+
+
Shares

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८३ असोज ११ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीगण्डकी नदीको बाढीले स्याङ्जा र पर्वततर्फका सेतीबेणी क्षेत्रका ५० घर डुबानमा परेका छन् ।
  • स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पक्की पुल बगाउँदा स्याङ्जा र गुल्मीबीचको आवतजावत तथा यातायात सेवा प्रभावित भएको छ ।
  • पानीको बहाव बढेपछि १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन शुक्रबार राति ८ः४५ बजेदेखि बन्द गरिएको छ ।

११ असोज, स्याङ्जा । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र पर्वततर्फका सेतीबेणी क्षेत्रका ५० घर डुबानमा परेका छन् ।

चार दिनदेखि परेको अविरल वर्षापछि नदीमा पानीको बहाव बढ्दा पर्वतको बिहादी गाउँपालिका–६ तर्फका ३० र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फका २० घर डुबानमा परेका हुन् ।

कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुलसमेत बगाएको छ । नदीमा पानीको बहाव बढेपछि पुलमा क्षति पुगेको थियो ।

लगातारको वर्षाले पानीको सतह थप बढेपछि आज बिहान पुल पूर्ण रूपमा बगेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

पुल बगेपछि स्याङ्जा र गुल्मीबीचको आवतजावत तथा यातायात सेवा प्रभावित भएको छ । स्थानीयका अनुसार कालीगण्डकी नदीमा पछिल्लो ३० वर्षयताकै ठूलो बाढी आएको हो ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माण भएपछि यति ठूलो बाढी पहिलोपटक आएको आयोजनाले जनाएको छ ।

बागलुङ, म्याग्दीलगायतका जिल्लामा पनि लगातार वर्षा भइरहेकाले कालीगण्डकीमा पानीको बहाव अझै बढिरहेको स्थानीयले बताएका छन् ।

पानीको बहाव उच्च भएपछि स्याङ्जाको बेल्टारीमा सञ्चालित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन शुक्रबार राति ८ बजेर ४५ मिनेटदेखि बन्द गरिएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार आयोजना सञ्चालनमा आएयता लामो समयसम्म विद्युत् उत्पादन बन्द गर्नुपर्ने अवस्था पहिलोपटक आएको हो ।

नदीमा पानीको बहाव उच्च भएपछि आयोजनाले मिर्मीस्थित बाँधका तीनवटै ढोका शुक्रबार राति देखिनै पूर्ण रूपमा खोलेको जनाएको छ ।

यसैबीच जिल्लाका साना खोलानालामा समेत पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले रिडी, राम्दी, मालुङ्गा र चापाकोट क्षेत्रका नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । प्रशासनले सम्भावित जोखिमबारे निरन्तर सूचना प्रवाह गर्नुका साथै माइकिङसमेत गरिरहेको जनाएको छ ।

लेखक
रामबहादुर रोकाहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?