News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको बेलहरामा सिँचाइ नपुगेका पाखोबारीमा कम पानीमा हुने धान खेती विस्तार भएपछि स्थानीय किसान आकर्षित भएका छन्।
- धनकुटा–९ का किसान मेहरमान बस्नेत र भीमप्रसाद रोइलाले क्रमशः करिब नौ र चार रोपनी पाखोबारीमा धान लगाएर उत्पादन राम्रो भएको बताएका छन्।
- वडाले ५० प्रतिशत अनुदानमा सुक्खा क्षेत्रमा हुने धानको बीउ ५ सय ५२ परिवारलाई वितरण गरेपछि माथिल्लो क्षेत्रमा पनि धान खेती सुरु भएको छ।
१० असोज, धनकुटा । धनकुटाको बेलहरामा सिँचाइ सुविधा नपुगेका पाखोबारीमा समेत धान लहलह हुन थालेपछि स्थानीय किसान धान खेतीतर्फ आकर्षित भएका छन् । विगतमा मकै, कोदो, गोलभेँडा तथा अन्य तरकारी खेती गर्दै आएका किसानले पछिल्लो दुई वर्षयता सुक्खा र भिरालो जमिनमा समेत उत्पादन हुने धान खेती सुरु गरेका हुन् ।
सामान्यतया धान खेतीका लागि पर्याप्त पानी आवश्यक पर्ने भएकाले सिँचाइ सुविधा नभएका पाखोबारीमा धान खेती गर्न सकिन्छ भन्ने स्थानीय किसानले कल्पना समेत गरेका थिएनन् । तर, सुक्खा क्षेत्रमा उत्पादन हुने धानको जात प्रयोग गर्न थालेपछि बेलहराका किसानका पाखोबारीमा अहिले धानका बाला झुल्न थालेका छन् ।
धान खेतीका लागि खेतमा पानी जमाउनुपर्ने परम्परागत अभ्यास भन्दा फरक रुपमा यहाँका किसानले सिँचाइको नियमित सुविधा नभएका पाखा तथा भिरालो जमिनमा धान उत्पादन गरिरहेका छन् । कम पानीमा पनि उत्पादन दिन सक्ने धानको जात उपलब्ध भएपछि खेती प्रणालीमा समेत परिवर्तन आएको किसानहरु बताउँछन् ।

धनकुटा नगरपालिका वडा नं. ९, बाघखोरका किसान मेहरमान बस्नेतले करिब नौ रोपनी पाखोबारीमा धान खेती गरेका छन् । विगतमा सोही जमिनमा मकै, कोदो, गोलभेँडा तथा अन्य बाली लगाउँदै आएका बस्नेतले गत वर्षदेखि धान खेती सुरु गरेका हुन् । अहिले उनको बारीमा धानका बाला लाग्न थालेका छन् । फूल खेल्न थालेको धानबाट बास्ना आउन थालेपछि बारीको स्वरुप नै फेरिएको छ । सिँचाइको नियमित सुविधा नभएको पाखो जमिनमा धान लहलह भएपछि आफूहरु उत्साहित भएको बस्नेत बताउँछन् । उनका अनुसार पाखोबारीमा धान खेती गर्दा नियमित रुपमा पानी लगाइरहनुपर्ने अवस्था छैन । कम पानीमै पनि धान उत्पादन हुने भएकाले आफूले गत वर्षदेखि धान खेतीलाई निरन्तरता दिएको उनले बताए ।
बेलहराका अर्का किसान भीमप्रसाद रोइलाले पनि करिब चार रोपनी पाखोबारीमा धान खेती गरेका छन् । उनले गत वर्ष थोरै क्षेत्रफलमा परीक्षणका रुपमा धान खेती गरेका थिए । पहिलो वर्षकै उत्पादनबाट उत्साहित भएपछि यस वर्ष भने धान खेतीको क्षेत्रफल बढाएको उनले बताए । रोइलाका अनुसार पाखोबारीमा लगाइएको धानको उत्पादन मात्र राम्रो नभई खानका लागि समेत स्वादिलो र बास्नादार छ । परम्परागत रुपमा खेतमा रोपिने धानको तुलनामा आफूले पाखोबारीमा लगाएको धान राम्रो लागेको उनको भनाइ छ । गत वर्ष एक किलो धानको बीउ रोप्दा करिब १० मुरी धान उत्पादन भएको उनले बताए ।
‘खान पनि मिठो, स्वादिलो र बास्नादार हुने भएकाले खेतमा रोपिएको धानभन्दा धेरै राम्रो भएको लाग्यो ।’, रोइलाले भने, ‘पोहोर साल थोरै लगाएको थिएँ, यो वर्ष धेरै लगाएको छु ।’ धानको उत्पादनसँगै यसको परालसमेत उपयोगी भएको किसानको अनुभव छ । गाईवस्तु तथा बाख्राले समेत पराल मन पराएर खाने गरेको उनले बताए ।

सुक्खा क्षेत्रमा धान खेतीको विस्तार
बेलहराको तल्लो क्षेत्रमा विगतदेखि नै धान खेती हुँदै आए पनि माथिल्लो क्षेत्रमा पानीको अभावका कारण धान खेती सम्भव थिएन । विशेषगरी सुक्खा तथा भिरालो क्षेत्रमा वर्षाको पानीमा निर्भर हुनुपर्ने भएकाले किसानले धानको सट्टा मकै, कोदो तथा अन्य बाली लगाउँदै आएका थिए । तर सुक्खा क्षेत्रमा समेत उत्पादन हुने धानको बीउ प्रयोगमा आएपछि अवस्था परिवर्तन भएको छ । सिँचाइ सुविधा नपुगेका जमिनमा पनि धान उत्पादन हुन थालेपछि किसानको खेती प्रणालीमा नयाँ विकल्प थपिएको छ ।
वडाको माथिल्लो क्षेत्र सुक्खाग्रस्त भएकाले विगतमा पानीको अभावका कारण धान खेती नभएको धनकुटा नगरपालिका–९ का वडाध्यक्ष टंक रोइलाले बताए । किसानलाई सुक्खा क्षेत्रमा उत्पादन हुने धानको बीउ उपलब्ध गराउन वडा कार्यालयले सहयोग गरेको उनले बताए । वडा कार्यालयले ५० प्रतिशत अनुदानमा सुक्खा क्षेत्रमा उत्पादन हुने धानको बीउ ५ सय ५२ परिवारलाई वितरण गरेको वडाध्यक्ष रोइलाले जानकारी दिए ।
उनका अनुसार बीउ वितरणपछि किसानले आफ्नै पाखोबारीमा धान खेती सुरु गरेका छन् । अहिले विगतमा धान खेती नहुने ठाउँमा समेत धानका बाला झुल्न थालेका छन् । धानसँगै पराल पशु आहारका रुपमा प्रयोग गर्न सकिने भएकाले पशुपालन गर्ने किसानलाई समेत यसको फाइदा पुग्ने वडाध्यक्ष रोइलाले बताए । स्थानीयस्तरमै धान उत्पादन बढाउन सके बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने निर्भरता घटाउन सकिने भएकाले बीउ अनुदानमा वितरण गरिएको वडाध्यक्ष रोइलाले बताए ।

धनकुटा जिल्लामा करिब ४ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लाका विभिन्न क्षेत्रमा धान खेती हुँदै आए पनि सिँचाइको पहुँच तथा भौगोलिक अवस्थाका कारण सबै क्षेत्रमा परम्परागत धान खेती सम्भव नभएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताए । पछिल्लो समय सुक्खाक्षेत्रमा समेत उत्पादन हुने धानका जात उपलब्ध हुन थालेपछि पाखोबारीमा समेत धान खेती विस्तार गर्न सकिने सम्भावना देखिएको उनको भनाइ छ ।
सिँचाइको सुविधा कम भएका तथा सुक्खा क्षेत्रमा पनि उत्पादन हुने धानका जातको खेती गर्न किसानलाई सल्लाह दिने गरेको ज्ञान केन्द्रले जनाएको छ । यसले विशेषगरी पानीको अभावमा बाँझो वा अन्य बालीमा सीमित हुँदै आएका पाखो जमिनलाई धान उत्पादनमा प्रयोग गर्न सहयोग पुगेको छ ।
बेलहरामा पाखोबारीमा लगाइएको धान हाइब्रिड तथा शंङ्कर जातको रहेको ज्ञान केन्द्रले जनाएको छ । नियमित रुपमा सिँचाइ गरिरहन नपर्ने भएकाले यस्तो धान सुक्खा तथा पाखो जमिनका लागि उपयोगी देखिएको ज्ञान केन्द्रले जनाएको छ । परम्परागत धान खेतीमा खेत तयार गर्ने, पानी जमाउने र नियमित सिँचाइ गर्ने काम आवश्यक पर्ने भए पनि यहाँ लगाइएको धानका लागि त्यस्तो नियमित सिँचाइ आवश्यक नपर्ने किसानको अनुभव छ । यही कारण पानीको स्रोत टाढा रहेका किसानसमेत धान खेती गर्न उत्साहित भएका हुन् ।






प्रतिक्रिया 4