+
+
Shares

कांग्रेस इतर समूहले केन्द्रीय निर्वाचन समितिलाई बुझायो क्रियाशील सदस्यताको विवरण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि संकलित क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।
  • संयोजक किरणराज शर्मा पौडेलले कूल क्रियाशील सदस्यता सात लाख ८३ हजार ८३६ रहेको, जसमध्ये पाँच लाख ७३ हजार २६९ नवीकरण र दुई लाख १० हजार ६६७ नयाँ रहेको बताए ।
  • इतर समूहले १५ असोजमा देशभर वडा अधिवेशन गर्ने र २१–२३ मंसिरमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ ।

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि गठन गरेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।

महराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर इतर समूहको सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोेख्रेललाई क्रियाशील सदस्यताको विवरण हस्तान्तरण गरेका हुन् ।

९ असोजसम्म वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाउँदै संयोजक पौडेलले कूल सदस्य संख्या सात लाख ८३ हजार ८३६ रहेको जानकारी दिए ।

जसमध्ये पाँच लाख ७३ हजार २६९ पुरानो सदस्यता नवीकरण र दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता रहेको उनले बताए । संयोकज पौडेलले शनिबारदेखि नयाँ क्रियाशील सदस्यता अनलाइनमार्फत वितरण गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।

१४ औं महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवाको समूहले जारी कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।

उक्त समूहले २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने गरी कार्यतालिका ल्याएको छ । चुनदेवी सम्पर्क कार्यालयका अनुसार इतर समूहले १५ असोजमा देशभरका वडाहरूमा वडा अधिवेशन गर्दैछ ।

१५ औं महाधिवेशनका लागि इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरेको छ । समितिले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ ।

इतर समूहले सदस्यता वितरणका लागि ‘वेबसाइट’ पनि ‘लञ्च’ गरेको छ । ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ का संयोजक डा. शशांक कोइरालाले ‘वेबसाइट’ पनि ‘लञ्च’ गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?