News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस गहिरो आन्तरिक अन्तर्द्वन्द्वमा रहेको र स्थापनाकालीन आदर्शबाट विचलित भएको लेखमा विश्लेषण गरिएको छ।
- लेखले कांग्रेसलाई संस्थागत अनुशासन, वैचारिक स्पष्टता, आन्तरिक प्रजातन्त्र र परिणाममुखी शासन कमजोर बन्दै गएको पार्टीका रूपमा चित्रण गरेको छ।
- पार्टीलाई समाजबाट नेतृत्व खोज्ने, पारदर्शी उम्मेदवार चयन र स्पष्ट राष्ट्रिय कार्यक्रममार्फत पुनःउत्थान गर्नुपर्ने सुझाव दिइएको छ।
नेपाली कांग्रेस आज गहिरो अन्तर्द्वन्द्वमा छ। यो अन्तर्द्वन्द्व बाहिरबाट हेर्नेहरूले पनि राम्ररी बुझेका छन्। तर मूल कुरा बाहिरबाट कसरी देखिन्छ भन्ने मात्र होइन । कांग्रेसभित्र यसलाई कसरी बुझिन्छ भन्ने हो।
आउने दिनहरूमा नेपाली कांग्रेसको गतिशीलता र उसले निर्वाह गर्नुपर्ने अपेक्षित भूमिका यही आन्तरिक आत्मबोधले निर्धारण गर्नेछ।
फर्केर हेर्दा कांग्रेसजनले बुझ्नुपर्ने मुख्य कुरा के हो भने नेपालमा प्रजातन्त्रको चर्चा हुँदा नेपाली कांग्रेस एउटा यस्तो ब्रान्डका रूपमा अगाडि आउँछ, जसलाई चर्चा नगरी सुखै छैन।
यो ब्रान्ड कसरी निर्माण भयो, कसरी हुर्काइयो, कसरी विकसित गरियो, कसरी अघि बढाइयो, र कसरी परिमार्जन गरियो र अन्ततः आजको अवस्थामा कसरी आइपुग्यो भन्ने विषय गम्भीर छलफलका लागि खुला छ।
यसका लागि आजको परिस्थितिको मूल्यांकन गर्नुभन्दा पहिले नेपाली कांग्रेसका संस्थापक सिद्धान्तहरूतर्फ फर्किने, तिनलाई पुनः छलफलमा ल्याउने र पार्टीभित्र देखिएको वैचारिक दिशाहीनतालाई बुझ्ने प्रयास आवश्यक छ। सरसर्ती हेर्दा नेपाली कांग्रेसको वैचारिक परम्परा टुटिसकेकै भन्दा हुन्छ।
पन्ध्र–सोह्र वर्ष अगाडि सिंगापुर एयरपोर्टको ट्रान्जिटमा कुर्दा म एउटा पुस्तक किन्न पुगेको थिएँ। त्यसको समीक्षा त मैले पढेको थिइनँ। तर त्यो एउटा महत्वपूर्ण पुस्तक थियो।
‘मेन इन ह्वाइट: द अनटोल्ड स्टोरी अफ सिंगापुर्स रुलिङ पोलिटिकल पार्टी’ भन्ने २०१० को त्यो पुस्तक सन्नी याप, रिचर्ड लिम र लियोङ वेङ कामले विभिन्न व्यक्तिहरुसंग गरिएको विस्तृत अन्तर्वार्ता र अनुसन्धानका आधारमा लेखेका थिए ।
पुस्तक सिंगापुरका विश्वप्रसिद्ध नेता ली क्वान युले नेतृत्व गरेको पिपुल्स एक्सन पार्टी अर्थात् पीएपी बारे हो। यसले उसबेला क्याम्ब्रिजमा पढेका एक वकिल र उनका अंग्रेजीकृत सहकर्मीहरूले कसरी उग्र चिनियाँभाषी ट्रेड युनियनवादीहरूसँग मिलेर बेलायती उपनिवेशवादीहरूलाई त्यस क्षेत्रबाट हटाउन नेतृत्व गरे भन्ने बारेमा पाठकलाई सम्सुचित गर्दछन्।
यो उपलब्धि सजिलै प्राप्त भएको थिएन । यसका लागि पीएपीले लामो र कठिन संघर्ष गरेको थियो। पछि सिंगापुर निर्माणमा उनीहरू एक-अर्कासँग कसरी कटु अन्त्यसम्म लडे भन्ने कथा पनि पुस्तकले प्रस्तुत गर्दछ। यो पुस्तकले जोसुकैलाई राजनीतिक दल, नेतृत्व, सहकार्य, अनुशासन र राष्ट्रनिर्माणबारे धेरै कुरा सिकाउँछ।
वास्तवमा सिंगापुरको पीएपी आधुनिक विश्वका उदाहरणीय राजनीतिक दलहरूमध्ये एक हो। नेपाली कांग्रेसजस्तै यो पार्टी पनि संयोगवश नेतृत्वदायी र प्रभावशाली राजनीतिक शक्ति बनेको होइन। यसका लागि उसले समय, साधन, संगठन र नेतृत्वमा कठोर लगानी गरेको थियो। उपनिवेशवादी राजनीति, कम्युनिस्ट तथा वामपन्थी प्रतिद्वन्द्वी, आन्तरिक विभाजन र क्षेत्रीय दबाबविरुद्धको कठोर प्रारम्भिक संघर्षबाट यो दल बाँच्यो किनभने यसको नेतृत्व अनुशासित, आवश्यक पर्दा कठोर, व्यवहारवादी र राज्यनिर्माणमा अत्यन्त केन्द्रित थियो।
पीएपीको सफलताका विभिन्न कारणहरू थिए। पार्टीले राजनीतिक अनुशासन र संगठनलाई सधैँ महत्व दियो। यही आधारमा उसले कडा, टिकाउ र संगठित संरचना पनि निर्माण गर्यो। उसले व्यवहारवादी बन्ने प्रयास गर्यो। विशेषतः प्रारम्भिक पीएपी कालमा कम्युनिस्ट-समर्थक तथा वामपन्थी गुटहरूविरुद्ध आफूलाई फरक राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्यो।
यसले नेतृत्वलाई नैतिक गम्भीरताका रूपमा बुझ्ने दृष्टि स्थापित गर्यो। पार्टीका ‘मेन इन ह्वाइट’ अर्थात् सेतो पोशाक लगाउने नेताहरूको छविले भ्रष्टाचाररहितता, स्वच्छता र सार्वजनिक कर्तव्यबोधलाई पार्टीको प्रतीकका रूपमा स्थापित गरायो।
सिंगापुर निर्माणमा सहयोगी बनेको यही अनुशासनले विपक्षप्रति सीमित सहिष्णुता भएको राजनीतिक संस्कृति पनि जन्मायो। तथापि, एउटा गरिब, विपन्न र अन्तर्राष्ट्रिय रूपमा कम महत्वको मुलुकलाई तेस्रो विश्वबाट रूपान्तरण गरी पहिलो विश्वमा स्थापित गर्ने कार्यमा यसको ऐतिहासिक योगदान निर्विवाद छ ।

एक वाक्यमा भन्नुपर्दा, ‘मेन इन ह्वाइट’ ले आधुनिक सिंगापुर एउटा अनुशासित, स्वच्छ, व्यवहारवादी र कहिलेकाहीँ असम्झौतावादी सत्तारुढ दलमार्फत कसरी निर्माण भयो भन्ने कथा प्रस्तुत गर्छ। पुस्तकको मूल चुरो के छ भने उक्त दल बाह्य र आन्तरिक दुवै खतरालाई पराजित गरेर सत्तामा पुगेको थियो।
सत्तामा पुगेपछि पनि आफूले आर्जन गरेको राजनीतिक शक्तिलाई लगातार राष्ट्रिय विकासमा रूपान्तरण गर्न उसले कुनै कसर बाँकी राखेन। यो पुस्तक पिपुल्स एक्सन पार्टीको महत्वपूर्ण पत्रकारितामूलक विवरणका रूपमा सम्मानित पनि भयो। यद्यपि कतिपयले यस पुस्तकले पीएपीकै दृष्टिकोणप्रति अत्यधिक झुकाव राखेको, पर्याप्त प्रमाणिक आधार नदिएको वा विवादास्पद प्रसंगहरूमा छनोटपूर्ण दृष्टि अपनाएको भन्दै आलोचना पनि गरेका छन्।
सायद पीएपी नेपाली कांग्रेसले दाबी गर्दै आएको जस्तो बहुलवादी प्रजातान्त्रिक आदर्श बोकेको पार्टी होइन । तैपनि यति कुरा ठोकुवा गर्न सकिन्छ कि आजको सिंगापुरको निर्माण, धन र ऐश्वर्यको प्राप्ति, स्थिरताको आधार, तथा बलियो नेतृत्वको प्रस्तुति पीएपीले नै सम्भव गराएको हो। आधुनिक विश्वमा यस्ता अरु पनि केही अत्यन्त उदाहरणीय दलहरू छन् जसको हामी नाउँ लिन सक्छौँ।
ती दलहरू निर्वाचनमा टिकाउ, आन्तरिक रूपमा संगठित, व्यवहारमा व्यापक रूपमा प्रजातान्त्रिक, र बहुलवाद त्याग नगरी राष्ट्रिय शक्तिका रुपमा शासन गर्न सक्षम भएका छन्। कुनै दल पूर्ण हुँदैन र प्रत्येक उदाहरणका आफ्नै सीमा र सम्झौताहरू हुन्छन्। तथापि वैचारिक धरातलले दिने राजनीतिक आधार र त्यसैमार्फत गरिने संगठन नै जहाँसुकै पनि राजनीतिक सामर्थ्यको मूल आधार हुन्छ।
उदाहरणका लागि न्युजिल्यान्डको लेबर पार्टी तथा न्युजिल्यान्ड नेसनल पार्टीकै कारण न्युजिल्यान्ड एउटा अनुकरणीय प्रजातन्त्रका रूपमा स्थापित भएको छ।
शान्तिपूर्ण सत्ता परिवर्तन, घोषणापत्रमा आधारित प्रतिस्पर्धा, अनुशासित संसदीय राजनीति र नेतृत्व परिवर्तनलाई सहज रूपमा स्वीकार गर्ने संस्कृतिले न्युजिल्यान्डको प्रजातान्त्रिक चरित्रलाई बलियो बनाएको छ।
फ्रीडम हाउसले न्युजिल्यान्डलाई ९९/१०० अंकसहित स्वतन्त्र देश मानेको छ। स्विडेनको सोसल डेमोक्रेटिक पार्टी र मोडरेट पार्टी पनि अध्ययनयोग्य उदाहरण हुन्। सोसल डेमोक्रेटिक परम्परा, कल्याणकारी राज्यको दक्ष सञ्चालन, गठबन्धन संस्कृतिको अभ्यास र लोकतान्त्रिक संयमका दृष्टिले स्विडेन महत्वपूर्ण छ।
फ्रीडम हाउसले स्विडेनमा स्वतन्त्र र निष्पक्ष निर्वाचन, बलियो बहुदलीय प्रणाली, अधिकारको सम्मान र कानुनी शासन रहेको उल्लेख गरेको छ। सीडीयू/सीएसयू, एसपीडी, ग्रीन्स र एफडीपीजस्ता दलहरू जर्मनीमा प्रभावशाली छन्। गठबन्धन संस्कृति, पार्टी फाउन्डेसन, नीति अनुसन्धान, उम्मेदवार विकास र अधिनायकवादी इतिहासपछि संवैधानिक प्रतिबद्धता निर्माण गर्ने अनुभवका कारण जर्मनी राजनीतिक दलहरूको अध्ययनका लागि उपयोगी छ। जर्मनीलाई फ्रीडम हाउसले ९५/१०० अंकसहित स्वतन्त्र देश मानेको छ।
ताइवानका डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी र कुओमिन्ताङ युवा वा बाह्य दबाबमा रहेका प्रजातन्त्रका दलहरूका लागि उपयोगी उदाहरण हुन्। प्रतिस्पर्धात्मक निर्वाचन, संवैधानिक राजनीतिभित्र राष्ट्रिय पहिचानको बहस, र शान्तिपूर्ण सत्ता हस्तान्तरण ताइवानका प्रमुख विशेषता हुन्।
फ्रीडम हाउसको २०२५ को प्रतिवेदनमा ताइवानले ९४/१०० अंक पाएको छ। दक्षिण अफ्रिकाको अफ्रिकन नेसनल कांग्रेस, डेमोक्रेटिक एलायन्स तथा २०२४ पछिका साना गठबन्धन साझेदारहरू पूर्ण आदर्श होइनन्। तर एउटा प्रभुत्वशाली-दलीय प्रणाली कसरी क्रमशः गठबन्धन राजनीति र जवाफदेहितातर्फ धकेलिन सक्छ भन्ने कुरा बुझ्न दक्षिण अफ्रिकाको अनुभव महत्वपूर्ण छ। गम्भीर शासन र अपराध समस्या निकै गम्भीर देखिए पनि दक्षिण अफ्रिका अझै ८१/१०० अंकसहित स्वतन्त्र मानिएको छ।
इतिहासलाई हेर्दा यतिको सम्मान नेपाली कांग्रेस र नेपालले पनि पाउनुपर्ने थियो। तत्कालीन नेपालको प्रजातान्त्रिक संघर्ष, संवैधानिक विकास र राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको भूमिका कुनै पनि अर्थमा सानो थिएन।
तर ऐतिहासिक योगदान मात्र पर्याप्त हुँदैन। त्यो योगदानलाई संस्थागत अनुशासन, वैचारिक स्पष्टता, आन्तरिक प्रजातन्त्र, स्वच्छ नेतृत्व र परिणाममुखी शासनमार्फत निरन्तर प्रमाणित गर्न सक्नुपर्छ। यही काममा नेपाली कांग्रेस कमजोर पर्दै गएको देखिन्छ।
जुनसुकै मुलुकमा पनि संघर्षरत प्रजातान्त्रिक दलका लागि केही महत्वपूर्ण व्यावहारिक पाठहरू छन्। पहिलो, दल व्यक्तिमा आधारित होइन, कार्यक्रममुखी हुनुपर्छ। प्रत्येक दल केही विश्वसनीय राष्ट्रिय प्राथमिकताका आधारमा चिनिनुपर्छ – जस्तै स्वतन्त्रता, राष्ट्रियता, प्रजातन्त्र, समाजबाद, संवैधानिकता, रोजगारी, शिक्षा, भ्रष्टाचार नियन्त्रण, वा सार्वजनिक सेवा।
दोस्रो, राष्ट्रिय प्रजातन्त्रको माग गर्नुअघि दलभित्र प्रजातान्त्रिक अभ्यास सुदृढ हुनुपर्छ। नियमित महाधिवेशन, पारदर्शी सदस्यता अभिलेख, खुला उम्मेदवार चयन, लेखापरीक्षित आर्थिक विवरण, र नेतृत्वमा कार्यकाल सीमा महत्वपूर्ण हुन्छन्। दोस्रो र तेस्रो पुस्ताका नेताहरू तयार गर्नुपर्छ। बलिया प्रजातान्त्रिक दलहरू एउटै ‘करिश्मटिक’ संस्थापक वा शीर्ष नेतामा निर्भर हुँदैनन्। उनीहरू नेतृत्वलाई निरन्तर उत्पादन गर्ने संस्था बनाउँछन्। त्यसका लागि प्रत्येक पार्टीले बलियो नीति एकाइ निर्माण गर्नुपर्छ।
यहाँ जर्मन दलहरू विशेष अध्ययनयोग्य छन्। उनीहरूले अनुसन्धान, पार्टी फाउन्डेसन, नागरिक शिक्षा र दीर्घकालीन वैचारिक प्रशिक्षणमा ठूलो लगानी गर्छन्। त्यस्तै हारलाई पनि प्रजातान्त्रिक वैधताको एउटा पाटो मान्नुपर्छ। इन्टरनेशनल आईडियाले विश्वव्यापी रूपमा प्रजातन्त्रको गुणस्तर घटिरहेको, विशेषगरी प्रतिनिधित्व र अधिकार दबाबमा परेको चेतावनी दिएको छ। त्यसैले पराजय स्वीकार गर्ने र शान्तिपूर्ण सत्ता हस्तान्तरणलाई सामान्य अभ्यास बनाउने दलहरू आज झन् मूल्यवान छन्।
नेपाली कांग्रेस सुरुमा सफल हुनुका ऐतिहासिक, वैचारिक र सामाजिक कारणहरू थिए। यसले इतिहास, वर्तमान र सुदूर भविष्यलाई जोडेर नेपालको प्रजातान्त्रिक संघर्षको अजेण्डामा आफ्नो गहिरो स्वामित्व स्थापित गरेको थियो। राणा-शासनको अन्त्य, शासकीय वैधताका निरन्तरताका लागि संवैधानिक राजतन्त्र, जनउत्तरदायी सरकारका लागि संसदीय प्रजातन्त्र, नागरिक स्वतन्त्रता तथा मौलिक अधिकार, र नयाँ संवैधानिक सुरुवातका लागि संविधानसभा सँग नेपाली कांग्रेसको नाम जोडिएको थियो।
नेपाली कांग्रेसको चारतारे झण्डामा अंकित चार ताराले राणा शासनले छेकबार गरेको नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारका चार महत्वपूर्ण आधार – वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार, हतियारविना शान्तिपूर्ण रूपमा भेला तथा सङ्गठित हुन पाउने अधिकार, सङ्घ–संस्था तथा सङ्गठन स्थापना र सञ्चालन गर्न पाउने अधिकार, तथा मुलुकभित्र जहाँसुकै स्वतन्त्र रूपमा आवतजावत गर्न र बसोबास गर्न पाउने अधिकार लाई प्रतिनिधित्व गर्दथे।
नेपाली कांग्रेसको प्रथम घोषणापत्रले क्रान्तिमा होमिन तत्पर नेपाली जनतालाई स्पष्ट आह्वान गर्दछ – ‘नेपाली कांग्रेस जुन समाजको निर्माण गर्न गइरहेको छ, त्यस समाजमा शोषणले कुनै स्थान पाउने छैन।’
कांग्रेसको ध्येय केवल शासन परिवर्तनमा सीमित छैन । यसको अभिलाषा ‘समानता र न्यायका आधारमा सम्पूर्ण समाजको पुनर्निर्माण’ गर्नु हो। घोषणापत्रको मूल विश्वास यही छ – ‘जबसम्म न्यायपूर्ण आधारमा समाजको पुनर्निर्माण भइसकेको हुँदैन, तबसम्म समाजको सर्वाङ्गीण विकास सर्वथा असम्भव छ।’ कांग्रेसको यही समाजवादी बीउ अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग जोडिएको हो।
निरंकुशताबाट बाहिर निस्कँदै गरेको समाजमा यी आदर्शहरूले कांग्रेसलाई त्यस्तो नैतिक अधिकार प्रदान गर्यो, जुन नयाँ दलहरूले धेरै पछिसम्म सहजै प्राप्त गर्न सकेनन्। कांग्रेससँग बी.पी. कोइरालाजस्ता शक्तिशाली संस्थापक नेता, विचारक र प्रतीक थिए जसले पार्टीलाई आफूजस्तै आधुनिक एवं स्वाभिमानी नेता तथा कार्यकर्ताको बलबाट राष्ट्रवाद, प्रजातान्त्रिक समाजवाद, संवैधानिकता र बहुलवादी राजनीतिसँग जोडेर केवल चुनावी संगठन नभई बृहत्तर उद्देश्य बोकेको राजनीतिक आन्दोलनका रूपमा स्थापित गरे। राणाहरूको स्वेच्छाचारी शासनविरुद्ध उभिएको कांग्रेस राणा खलकविरोधी थिएन।
राजाहरूसँग शक्ति-संघर्ष गरेको भए पनि नेपाली कांग्रेस मूलतः राजतन्त्रविरोधी थिएन । उसको संघर्ष प्रजातान्त्रिक तथा संवैधानिक शासन व्यवस्थाका पक्षमा केन्द्रित थियो। नजानेर होइन, मुलुकको सामर्थ्यलाई बुझेर हो। जननिर्वाचन राजनीति पूर्ण रूपमा परिपक्व हुनुअघि नै कांग्रेसले विद्यार्थी, ट्रेड युनियन, पेशाकर्मी, निर्वासित, स्थानीय अगुवा र प्रजातान्त्रिक कार्यकर्तासँग व्यापक सामाजिक सञ्जाल निर्माण गरिसकेको थियो । यसले उसलाई पहाड, तराई, सहर र प्रवाससम्म फैलायो।
अधिनायकवादविरुद्ध कांग्रेस निरन्तर र विश्वसनीय शक्ति देखियो। सन् १९५०–५१, १९५९, १९९० र २००६ का संघर्षहरूमा उसले ‘प्रजातन्त्र जोखिममा हुँदा हामीले प्रजातन्त्रका लागि लड्यौँ’ भन्ने नैतिक दाबी गर्न सक्थ्यो, र त्यसको ठूलो राजनीतिक अर्थ थियो।
राजतन्त्रको अधिनायकवाद वा क्रान्तिकारी कम्युनिज्म नचाहने मतदाताका लागि संवैधानिक राजतन्त्र तथा संसदीय व्यवस्था इतिहाँस तथा आधुनिकताको सम्मिश्रण मान्ने कांग्रेस एउटा सुरक्षित मध्यमार्गी प्रजातान्त्रिक केन्द्रका रूपमा देखा पर्यो। मुलुकमा अस्थिरता नचाहने, दिगो सामाजिक, राजनीतिक तथा आर्थिक विकासप्रति प्रतिबद्ध रहने, र राष्ट्रिय राजनीतिको वास्तविक शक्ति मुलुकका जनता नै हुनुपर्छ भन्ने विश्वास राख्ने जुनसुकै राजनीतिक दल मूलतः मध्यमार्गी नै हुन्छ। यस्तो मध्यमार्ग नियतिले होइन, नीतिले निर्धारण गर्छ। त्यो नीति नेपाली कांग्रेसमा थियो।
‘जय नेपाल’ को अभिवादन, स्वागतशील शैली, समतामूलक दृष्टिकोण तथा राष्ट्रवादी सोचले मुलुकभित्रका पहाड, तराई, हिमाल, पूर्व र पश्चिम, बाइसे र चौबिसे सबै क्षेत्र, जातजाति तथा समुदायहरुमा भावनात्मक स्पन्दन र राष्ट्रिय एकता निर्माण गर्न कुनै कसर बाँकी राखेन।
आफू हारेर पनि कांग्रेसले मुलुकको नेतृत्व गरेकै थियो। यही ऐतिहासिक योगदान, वैचारिक नेतृत्व, सामाजिक पहुँच, अधिनायकवादविरोधी विश्वसनीयता र मध्यमार्गी छविका कारण नेपाली कांग्रेसले प्रारम्भिक चरणमा व्यापक जनविश्वास, नैतिक वैधता र राष्ट्रिय नेतृत्वको स्थान प्राप्त गर्न सकेको थियो।

अहिलेको कांग्रेस बहकिएको कांग्रेस हो। यसका स्थापनाकालीन आदर्शहरू (जसलाई यस लेखमा ‘ब्रान्ड’ भनिएको छ) अब यसको मूल एजेन्डामा स्पष्ट देखिँदैनन्। कहिले यो दक्षिणपन्थी देखिन्छ, कहिले वामपन्थी। विस्तारवादी शक्तिहरूसँग यसको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने प्रश्नमा पनि स्पष्टता आउन निकै कठिन देखिएको छ। बी.पी. कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, के.पी. भट्टराईलगायत आदर्श नेताहरूको वैचारिक स्पन्दन अहिलेको कांग्रेसमा कमजोर हुँदै गएको छ। पार्टी उद्देश्यकेन्द्रितभन्दा सत्ताकेन्द्रित भएको मानिन्छ।
सन् १९९० पछि कांग्रेससँग प्रजातन्त्रले राम्रो शासन दिन सक्छ भन्ने देखाउने बारम्बार अवसर थिए, तर जनताले यसलाई क्रमशः गुटबन्दी, संरक्षणवाद, अस्थिरता र अभिजात्य मोलमोलाइसँग जोड्न थाले। नेतृत्वको वर्चस्व, उम्मेदवार चयनमा शक्ति केन्द्रको नियन्त्रण, ठूला तर निष्क्रिय संरचनाहरू र शीर्ष नेताहरू वरिपरिका साना घेराले निर्णय गर्ने प्रवृत्तिले आन्तरिक प्रजातन्त्रलाई कमजोर बनाएको छ।
नीतिगत बहस शिथिल छ। नेतृत्व-आश्रित संरक्षण सञ्जालहरू बलिया देखिन्छन्। युवा नेताहरू छन्, तर संस्थागत रूपमा पार्टीले पुस्तान्तरणलाई पार्टीको अनुहार, भाषा र प्राथमिकता पुनःपरिभाषित गर्ने पर्याप्त अवसर दिएको छैन। यसरी कांग्रेस कार्यक्रममुखी भन्दा प्रतिक्रियामुखी बन्दै गएको छ। आज धेरै मतदाताले सोधिरहेका छन्- प्रजातन्त्र केका लागि ? पार्टीले आफूलाई केही विश्वसनीय नीति-मिशन वरिपरि लगातार उभ्याउन सकेको छैन।
गठबन्धन राजनीतिले यसको पहिचान थप धमिलो बनाएको छ। यसको कामकारबाही स्पष्ट राष्ट्रिय दिशाको रचनाकारभन्दा बदलिँदो सत्ता समीकरणको हिस्सा जस्तो देखिन्छ। वैचारिक नवीकरणभन्दा गठबन्धन गणित नै कांग्रेसको नयाँ व्यवहारिक आदर्श बनेको देखिनु यसको वर्तमान संकटको सबैभन्दा गम्भीर संकेत हो।
यही दुर्दान्त नीतिका कारण नेपाली कांग्रेसमा आज स्थानीय तहको टोल समूहदेखि केन्द्रीय समितिसम्म स्थापनाकालीन आदर्श बिटुलिएको छ। पार्टीले तयार गरेका कार्यकर्ता प्रशिक्षणका सामग्रीहरू समेत कतिपय अवस्थामा हास्यास्पद लाग्छन्।
नेपाली कांग्रेसले विचार गर्नुपर्ने कुरा त्यति मात्र होइनन। जर्मनी, स्विडेन, न्युजिल्यान्ड वा ताइवानका कतिपय बलिया प्रजातान्त्रिक दलहरूसँग तुलना गर्दा नेपाली कांग्रेसमा अरू पनि केही आधारभूत कमजोरीहरू देखिन्छन्।
कांग्रेसको प्रजातान्त्रिक तथा राष्ट्रमुखी अपुताली बलियो भए पनि यसको वर्तमान नीतिगत पहिचान र शासन-दर्शन धमिलो छ। नेतृत्व विकास अझै संस्थागत प्रक्रियाभन्दा वरिष्ठ नेता र गुटहरूमा निर्भर देखिन्छ। उम्मेदवार चयनमा योग्यता, स्थानीय विश्वसनीयता र खुला प्रतिस्पर्धाभन्दा शक्ति केन्द्रको प्रभाव बढी देखिन्छ। जर्मन दल वा नर्डिक सामाजिक प्रजातान्त्रिक दलहरूजस्तो स्थायी नीति अनुसन्धान, थिङ्क-ट्याङ्क र वैचारिक प्रशिक्षणको संस्कृति कांग्रेसमा पर्याप्त विकसित भएको छैन।
महाधिवेशन र औपचारिक संरचना भए पनि वास्तविक निर्णय प्रक्रिया प्रायः केन्द्रित नै रहन्छ। युवा र महिलाको उपस्थिति देखिन्छ, तर एजेन्डा निर्धारण गर्ने वास्तविक शक्तिमा उनीहरूको प्रभाव पर्याप्त छैन। बलिया दलहरूले वर्षौँसम्म केही स्पष्ट राष्ट्रिय वाचा र नीति-सन्देशलाई निरन्तरता दिन्छन्, तर कांग्रेसको सन्देश प्रायः गठबन्धनको आवश्यकताअनुसार बदलिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा मतदाताले कांग्रेसलाई भ्रष्ट प्रणालीभित्र अनुभवी दल मात्र होइन, त्यसबाट नैतिक रूपमा फरक र सार्वजनिक हितप्रति प्रतिबद्ध शक्ति देख्न सक्नुपर्छ ।
तर अहिलेसम्म कांग्रेस त्यस्तो बन्न सकेको देखिँदैन। वर्तमानमा राष्ट्रियता, प्रजातन्त्र र समाजबाद मा कांग्रेसको विशेष पहिचान के हो? स्पष्ट छैन। जे छ त्यो नेपालका बाँकी दलहरु जस्तै नै हो। त्यसो भए कांग्रेस सँगै किन आबद्ध हुने? कांग्रेसलाई नै किन भोट हाल्ने त?
त्यसैले कांग्रेसको सबैभन्दा गहिरो त्रासदी इतिहास नै हो। इतिहाससँगको लज्जाबोध नै हो। यसले नेपालमा राष्ट्रियता तथा प्रजातन्त्र निर्माण गर्न ठूलो योगदान गर्यो तर आफूलाई पर्याप्त रूपमा प्रजातान्त्रिक बनाउन सकेन। राष्ट्रवादको माला जप्यो, तर राष्ट्रको मुलभूत चरित्रलाइ स्वीकार गर्न सकेन। कृषि र आधारभूत शिक्षा विना समाजवाद टिक्न सक्ने अवस्था पनि थिएन।
यही ऐतिहासिक वैधता र आधुनिक वैधताबीचको आधारभूत भिन्नता हो। ऐतिहासिक वैधताले भन्छ, ‘हामी प्रजातन्त्रका लागि लड्यौँ’ । आधुनिक वैधताले भन्छ ‘हामी पार्टीभित्र प्रजातान्त्रिक अभ्यास गर्छौँ, सक्षम उम्मेदवार छान्छौँ, स्वच्छ शासन गर्छौँ, र नागरिकका समस्या समाधान गर्छौँ।’ कांग्रेसको पुनःउत्थानका लागि खुला र विश्वसनीय सदस्यता प्रणाली, पारदर्शी स्थानीय प्राइमरी वा सदस्यमा आधारित उम्मेदवार चयन प्रणाली, शीर्ष कार्यकारी पदहरूमा कार्यकाल सीमा, गम्भीर नीति-विश्लेषण प्रणाली, सार्वजनिक आर्थिक पारदर्शिता, वास्तविक शक्ति दिने युवा नेतृत्व व्यवस्था र रोजगारी, शिक्षा, स्वास्थ्य, संघीय सेवा प्रवाह तथा भ्रष्टाचार नियन्त्रणमा आधारित स्पष्ट राष्ट्रिय कार्यक्रम तुरुन्तै आवश्यक छ।
कांग्रेसको अझै व्यापक आधार छ, तर सामाजिक रूपमा जरा गाडेको, उद्देश्य-प्रेरित र प्रतिनिधिमूलक पार्टीका रूपमा यो कमजोर हुँदै गएको छ। यसमा विभिन्न समुदाय र क्षेत्रका सदस्य अझै छन्, तर भर्ती र नेतृत्वको प्रमुख आधार क्रमशः पैसा, गुटप्रति निष्ठा, चुनावी बल, पारिवारिक सञ्जाल र शक्तिसँगको पहुँचमा आधारित देखिन्छ।
यो सामाजिक कार्यकर्ता तथा पार्टीमा लामो अवधिसम्म निष्ठापूर्वक काम गरेका स्थानीय नेताहरूको पुरानो कांग्रेस आदर्शभन्दा धेरै फरक अवस्था हो। समस्या पूँजीपति, व्यापारी, ठेकेदार वा स्थानीय प्रभावशाली मानिसहरू राजनीतिमा आउनु मात्र होइन। प्रजातन्त्रमा उनीहरूलाई पनि भाग लिने अधिकार हुन्छ।
वास्तविक समस्या तब सुरु हुन्छ जब उनीहरूले सार्वजनिक भावना बोकेको सामाजिक नेतृत्वलाई विस्थापित गर्छन् र चुनावी खर्च जुटाउन, बल परिचालन गर्न वा गुटीय नेताहरूलाई सेवा गर्न सक्ने भएकाले पार्टीका प्राथमिक उम्मेदवार बन्न थाल्छन्। यही प्रवृत्तिबाट मुक्त भएर संरक्षणवादी राजनीतिसँग नैतिक विच्छेद गर्न सके मात्र कांग्रेसले आफ्नो ऐतिहासिक भूमिकालाई आधुनिक वैधतामा रूपान्तरण गर्न सक्छ।
अहिलेको प्रवृत्तिले पार्टीमा तीनवटा खतरनाक विशेषता जन्माउँछ। नैतिक अधिकारभन्दा पैसा महत्वपूर्ण हुन थाल्छ। यदि उम्मेदवार मनोनयन चुनावी खर्च र गुटबन्दीको मोलमोलाइमा निर्भर भयो भने किसान नेता, शिक्षक, समाजसेवी, सेवानिवृत्त कर्मचारी, इमानदार प्रहरी वा सैनिक अधिकारी, प्राज्ञिक व्यक्ति वा स्थानीय तहमा काम गर्ने जनतासँग उठबस गरी अघि बढेको कार्यकर्ता प्रतिस्पर्धाबाट बाहिरिन पुग्छन्।
नीतिगत सोचबाट जीवन्त अनुभव हराउँछ। पार्टीले कृषि, श्रम, आप्रवासन-प्रभावित परिवार, प्रशासन, सुरक्षा सेवा, शिक्षा, स्वास्थ्य, कानुन, स्थानीय शासन र पेशागत जीवनबाट मानिसहरूलाई नेतृत्वमा ल्याउन सकेन भने उसका नीति अमूर्त नारामा सीमित हुन्छन् र उसले समाजलाई भित्रबाट सुन्न छोड्छ।
त्यसैगरी, पार्टी सामाजिक रूपमा साँघुरो हुन्छ तर आफूलाई राष्ट्रिय भनेर प्रस्तुत गरिरहन्छ। हरेक जिल्लामा झण्डा हुन सक्छ तर वास्तविक निर्णय गर्ने वर्ग वरिष्ठ नेता, वित्तीय सहयोगी, दलाल, ठेकेदार, आफन्त र गुट व्यवस्थापकहरूको सानो घेरामा सीमित हुन्छ।
यसरी एउटा ऐतिहासिक प्रजातान्त्रिक दल सामाजिक आन्दोलन होइन, चुनावी कार्टेलजस्तो बन्न पुग्छ। नेपाली कांग्रेसभित्र यस्ता ठोस उदाहरण छन्। त्यो उदाहरणले एउटा व्यापक रोगलाई समेट्छ । यो रोग लागेपछि उम्मेदवार चयनलाई उत्कृष्ट सामाजिक प्रतिनिधि खोज्ने निष्पक्ष प्रक्रिया होइन, गुटीय शक्ति केन्द्रहरूले अवसर बाँड्ने प्रक्रियाका रूपमा हेरिन्छ।
आफ्नो पहिलेको स्वरूपसँग तुलना गर्दा आजको नेपाली कांग्रेसले केही महत्वपूर्ण सामाजिक आधारहरू गुमाएको देखिन्छ। जातीय विभेद, भूमिगत अन्याय, लैंगिक बहिष्करण, शिक्षा र स्वास्थ्यको असमानता, माटामा आश्रितहरूको शोषण वा स्थानीय भ्रष्टाचारविरुद्ध लडेर राजनीतिमा आउने सामाजिक सुधारकहरू कमजोर हुँदै गएका छन्।
शिक्षक, वडास्तरका आयोजक, सहकारी नेता, किसान नेता, ट्रेड युनियनकर्मी, स्थानीय वकिल, स्वास्थ्यकर्मी र नागरिक स्वयंसेवकजस्ता दैनिक राज्यलाई भित्रबाट चिन्ने ‘ग्रासरुट्स’ का सार्वजनिक सेवकहरू पनि पार्टीको केन्द्रमा देखिन छाडेका छन्।
अर्थशास्त्री, इन्जिनियर, चिकित्सक, योजनाकार, प्राज्ञिक, सेवानिवृत्त प्रशासक, सुरक्षा पेशाकर्मी र नीति विशेषज्ञजस्ता पेशागत राष्ट्रभक्तहरूले पार्टीलाई गम्भीर शासन क्षमता दिन सक्थे, तर उनीहरूको भूमिका पर्याप्त छैन। हरेक समाजमा धनी नभए पनि विश्वास कमाएका नैतिक स्थानीय अगुवाहरू हुन्छन्।
तर अहिले धेरै ठाउँमा दलहरूले विश्वासिला मानिसभन्दा खर्च गर्न, धम्क्याउन वा चलखेल गर्न सक्नेलाई प्राथमिकता दिएको देखिन्छ। पुरानो कांग्रेस कार्यकर्तासँग प्रजातन्त्र, स्वतन्त्रता, समाजवाद र अधिनायकवादविरोधको मिशन थियो । नयाँ राजनीतिक अपरेटरको लक्ष्य भने प्रायः टिकट, ठेक्का, सरुवा, नियुक्ति र संरक्षणमा सीमित हुन थालेको छ। यही कारण कांग्रेस सामाजिक आन्दोलनको चरित्रबाट टाढा हुँदै सत्ताकेन्द्रित संगठनजस्तो देखिन थालेको छ।
कांग्रेस ‘थाकेका मानिसहरू’ को पार्टी हुन पुगेको आलोचकहरु भन्दछन्। एउटा पार्टी त्यतिबेला थाकेको मानिन्छ, जब त्यसका वरिष्ठ नेताहरू उमेरले मात्र होइन, कल्पनाशक्तिले पनि बूढा हुन थाल्छन्। उमेर आफैँ समस्या होइन । पाका नेताहरू पनि बुद्धिमान, स्वच्छ र गहिरो रूपमा प्रजातान्त्रिक हुन सक्छन्।
समस्या त नवीकरणबिनाको निरन्तर दोहोर्याइने प्रवृत्ति हो – उही अनुहार, उही गुट, उही संरक्षण सञ्जाल, उही बहाना, उही गठबन्धन खेल र उही जवाफदेहिताको अभाव।
यसै कारण नेपाली कांग्रेसले नेपालको जीवित समाजलाई पर्याप्त रूपमा आत्मसात् गर्न सकेको देखिँदैन। महिला, दलित, जनजाति, मधेसी, किसान, साना उद्यमी, शिक्षक, नर्स, स्थानीय नवप्रवर्तक, जलवायु-प्रभावित समुदाय, युवा, सेवानिवृत्त सार्वजनिक कर्मचारी र वास्तविक क्षेत्रीय ज्ञान भएका पेशाकर्मीहरूलाई पार्टीको केन्द्रमा ल्याउन नसक्दा कांग्रेस समाजको बदलिँदो स्पन्दनबाट टाढिँदै गएको छ।
पार्टीको समस्या केवल वैचारिक पतन होइन । यो समाजशास्त्रीय पतन पनि हो। प्रजातान्त्रिक पार्टी समाजको ऐना हुनुपर्छ। नेपाली कांग्रेसले कुनै समय धेरै सामाजिक समूहका प्रजातान्त्रिक आकांक्षालाई प्रतिबिम्बित गर्थ्यो।
तर आज धेरै पटक यसले समाजको जीवित आकांक्षाभन्दा नेपालको राजनीतिक अर्थतन्त्रका विकृत प्रोत्साहनहरू प्रतिबिम्बित गरेको देखिन्छ – पैसा, ठेक्का, गुटमुखी निष्ठा, पहुँच, पारिवारिक सम्बन्ध र स्थानीय दबाब सिर्जना गर्ने क्षमता। त्यसैले धेरै ऊर्जाशील अभियन्ताहरूलाई कांग्रेस अब पुरानो अर्थमा व्यापक सामाजिक आधार भएको पार्टी रहेन भन्ने लाग्न थालेको छ।
उपरोक्त समस्याहरुको उपचार नेपाली कांग्रेसले फेरि समाजबाट नै नेतृत्व खोज्ने र तयार गर्ने प्रक्रियाबाट सुरु गर्नुपर्छ। मानिसहरूलाई कांग्रेसमा बोलाउनु वा संलग्न गर्नु मात्र पर्याप्त छैन । उनीहरूलाई उम्मेदवारी, नीति निर्माण र नेतृत्वको वास्तविक बाटो दिनुपर्छ। समाजसेवा तथा स्थानीय भूमिका निर्वाह गरेका किसान र सहकारी नेता, शिक्षक र प्राध्यापक, सेवानिवृत्त कर्मचारी, स्वच्छ अभिलेख भएका पूर्वसेना र प्रहरी अधिकारी, चिकित्सक, इन्जिनियर, वकिल, अर्थशास्त्री, योजनाकार, आप्रवासी मजदुरका परिवार, दलित र जनजाति सामाजिक कार्यकर्ता, महिला अधिकारकर्मी, स्थानीय भ्रष्टाचारविरोधी अभियन्ता, युवा उद्यमी, जलवायु र विपद् क्षेत्रमा काम गर्ने व्यक्ति, तथा नगरपालिका र गाउँमा वास्तविक समस्या समाधान गरेका नागरिकहरूलाई पार्टीको केन्द्रमा ल्याउने विशेष भर्ती र नेतृत्व मार्ग सिर्जना गर्नुपर्छ।
तर भर्ती मात्र पर्याप्त हुँदैन। पार्टीले स्पष्ट रूपमा मान्नुपर्छ पैसाले राजनीति सहयोग गर्न सक्छ, तर पैसाले राजनीति छान्न पाउँदैन। नेपाली कांग्रेस तब मात्र पुनःउत्थान हुन सक्छ, जब यसले टिकट खोज्नेहरूको क्लबजस्तो व्यवहार गर्न छोडेर फेरि सार्वजनिक सेवाको संगठन बन्नेछ।
यसको भविष्य अर्को चलाख गठबन्धनमा भन्दा नैतिक रूपमा गम्भीर, सामाजिक रूपमा जरा गाडेका र सक्षम मानिसहरूलाई पार्टीको केन्द्रमा फर्काउन सक्छ कि सक्दैन भन्ने कुरामा बढी निर्भर छ।
म राजनीतिक क्षेत्रको मानिस होइन । त्यतातिरको चाहना पनि छैन। तर पनि केही वर्षअघि जब मेरी जेठी छोरी हाई स्कूल सकेर विदामा थिइन्, मैले उनलाई बीपी कोइरालाको ‘आत्मवृत्तान्त’ पढ्न प्रेरित गरेको थिएँ।
त्यो पढिसकेपछि उनलाई त्यसको पुस्तक समीक्षा गर्न पनि उनलाई उत्साहित गराएँ। अंग्रेजीमा गरिएको त्यो समिक्षा छापिएको पनि छ। त्यस पुस्तकको सबैभन्दा ठूलो शक्ति त्यसको इमानदार आत्मस्वीकृति हो। एउटा साधारण मानिसले आफ्नो मुलुकका लागि के गर्न सक्छ? कति गर्न सक्छ? मुलुकप्रतिको प्रतिबद्धता भनेको के हो? यसलाई कसरी पूरा गरिन्छ? यो किताबले देखाउन सक्छ।
बीपीले आफूलाई पूर्ण वा त्रुटिरहित व्यक्तिका रूपमा प्रस्तुत गर्दैनन्। उनले आफ्नो समय, साथीहरू, विरोधीहरू, दरबार, भारत, अन्तर्राष्ट्रिय शक्ति-सन्तुलन र नेपाली समाजको अवस्थालाई जसरी सम्झन्छन्, त्यसमा आत्मविश्वास पनि छ र आत्मपरीक्षण पनि छ।
त्यसैले यो पुस्तक केवल संस्मरण होइन। यो नेपाली कांग्रेसको स्थापनाकालीन आदर्शको लडाइँको वृत्तान्त मात्र होइन, नेपाली प्रजातन्त्रको नैतिक आधार बुझाउने ऐतिहासिक दस्तावेज पनि हो। यो नेपालको आधुनिक राजनीतिक चेतनाको एउटा सर्वकालिक सन्दर्भग्रन्थ पनि हो।
मैले त्यसै भनेको होइन। त्यस पुस्तकबाट उनले जे पाइन् त्यो अन्यत्र कतैबाट सजिलै पाउन सकिँदैन। मेरो प्रश्न के हो भने, कांग्रेसको नाममा राजनीति गर्ने वा गराउनेमध्ये कतिले यो पुस्तक पढेका छन्, वा आफ्ना युवा छोरा–छोरीलाई पढ्न प्रेरित गरेका छन्?
नेपाली कांग्रेसका लागि यो आत्मवृत्तान्त विशेष महत्वको छ। यसले कांग्रेसको स्थापनाकालीन आदर्श सम्झाउँछ। आजको कांग्रेसले यदि आफ्ना संस्थापक आदर्शहरूबाट दूरी बनाएको छ भने ‘आत्मवृत्तान्त’ त्यसलाई फर्केर हेर्न बाध्य पार्ने ऐना हो। बीपी कोइरालाको राजनीतिक दृष्टिमा सत्ता साध्य होइन, साधन थियो ।
नेतृत्व सुविधा होइन, जिम्मेवारी थियो । प्रजातन्त्र केवल चुनाव होइन, जनताको स्वाभिमान, अधिकार र सहभागिताको व्यवस्था थियो। तीनवटा कुरा यथार्थ हुन् – राजनीति चरित्रबिना टिक्दैन, राष्ट्रियता आत्मसमर्पणबाट होइन, विवेकपूर्ण स्वाभिमानबाट जोगिन्छ, र प्रजातान्त्रिक संघर्ष केवल संस्थागत परिवर्तन होइन, नैतिक साहसको यात्रा पनि हो।
त्यसैले आत्मवृत्तान्त बीपी कोइरालाको जीवनकथा मात्र नभएर नेपाली प्रजातन्त्रको आत्मकथा पनि हो। मलाई आज पनि अटूट विश्वास छ कि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका लागि बी.पी. कोइराला स्वयम् सबैभन्दा ठूलो सन्दर्भ-पुस्तक हुन्। बीपीको विचार, चरित्र र प्रजातान्त्रिक आदर्शसँगको यो सन्दर्भ हरायो भने नेपाली कांग्रेसले ऐतिहासिक कांग्रेसको विरासत थाम्न सक्दैन।
(प्रजातान्त्रिक विचार समाजद्वारा समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका विषयमा आयोजित एक कार्यक्रममा प्रस्तुत दृष्टिकोण)
प्रतिक्रिया 4