News Summary
Generated by OK AI. Editorially reviewed.- कान्ति लोकपथमा खसेको पहिरो हटाएपछि रोकिएका सवारीसाधनलाई शनिबार दिउँसो गन्तव्यतर्फ पठाइएको छ।
- लगातारको वर्षापछि बिर्खेधारा, पाङ्दुर र टाकुर्चेमा पहिरो गएर शुक्रबार दिनभर कान्ति लोकपथमा सवारीसाधन सञ्चालन हुन सकेको थिएन।
- भोलिसम्म भारी वर्षाको जोखिम देखिएकाले जिल्ला प्रशासन कार्यालयले रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
१० असोज, ललितपुर । कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ ।
यद्यपि जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको कान्ति लोकपथ आयोजनाले जनाएको छ ।
लगातारको वर्षापछि कान्ति लोकपथको बिर्खेधारा, पाङ्दुर र टाकुर्चेमा पहिरो गएपछि शुक्रबार दिनभरी नै सवारीसाधन सञ्चालन हुन सकेको थिएन । शनिबार बिहानैदेखि पहिरो पन्छाएर दिउँसोपछि रोकिएका सबै सवारीसाधन गन्तव्यतर्फ पठाइएको आयोजनाका सुपरभाइजर दीपक घिमिरेले जानकारी दिए ।
मौसमविद्ले भोलिसम्म नै भारी वर्षाको जोखिम औँल्याएकाले जिल्ला प्रशासन कार्यालयले रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । बिहीबारदेखि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको ललितपुर जिल्ला प्रशासनले शुक्रबार दिउँसोसमेत सवारी सञ्चालनमा रोक लगाएको थियो ।
रातको समयमा जोखिम हुने भएपछि काठमाडौँबाट छुटेका सवारीसाधनलाई टीकाभैरवबाट उता जान रोक लगाइएको छ भने मकवानपुरबाट आउने सवारीसाधनलाई चौगडामै रोकिएको प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेले बताए ।
सुपरभाइजर घिमिरेका अनुसार कान्ति लोकपथको २७ ठाउँ जोखिमयुक्त क्षेत्र मानिएको छ । त्यसमध्ये भैँसेखोलादेखि बगुवासम्म विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको उनले जानकारी दिए ।
‘भैँसे खोला, बिर्खेधारा, नयाँगाउँ, कार्कीबास, टाकुर्चे, पाङदुर, तामा खानी, काल्चे, माल्टा दोबाटोलगायत विभिन्न २७ ठाउँमा पहिरोको उच्च जोखिम छ,’ उनले भने ।
अवरोध भएको सडकखण्डमा पहिरो हटाउनका लागि स्काभेटर तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । रासस
प्रतिक्रिया 4