पुनः आलोचित भए । विज्ञापनबाट अलग भइसकेको घोषणा गरे पनि उनी फेरि त्यसमा कसरी देखिए भन्ने प्रश्न सामाजिक सञ्जालमा उठेको थियो ।

त्यसपछि अक्षयले उक्त विज्ञापन नयाँ नभएको स्पष्टीकरण दिएका थिए । उनका अनुसार विज्ञापनको छायांकन अक्टोबर सन् २०२१ मै सम्पन्न भएको थियो ।

सम्झौताको अवधि बाँकी रहेकाले कम्पनीसँग पुरानो विज्ञापन प्रसारण गर्ने अधिकार रहेको उनले बताएका थिए । भविष्यमा यस्ता विज्ञापनको छायांकन नगर्ने पनि अक्षयले स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?