+
+
Shares

रुसले युद्धमोर्चामा ६०० वर्षअघि मृत्यु भएका राजकुमारको अवशेष किन पठाइरहेको छ ?

सन् १३८० मा कुलिकोभोको युद्धमा विजय हासिल गरेका डोन्स्कोयलाई रुसमा महत्वपूर्ण सैन्य प्रतीकका रूपमा सम्मान गरिन्छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १९:२३

पूर्वी युक्रेनको अग्रपंक्तिमा रहेका रुसी सैनिकहरू अर्को हिउँदका लागि तयारी गरिरहेका बेला उनीहरूलाई ६ सय वर्षभन्दा पुरानो एउटा असामान्य ‘सहयोग’ पठाइएको छ।

रुसले मस्कोका लागि युद्ध लडेका मध्ययुगीन योद्धा राजकुमार दिमित्री डोन्स्कोयका अवशेषको एक टुक्रा युक्रेनको युद्धभूमिमा पठाएको हो। सन् १३८० मा कुलिकोभोको युद्धमा विजय हासिल गरेका डोन्स्कोयलाई रुसमा महत्वपूर्ण सैन्य प्रतीकका रूपमा सम्मान गरिन्छ।

उनको दाहिने हातको अवशेषको एक टुक्रा सेप्टेम्बरको सुरुवातमा अग्रपंक्तिमा पठाइएको थियो। अहिले उक्त अवशेष रुसी नियन्त्रणमा रहेका युक्रेनका विभिन्न सैन्य शिविरमा लैजाने गरिएको छ।

रुसी अर्थोडक्स चर्चअन्तर्गतको मस्को प्याट्रिआर्केटको सैन्य विभागले ‘सन्त कमान्डर’ डोन्स्कोय रुसी सैनिकसँग अदृश्य रूपमा ‘काँधमा काँध मिलाएर’ उभिने बताएको छ। चर्चका अनुसार कुलिकोभोको युद्धमा तरबार चलाउने त्यही दाहिने हातको अवशेष सैनिकसमक्ष लगिएको हो।

धार्मिक अवशेषलाई युद्धभूमिमा पठाउने अभ्यास अनौठो लाग्न सक्छ। तर सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता रुसले युद्धमा धार्मिक प्रतीकवादलाई समेत प्रयोग गर्दै आएको छ।

यसले रुसको युद्धलाई ‘धार्मिक रूपमा उचित’ र ईश्वरको समर्थन प्राप्त भएको देखाउने प्रयासका रूपमा विश्लेषण गरिएको छ। यस क्रममा क्रेमलिन र रुसी अर्थोडक्स चर्चबीचको सम्बन्ध पनि थप नजिकिएको विज्ञहरूको भनाइ छ।

फोर्डहम विश्वविद्यालयको अर्थोडक्स क्रिस्चियन स्टडिज सेन्टरका धार्मिक अध्येता सर्गेई चाप्निनले चर्च र राज्यबीचको सम्बन्ध यति नजिकिएको बताएका छन् कि उनीहरूलाई छुट्याउन कठिन हुने अवस्था आएको उनको भनाइ छ।

‘युद्धका लागि जनमत परिचालन गर्ने मिथक’

अर्थोडक्स इसाई परम्परामा धार्मिक अवशेषलाई सैनिकसम्म पुर्‍याउने अभ्यास पुरानो हो। तर चाप्निनका अनुसार पवित्र र भौतिक वस्तुको संयोजनले मानिसको ध्यान आकर्षित गर्ने भएकाले यसको प्रचारात्मक प्रयोग पनि हुन सक्छ।

डोन्स्कोयको अवशेषले समकालीन राजनीतिक सन्देशसमेत बोकेको विज्ञहरूको भनाइ छ।

चाप्निनका अनुसार डोन्स्कोय स्वयं आक्रमणकारी नभई आफ्नो मातृभूमिका रक्षकका रूपमा प्रस्तुत गरिन्छन्। त्यसैले रुसी सरकारको दृष्टिकोणबाट उनीहरूको प्रयोगमार्फत रुस आक्रमणकारी नभई आफ्नो भूभागको रक्षा गरिरहेको सन्देश दिन खोजिएको हुनसक्छ।

उनले यसलाई ‘युद्धका लागि जनमत परिचालन गर्ने मिथक’ भनेका छन्।

रुसमा स्थापित यस्ता कथाहरूले विभिन्न ऐतिहासिक कालखण्डलाई जोडेर आम मानिसको चेतनामा प्रभाव पार्न सक्ने उनको भनाइ छ। धार्मिक अवशेषलाई समेत ‘जादुई वस्तु’का रूपमा प्रस्तुत गरिएको उनले बताए।

रुसी नियन्त्रणमा रहेका डोनेट्स्क र मारिउपोल क्षेत्रका अर्थोडक्स धार्मिक नेता मेट्रोपोलिटन भ्लादिमिरले डोन्स्कोयको अवशेषले सैनिक र सर्वसाधारणलाई ‘आध्यात्मिक तथा भौतिक शक्ति परिचालन गर्न’ र ‘शत्रुमाथि विजय हासिल गर्न’ सहयोग गर्ने बताएका छन्।

डोन्स्कोय युक्रेन युद्धमा रुसले प्रयोग गरेको पहिलो सैन्य सन्त भने होइनन्। यसअघि मध्ययुगीन शासक तथा रुसी सैन्य गौरवका प्रतीक अलेक्जेन्डर नेभ्स्कीका अवशेषसमेत सैनिकसम्म पुर्‍याइएको थियो।

डोन्स्कोयका अवशेष युद्धभूमिमा पठाउने समय पनि महत्वपूर्ण मानिएको छ। अगस्टमा क्रेमलिनस्थित आर्कएन्जेल क्याथेड्रलमा पुनर्स्थापना कार्यका क्रममा उनका अवशेष फेला परेका थिए। यसअघि नेभ्स्कीका अवशेष हराएको भन्ने अपुष्ट रिपोर्ट सार्वजनिक भएको केही सातापछि डोन्स्कोयका अवशेष भेटिएका थिए।

राष्ट्रपति भ्लादिमिर पुटिनले अवशेष भेटिनुलाई ‘अत्यन्तै अद्वितीय’ र ‘अद्भुत खोज’ भनेका थिए। रुसी अर्थोडक्स चर्चका प्रमुख प्याट्रिआर्क किरिलले यसलाई ‘ईश्वरको विशेष संकेत’का रूपमा व्याख्या गरेका थिए।

तर मस्कोमा जन्मिएका अर्थोडक्स पादरी तथा इतिहासकार अलेक्जेन्डर जनेमोनेट्सले भने अवशेषको खोजलाई इसाई धर्मसँग जोड्न नमिल्ने बताएका छन्।

उनका अनुसार यो ‘देशभक्तिपूर्ण’ उद्देश्यका लागि इसाई धर्म र चर्चको प्रयोग हो। उनले राज्यको बलियो समर्थन पाउने तर सक्रिय उपासकको संख्या तुलनात्मक रूपमा कम रहेको चर्चमा राज्यसँगको स्वार्थ मिल्ने गरेको दाबी गरेका छन्।

‘हामी रुसी हौँ, ईश्वर हामीसँग हुनुहुन्छ’

धार्मिक अवशेषको प्रयोगलाई केहीले राजनीतिक उद्देश्यसँग जोडेर हेरे पनि युद्धको अग्रपंक्तिमा रहेका धेरै सैनिकले भने कठिन परिस्थितिमा धर्मतर्फ फर्किएको बताएका छन्।

युक्रेनमा लडेका एक पूर्वरुसी सैनिकले सीएनएनसँग भनेका छन्, ‘सबै कुरा राम्रो हुँदा हामीमध्ये सबैले ईश्वरसँग कुरा गर्दैनौँ, तर खराब हुँदा सबैले ईश्वरसँग कुरा गर्छन्।’

उनका अनुसार सैनिकहरूले उपलब्ध सामग्रीबाट अस्थायी चर्च बनाउने, हरेक सैन्य अभियानअघि प्रार्थना गर्ने र पादरीहरूले सैन्य इकाइ तथा अस्पतालमा नियमित भेटघाट गर्ने गरेका छन्।

जापोरिजिया क्षेत्रमा हाल कार्यरत एक रुसी सैनिकले पनि पादरीसँग कुरा गर्ने, प्रार्थना गर्ने वा पवित्र वस्तु छुने अवसरलाई ‘गम्भीर नैतिक समर्थन’का रूपमा व्याख्या गरेका छन्।

युद्ध पाँचौँ वर्षमा प्रवेश गर्दा सैनिकहरूमा तनाव बढिरहेको उनीहरूको भनाइ छ। डोनबासमा रहेका एक रुसी कमान्डरले सीएनएनसँग समग्र अवस्था तनावपूर्ण रहेको र समय बित्दै जाँदा झन् खराब हुँदै गएको बताएका छन्।

सैनिकहरूले आफ्नो धार्मिक विश्वासबारे नाम नखुलाउने सर्तमा कुरा गरेका थिए।

रुसी राज्य सञ्चालित सर्वेक्षण संस्था भीसीआईओएमको २०२६ को टेलिफोन सर्वेक्षणअनुसार करिब दुई तिहाइ रुसी नागरिक आफूलाई अर्थोडक्स इसाई मान्छन्। १५ वर्षअघि यस्तो संख्या करिब ८० प्रतिशत थियो।

तर केही पादरी तथा धार्मिक अध्येताहरूका अनुसार रुसमा बप्तिस्मा लिएका अर्थोडक्स इसाईमध्ये करिब २ प्रतिशतले मात्रै नियमित रूपमा धार्मिक अभ्यास गर्छन्।

चर्च र राज्यबीचको सम्बन्ध

सेप्टेम्बरमा रुसका चार सहरमा दक्षिणपन्थी तथा राष्ट्रवादी समूहको समर्थनमा आयोजित धार्मिक जुलुसमा ठूलो सहभागिता देखिएको थियो। आधिकारिक तथ्यांकअनुसार मस्कोमा मात्रै एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए।

मस्कोमा प्याट्रिआर्क किरिलको नेतृत्वमा भएको जुलुसमा डोन्स्कोयको अवशेषको एक टुक्रासमेत बोकेर हिँडाइएको थियो।

इतिहासकार तथा धार्मिक अध्येता कोन्स्टान्टिन मिखाइलोभले भने उक्त सहभागिता १४ करोड ५० लाखभन्दा बढी जनसंख्या भएको देशका लागि ‘समुद्रमा एक थोपा’ जस्तै भएको बताएका छन्। उनका अनुसार राज्य र चर्चको चाहनाविपरीत रुसी समाज अझै पनि ठूलो हदसम्म धर्मनिरपेक्ष छ।

मिखाइलोभका अनुसार आफ्नो प्रभाव विस्तार गर्न चर्चले क्रेमलिनबाट आर्थिक तथा राजनीतिक समर्थन पाउँछ भने बदलामा चर्चले राज्यका कथ्यलाई समर्थन गरेर क्रेमलिनलाई वैधता प्रदान गर्छ। उनले यसलाई एकअर्कालाई बलियो बनाउने चक्रका रूपमा व्याख्या गरेका छन्।

यसै क्रममा युद्धको अग्रपंक्तिमा सैन्य पादरीहरूको संख्या पनि बढेको बताइएको छ।

तर चर्चभित्रैका आलोचकहरूले सैनिकलाई पादरीहरूले कस्तो प्रकारको सहयोग गर्नुपर्छ भन्ने प्रश्न उठाएका छन्।

रुसी पादरी ग्रिगोरी मिख्नोभ–भाइटेन्कोले सैनिक पोसाकमा रहेका मानिससहित सबैलाई आध्यात्मिक सहयोग आवश्यक भए पनि उनीहरूलाई भ्रममा पार्ने काम गर्न नहुने बताएका छन्।

‘सैनिक मरे सबै पाप पखालिन्छ’ भन्ने चर्चको भनाइ

रुसी अर्थोडक्स चर्चले भने युद्धमा सैनिकको मृत्युबारे फरक धारणा राख्दै आएको छ।

सन् २०२२ मा पुटिनले आंशिक सैनिक परिचालनको घोषणा गरेको केही दिनपछि प्याट्रिआर्क किरिलले सैन्य कर्तव्य पूरा गर्ने क्रममा मृत्यु हुने सैनिकले यस्तो बलिदान दिएको बताएका थिए, जसले ‘सबै पाप पखाल्ने’ उनको भनाइ थियो।

युक्रेनले सन् २०१९ मा रुसी अर्थोडक्स चर्चबाट औपचारिक रूपमा अलग हुँदै स्वतन्त्र अर्थोडक्स चर्च स्थापना गरेको थियो। विश्वव्यापी अर्थोडक्स चर्चका प्रमुख कन्स्टान्टिनोपलका बार्थोलोम्यु प्रथमले युक्रेनको स्वतन्त्र अर्थोडक्स चर्चलाई मान्यता दिएका थिए।

रुसी पादरी मिख्नोभ–भाइटेन्कोका अनुसार रुस र युक्रेन दुवैमा अर्थोडक्स इसाई जनसंख्याको ठूलो हिस्सा छन्। उनले सन् २०१४ मा मस्कोले क्रिमिया गाभेपछि रुसी अर्थोडक्स चर्च छाडेका थिए।

उनका अनुसार संस्थागत चर्चले ‘आफ्नै सन्तानलाई एकअर्काको हत्या गर्न आशीर्वाद’ दिइरहेको अवस्था देखिएको छ।

फोर्डहम विश्वविद्यालयका चाप्निनले यसलाई अर्थोडक्स परम्परामा हजारौँ वर्षदेखि बुझिँदै आएको शहादतको अवधारणाबाट विचलन भएको बताएका छन्। उनका अनुसार राज्यको प्रचारात्मक उद्देश्यको तुलनामा सुसमाचारको महत्व गौण बनाइएको छ।

तर युद्धभूमिमा सीएनएनले कुरा गरेका सबै सैनिकले धार्मिक अवशेषलाई अर्थपूर्ण सहयोगका रूपमा हेरेका छैनन्।

अधिकृत युक्रेनको पूर्वी डोनबास क्षेत्रमा कार्यरत एक रुसी सैनिकले अवशेषलाई ‘२१औँ शताब्दीका समस्याको निकै असामान्य समाधान’ भनेका छन्।

उनले थपे, ‘मेरो विचारमा यी अवशेष युद्धमा ज्यान गुमाएका सैनिकका आमाहरूका लागि बढी आवश्यक छन्।’ –सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?