News Summary
Generated by OK AI. Editorially reviewed.- कौशल ओझाद्वारा निर्देशित सर्टफिल्म ‘द मिनिएचरिस्ट अफ जुनागढ’ ले सन् १९४७ को भारत–पाकिस्तान विभाजनका बेला जन्मिएको विछोडको कथा प्रस्तुत गरेको छ।
- फिल्ममा नसीरुद्दीन शाहले दृष्टिहीन वृद्ध चित्रकार हुसेन नक्कासको भूमिका निभाएका छन्, जसलाई परिवारसहित जुनागढको पुर्ख्यौली घर बेचेर कराँची सर्न बाध्य पारिन्छ।
- समिक्षामा कुमार सौरभको सिनेम्याटोग्राफी, अमित मल्होत्राको सम्पादन र रसिका दुगलको न्यारेशनलाई फिल्मका प्रभावकारी पक्षका रूपमा उल्लेख गरिएको छ।
हुसेन : पूरै चिया एकैपटक नसक्नु । कपमा एक घुट्को अवश्य छाडिदिनु ।
नूर : किन ?
हुसेन : जसले चियाको अन्तिम घुट्को छाड्छ, ऊ त्यसकै तृष्णालाई पछ्याएर जुनागढ पक्कै फर्कन्छ ।
………….
घरसँगको वियोगको क्षण—जसको आहतलाई संसारका कुनै माध्यममा व्यक्त गर्न गाह्रो छ। जीवन सङ्घारमा उभिएको छ, बाहिर एउटा अपरिचित यात्राले पर्खिरहेको छ, भित्र हजारौँ स्मृतिहरू एकसाथ मडारिरहेका छन्। हुनसक्छ, जुनागढको यो पुरानो र सुन्दर घरमा अन्तिमपटक चिया पिइरहेका हुन सक्छन्, हुसेन। तर उनलाई यो घरमा भय र गुम्स्याहटसहितको गमन चाहिएको छैन। उनी एक घुट्की चिया यत्तिकै राखिदिन्छन्, ताकि उनी त्यसको महक र तिर्खाका डोबहरूलाई पछ्याउँदै पुनः जुनागढ आउन सकून्।
कौशल ओझाद्वारा निर्देशित सर्टफिल्म ‘द मिनिएचरिस्ट अफ जुनागढ’ ले धार्मिक–राजनीतिक द्वन्द्वको परिणतिस्वरूप जन्मिएको ‘विछोड’लाई कलात्मक गहिराइका साथ प्रस्तुत गरेको छ। स्टेफान ज्विगको कथा ‘द इनभिजिबल कलेक्सन’बाट प्रभावित यो फिल्म सन् १९४७ को हिउँदोयाममा घटेको चिसो देश–विभाजन (पार्टिसन) को समयरेखामा उभिएको छ।
कथाको केन्द्रमा नसीरुद्दीन शाह छन्। उनले हुसेन नक्कासको भूमिका निभाएका छन्। हुसेन नक्कास एक वृद्ध चित्रकार हुन्। दशकौँसम्म आफ्नो जटिल कलामा लागेपछि उनी दृष्टिहीन हुन्छन्। हुसेन देश विभाजनको अराजक परिणाममा जुनागढमा रहेको आफ्नो पुर्खाको घर बेच्न बाध्य हुन्छन्। उनी आफ्नो परिवारसँग कराँची सर्न बाध्य हुन्छन्। उनको परिवारमा उनकी पत्नी सकिना (पद्मावती राव) र छोरी नूरहयात (रसिका दुगल) छन्।
मधुरो पीडा र चर्को मुकुसमुकुसको आहालमा डुबेको घर र यसका सदस्य–सदस्याका भावनालोकबाट असम्पृक्त किशोरीलाल खोकिलामा आधिकारिक कागजात बोकेर घर उभिएका छन्। उनी आडम्बरले परिपूर्ण आँखाले घरका कुनाकाप्चालाई एकसरो छामिरहेका हुन्छन्। उनको आगमनको भङ्गिमाले नै बोल्छ कि उनी कट्टरपन्थी, धूर्त र अवसरवादी हुन्। उनको धूर्तताको उत्कृष्ट उदाहरण नै यो हो कि—उनले घरसँगसँगै परिवारका तत्कालका व्यक्तिगत सामानबाहेकका वस्तुहरू आफ्नो नाममा पार्ने कागज गरेका छन्।

किशोरीले हुसेनको दुर्लभ र बहुमूल्य सूक्ष्म कलाको सङ्ग्रहका बारेमा थाहा पाउँछन्। उनी त्यो सङ्ग्रह पनि आफ्नो हुनुपर्ने निर्णय गर्छन्। यद्यपि उनलाई एउटा कुरा थाहा छैन। चित्रहरूका बारेमा एउटा रहस्य छ, जसले उनलाई ती चित्रहरू लिनबाट रोक्छ। तर उनी आफ्नो हठमा अडिग रहन्छन्, वेपर्वाह छन् कलाको रहस्य र गम्भीरताबाट—बस्, उनलाई चाहिएको छ त मालिकत्व।
………..
स्पोइलर अलर्ट ? … हैन, तपाईं फिल्म नै हेर्नुस् । स्पोइलरबाहेकका कुराहरू म कथ्छु ।
फिल्ममा न्यारेशनको गतिले दर्शकलाई मुख्य पात्रहरूको भावनात्मक अवस्थासँग जोड्छ। फिल्मका प्राविधिक पक्षहरूले प्रभाव बढाउँछन् । कुमार सौरभको सिनेम्याटोग्राफी र अमित मल्होत्राको एडिटिङले संयमित प्रस्तुतिमा मद्दत पुर्याउँछन् । इतिहासको चित्रणलाई रङ संयोजनले न्याय गरेको देखिन्छ ।

नसीरुद्दीन शाह त्यस्ता कलाकार हुन्, जसलाई फिल्मको शीर्षकमा देख्दा मानिसहरू उत्सुक हुन्छन्। यहाँ उनको सुदीर्घ अभिनय अनुभवका छापहरू उत्तिकै गहकिलो रूपमा प्रस्तुत भएका छन्। फिल्मको सम्पूर्ण ध्यान नसीरुद्दीन शाहले तानेका छन्। उनको अभिनयको ठहरावले एक किसिमको रहस्यता या उत्सुकतालाई कायम राखिरहन्छ। उनका भारी उर्दु संवादहरू अतिरेक प्रतीत हुँदैनन्।
हुसेनकी छोरी बनेकी रसिका दुगलको अभिनयभन्दा पनि उनको न्यारेशन बढी प्रभावशाली छ। मैनबत्तीहरू निभाउँदै रसिकाको आवाजले पार्श्वमा स्थापित भएर न्यारेट गर्छ, तब फिल्म ‘एक्सपोनेन्सियल’ सुन्दर भएको महसुस हुन्छ। किशोरीलालको भूमिकामा अजय राजले पनि आफ्नो उत्कृष्ट दिएका छन्।
मूलतः यस फिल्मको केन्द्रीय वैशिष्ट्य नै पटकथाको उपयुक्त आकार हो। फिल्ममा कतिपय घटनाहरूको परिणाम के होला भन्ने निष्कर्ष दर्शकलाई नै सुम्पिएको छ, कतै पनि आफ्नो विचार या व्याख्या दिने प्रयास गरिएको छैन। चाहे त्यो हुसेनको पेन्टिङको रहस्य होस् या हुसेनको परिवारको प्रत्यागमनको सम्भावना, कलाकारहरू कहीँ हावी भएका छैनन्। दृश्य, शब्दहीनता र पार्श्व संगीतको त्रिवेणीले दर्शकहरूलाई तानिरहन्छन्।
पश्चिम भारतमा आधारित विभाजनका कथाहरू दुर्लभ छन्। विशेष गरी त्यस युगमा त्यो क्षेत्रमा घरबारविहीन भएका मानिसहरूका कथाहरू कम छन्। यसले ओझाको फिल्मलाई विशेष बनाउँछ। २९ मिनेटको यो सर्ट फिल्मले भारत–पाकिस्तान विभाजनको पीडालाई उजागर गर्छ। फिल्म घर छाड्नुको ‘मजबुरी’, कलाकारको आफ्नो कलाप्रतिको ‘जुनुन’ र जन्मभूमि छाड्दाको चहऱ्याउने ‘दर्द’ अटाउने पेरुङ्गो भएको छ।
प्रतिक्रिया 4