+
+
Shares

चोलेन्द्रबारे के चल्दै थियो गाइँगुइँ ?

सूत्रहरूका अनुसार, चोलेन्द्रको सक्रियता दुई खालको थियो, जसको सूचना प्रधानमन्त्री बालेनको सचिवालयसम्म पुगेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पक्राउ परेका छन्, उनी पक्राउको कारणबारे विस्तृत विवरण खुलाइएको छैन।
  • तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जबरामाथि शासकीय मामिला र न्यायिक कामकारबाहीमा चलखेल गरेको आरोपसहित निरन्तर गुनासा र उजुरी परिरहेका थिए ।
  • स्रोतहरूका अनुसार जबराले राजनीतिक सक्रियता बढाउँदै अदालतका विचाराधीन मुद्दामा रुचि देखाएको र विभिन्न सरोकारवालासँग भेटघाट गरेका थिए ।

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पक्राउ परेका छन् । पक्राउको कारणबारे विस्तृत विवरण खुलाइएको छैन ।

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘शासकीय मामिला एवं न्यायिक कामकारबाहीमा चलखेल गरेको’ आरोपमा उनका बारेमा निरन्तर गुनासो र उजुरी परिरहेको थियो ।

सूत्रहरूका अनुसार, जबराको सक्रियता दुई खालको थियो । पहिलो, आफूलाई राजनीतिक गतिविधिमा सक्रिय बनाएर उनले भावी कुनै पदका लागि महत्त्वाकांक्षा देखाउन थालेका थिए । अर्कोतर्फ, अदालतमा विचाराधीन मुद्दाहरूमा ‘रुचि र चासो’ देखाएर सक्रिय बनेका थिए ।

जबरा प्रधानन्यायाधीश हुँदा न्यायिक वृत्तमा सक्रिय बनेका व्यक्तिहरू संवेदनशील मुद्दाका व्यक्तिहरू र जबरालाई निरन्तर भेट्न थालेका थिए ।

‘सूचना संयन्त्रहरूले समेत बाँसबारीस्थित जबरा निवासमा आवतजावत बढेपछि निगरानी बढाएको थियो’ गृहमन्त्रालय सम्बद्ध स्रोतका अनुसार, ‘त्यसपछि जबरामाथिको निगरानी झनै बढेको थियो ।’

खासगरी, डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश भएपछि जबराले निकै सक्रियता बढाएको र बाँसबारीस्थित निवासबाटै राजनीतिक एवं न्यायिक चलखेल गरेको भन्ने आरोप उनीमाथि थियो ।

शर्मालाई प्रधानन्यायाधीश बनाउन आफूले भूमिका खेलेको बताउँदै आएका पूर्वप्रधानन्यायाधीश जबराले आफूलाई भेट्न आउनेहरूसँग ‘कसैलाई अप्ठेरो परेको भए सहजीकरण गरिदिने’ बताउने गरेका थिए ।

स्रोतहरूका अनुसार, नेपाल दुरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रकरणको फैसला, वीरगञ्जका मेयर राजेशमानसिंहको सफाइ लगायतका मुद्दाको सुनुवाइअघि जबराले सरोकारवालाहरू भेटेका थिए ।

सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, दुई साता अघि मात्रै विशेष अदालतका तीन न्यायाधीशहरू नारायण पौडेल, उमेश कोइराला र विदुर कोइरालाले प्रधानन्यायाधीश डा. शर्मा सहित सर्वोच्च अदालतका केही न्यायाधीशहरुलाई भेटेर ‘विशेष अदालतमा काम गर्ने वातावरण पटक्कै नभएको’ भनी गुनासो गरेका थिए ।

‘त्यो सूचना तत्काल प्रधानमन्त्री बालेन शाहको सचिवालयमा पुगेको थियो’ सर्वोच्च अदालत उच्च स्रोत भन्छ, ‘उनी पक्राउ हुनुमा न्यायपालिकाभित्रको सक्रियता मात्रै त कारण होइन, राजनीतिक महत्वाकांक्षा सहित अदालती कामकारवाहीमा समेत अस्वभाविक चासो बढाएपछि एकाएक पक्राउ परेको देखिन्छ ।’

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभाको कार्यक्रममा सहभागी भएर फर्केको केही घण्टामै जबरा पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?