+
+
Shares

जब ट्रम्पले सीकै सामुन्ने बाइडेनको मजाक उडाए…

मेरिकाको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले ह्वाइट हाउस भ्रमणका क्रममा खुला रूपले हाँसेको कुरा अहिले चर्चामा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ह्वाइट हाउस भ्रमणमा ट्रम्पले बाइडेनको सट्टा अटोपेनको तस्बिर देखाउँदै ठट्टा गरेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ ठूलो स्वरले हाँसेका छन्।
  • ह्वाइट हाउसले सार्वजनिक गरेको भिडियोमा ट्रम्पले सीलाई 'प्रेसिडेन्सियल वाक अफ फेम' हुँदै लैजाँदा बाइडेनसम्बन्धी अटोपेनको तस्बिर देखाएका थिए।
  • ट्रम्प र सीबीच प्रविधि र दुर्लभ खनिज पदार्थका कारण तनाव रहे पनि दुवै देशले सम्बन्ध स्थिर बनाउने प्रयास गरिरहेका छन्।

९ असोज, काठमाडौं । अमेरिकाको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले ह्वाइट हाउस भ्रमणका क्रममा खुला रूपले हाँसेको कुरा अहिले चर्चामा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनको आधिकारिक तस्बिर हुनुपर्ने ठाउँमा राखिएको ‘अटोपेन’ (स्वचालित हस्ताक्षर गर्ने यन्त्र) को तस्बिर देखाउँदै व्यङ्ग्य गरेपछि सीले हाँसो रोक्न सकेनन् ।

दशकभन्दा बढी समयपछि अमेरिकाको राजकीय भ्रमणमा पुगेका चिनियाँ नेता सीको सामान्यतया कूटनीतिक र गम्भीर स्वभावका बीच यो भाइरल क्षण निकै चर्चाको विषय बनेको छ।

ह्वाइट हाउसले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा ट्रम्पले सीलाई ह्वाइट हाउसको कोलोनीड हुँदै ‘प्रेसिडेन्सियल वाक अफ फेम’ तर्फ लगेको देखिन्छ । जहाँ पूर्व अमेरिकी राष्ट्रपतिहरूको तस्बिर र स्मारकहरू राखिएका छन्।

आफ्नो कार्यकालका तस्बिरहरूतर्फ इसारा गर्दै ट्रम्पले बीचमा रहेको बाइडेनको तस्बिर हुनुपर्ने स्थानमा झुण्ड्याइएको अटोपेनको तस्बिर देखाए। ट्रम्पले भने, “यो अटोपेन हो… यो बाइडेन हो।” ट्रम्पको यो ठट्टा सुनेपछि सी जिनपिङ ठूलो स्वरले हाँसेका थिए । उनीहरूसँगै रहेका अन्य प्रतिनिधिमण्डलका सदस्यहरूले पनि हाँसोमा साथ दिएका थिए।

ट्रम्पले पूर्वराष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको उत्तरार्धमा सरकारी कागजातहरूमा हस्ताक्षर गर्न आफ्ना सहयोगीहरू र अटोपेनमा बढी निर्भर रहेको आरोप लगाउँदै आएका छन्। सोही विषयलाई लिएर ट्रम्पले सेप्टेम्बर २०२५ देखि नै ह्वाइट हाउसको ‘प्रेसिडेन्सियल वाक अफ फेम’मा बाइडेनको परम्परागत तस्बिरको सट्टा अटोपेनको तस्बिर राखेका थिए।

प्रविधि र दुर्लभ खनिज पदार्थको निर्यातलाई लिएर दुई देशबीच तीव्र तनाव जारी रहेका बेला यो अनौपचारिक दृश्यले धेरैको ध्यान खिचेको छ। यसअघि बुधबार आयोजित औपचारिक स्वागत समारोहमा अमेरिकी राष्ट्रिय गान बजिरहेका बेला अमेरिकी सैन्य जेटले उडान भर्दा ठूलो आवाज आएको थियो। सो क्रममा नजिकै उभिएका ट्रम्प छक्क पर्दै अनुहार बिगारेका थिए । सी भने पूर्ण रूपमा शान्त र प्रतिक्रियाहीन देखिएका थिए।

तर बिहीबार अटोपेनको ठट्टामो भने सीले आफ्नो गम्भीर छवि विपरीत खुलेर प्रतिक्रिया दिए। सी हाँसेपछि ट्रम्पले उनको काँधमा मित्रवत धाप मारेका थिए।

अर्को एक छुट्टै भिडियोमा ट्रम्पले सन् २०१७ मा बेइजिङमा सीसँग भएको भेटको तस्बिर देखाउँदै भनेका थिए, “यो को हो? मैले त चिनिनँ।” त्यसमा पनि सीले आफ्ना प्रतिनिधिमण्डलका सदस्यहरूतर्फ हेर्दै हल्का हाँसेका थिए।

बाइडेनको कार्यकालमा अमेरिका-चीन सम्बन्ध इतिहासकै कमजोर मोडमा पुगेको थियो। कोभिड-१९ को उत्पत्तिबारे आरोप-प्रत्यारोप, सन् २०२२ मा तत्कालीन अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण र सन् २०२३ को ‘जासुसी बेलुन’ काण्डले दुई देशबीचको कूटनीतिक सम्बन्धमा ठूलो दरार पैदा गरेको थियो।

बाइडेनले राष्ट्रपति पद सम्हालेपछि सीसँग केवल तीन पटक बहुपक्षीय सम्मेलनहरूका क्रममा भेटवार्ता गरेका थिए। उनको कार्यकालमा कुनै पनि राजकीय भ्रमण आदानप्रदान भएको थिएन। सीको यसअघिको अमेरिका भ्रमण नोभेम्बर २०२३ मा सान फ्रान्सिस्कोमा भएको एपेक सम्मेलनका क्रममा भएको थियो भने अन्तिम राजकीय भ्रमण सेप्टेम्बर २०१५ मा भएको थियो।

द्विपक्षीय तनाव र प्रतिस्पर्धाका बाबजुद वर्तमान भ्रमणका क्रममा दुवै देशका शीर्ष नेताहरूबीच सम्बन्धलाई स्थिर बनाउने र सम्झौतातर्फ लैजाने प्रयास भइरहेको देखिएको छ। ह्वाइट हाउसमा आयोजित स्टेट डिनरका क्रममा ट्रम्पले राजनीतिक प्रणालीमा भिन्नता भए पनि अमेरिका र चीनबीचको सम्बन्ध मजबुत बन्दै गएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?