News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सिस फुकुयामाले नयाँ संस्मरणमार्फत १९९२ को ‘द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’लाई युटोपियावादी भनेर लागेको छाप पखाल्न खोजेका छन्।
- समिक्षामा ९/११, इराक र अफगानिस्तान युद्ध, र डोनाल्ड ट्रम्पको उदयपछि फुकुयामाको उदार लोकतन्त्रबारे दृष्टिकोण निराशामुखी बनेको उल्लेख छ।
- फुकुयामाले उदार लोकतन्त्रले पहिचान र सम्मानको तृष्णा पूर्ण रूपमा मेटाउन नसक्ने र यही तिर्खा मानव जातिको स्थायी समस्या हुने बताएका छन्।
फ्रान्सिस फुकुयामाले हामीलाई कहिल्यै सुख र खुसीको ग्यारेन्टी दिएका थिएनन्। धेरै पाठकहरूप्रति निष्पक्ष हुनुपर्दा, उनको १९९२ को प्रसिद्ध पुस्तक ‘द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ ले पक्कै पनि युटोपियाको आभास भने दिएकै हो। पुस्तकले शीतयुद्धपछिको यस्तो विश्वको उद्घोष गरेको थियो; जहाँ उदार लोकतन्त्रले अन्य प्रतिस्पर्धी राजनीतिक प्रणालीहरूलाई परास्त गरिसकेको थियो र सबै जना आफ्ना आरामदायी कुर्सीमा ढल्केर सम्पूर्ण द्वन्द्व तथा सङ्घर्षको अन्त्य भएको उपलक्ष्यमा चियर्स भन्न सक्थे।
फुकुयामा भन्छन्– अझै पनि हरेक हप्ता कैयौं मानिस ती बिचरालाई सोध्ने गर्छन्, ‘के तपाईं त्यो पुस्तकका शब्दहरूलाई फिर्ता लिन चाहनुहुन्छ ?’
तर फुकुयामा आज पनि जोड दिएर भन्छन्– यदि तपाईंले पुस्तकको अन्तिम पानासम्म (मूलतः अन्तिम पाँच अध्यायहरू) पढ्नुभएको भए तपाईंले कुनै परम शान्ति र युटोपियाको अपेक्षा गर्नुहुने थिएन। उनको अझ गम्भीर र यथार्थपरक भविष्यवाणी त त्यो पुस्तकको जग बनेको मूल निबन्धमै स्पष्ट थियो : ‘इतिहासको अन्त्य अति नै उदास समय हुनेछ।’
फुकुयामाले आफ्नो नयाँ संस्मरण ‘इन द रिल्म अफ द लास्ट म्यान’ प्रकाशित गरेका छन्; जसको माध्यमबाट उनी आफूमाथि लागेको त्यो छाप पखाल्न चाहन्छन्, जुन उनलाई पटक्कै मन परेको छैन। उनी कुनै सोझा वा अन्धभक्त आशावादी होइनन् र उनी कहिल्यै त्यस्ता थिएनन् पनि।
इतिहासको अन्त्य भन्नुको उनको अर्थ हामी सम्भावित सबैभन्दा उत्कृष्ट संसारमा आइपुगेका छौं भन्ने नै थियो। उनको भनाइ अझै पनि त्यही नै छ। तर यो अन्त्यभित्रै बाँचिरहेको अन्तिम मानव (लास्ट म्यान) हुनु भनेको सधैं एउटा अस्थिर स्थिति थियो। फुकुयामाले यो अवधारणा फ्रेडरिक नित्सेको चैतन्यबाट साभार गरेका थिए; जसले यसलाई आफ्नो चेतना हराउने गरी गुम्सिएको मानिसलाई बुझाउन प्रयोग गरेका थिए। यस्तो मानिस, जो यस्तो समाजमा बस्छ; जहाँ आफ्नो ज्यान बाजी लगाउनका लागि कुनै उद्देश्य नै बाँकी हुँदैन।
फुकुयामाका लागि उनको अघिल्लो पुस्तकमा एउटा चिन्ताजनक विचारका रूपमा मात्र देखा परेको विषय अहिले भने प्रमुख र केन्द्रीय मुद्दा बनेको छ। बर्लिनको पर्खाल ढलेर भग्नावशेषमा परिणत भइरहेका बेला, अमेरिकी विजय र श्रेष्ठताको उन्माद छाएको समयमा उनले ‘द एन्ड अफ हिस्ट्री’ लेखेका थिए। तर बितेका तीन दशकका घटनाक्रमहरू– ९/११ को हमला, इराक र अफगानिस्तानका युद्धहरू अनि डोनाल्ड ट्रम्पको उदयले बिल्कुलै फरक परिस्थिति प्रस्तुत गरिदिएका छन्। फुकुयामालाई यो कुरा राम्ररी थाहा छ।
आफ्नो बचाउ गर्ने उनको स्वभावले गर्दा उनी आफ्ना अघिल्ला अतिउत्साही दृष्टिकोणहरूबाट कति पछि हट्नुपरेको छ ? भन्ने कुरा पूर्ण रूपमा स्वीकार गर्न हिचकिचाउँछन्। तर यो तथाकथित सुखी र अन्तिम अवस्था भनिएको उदार लोकतन्त्रका बारेमा बोल्दा अहिले उनको आवाजमा निराशा र अन्धकारको ध्वनि भेटिन्छ। यो व्यवस्था अब रात्रिकालको सघन अन्धकारमा निकासहीन गल्लीमा हिंडिरहेको छ– जहाँ सडकका स्ट्रिट लाइट र ल्याम्पपोस्टहरू फुटेका छन्, हावामा एउटा भयावह तनाव व्याप्त छ र अगाडि बढ्ने कुनै बाटो नै देखिंदैन।
विशुद्ध आत्मसंस्मरणको दृष्टिकोणले मात्रै हेर्ने हो भने यो पुस्तक निराशाजनक छ भन्नुपर्छ। पृष्ठ ६० तिर पुग्दानपुग्दै फुकुयामाले आफ्नो जीवनकथा भन्न छाडेर अरू नै कुरामा रुचि देखाउन थाल्छन्। रमाइला र भित्री रहस्य खोल्ने खालका प्रसङ्गहरू पुस्तकका सुरुआती पानाहरूमा नै सीमित छन्। उदाहरणका लागि, एक युवा वैदेशिक नीति विश्लेषकका रूपमा उनले सीआईएको पोलिग्राफ परीक्षामा पटक–पटक असफलता व्यहोरेका थिए। किनकि ‘के तपाईंले कहिल्यै पुरुषसँग यौन सम्बन्ध राख्नुभएको छ ?’ भन्ने प्रश्नले उनलाई पूर्ण रूपमा आकुलव्याकुल बनाएको थियो (उनले त्यसो नगरेको कुरा भने स्पष्ट्याइहाल्छन्)।
उनी आफ्ना बुबाको बारेमा लेख्छन्, जो एक समाजशास्त्री र निष्ठावान् उदारवादी थिए। बुबाले फुकुयामाका तत्कालीन रूढीवादी राजनीतिक विचारका लागि उनलाई सधैं गाली गरिरहन्थे (आखिर उनले रोनाल्ड रेगन र र्यान्ड कर्पोरेसनका लागि काम गरेकै थिए) र उनलाई अरू मानिसहरूले ब्रेनवाश गरिदिएको भन्थे।
जब यस्ता अन्तरङ्ग र निजी प्रसङ्गहरू घट्दै जान्छन्, तब फुकुयामाको व्यक्तिगत पृष्ठभूमि र उनको बदलिंदो सोच बीचको कार्यकारण सम्बन्ध पनि हराउँदै जान्छ। उनका हजुरबुबा–हजुरआमा जापानी प्रवासी थिए; जसले दोस्रो विश्वयुद्धको समयमा बन्दीगृहमा समय बिताएका थिए। तर यसलाई सङ्क्षिप्तमा मात्र उल्लेख गरिएको छ।
पुस्तकमा उनी कतिविघ्न प्राविधिक पारखी (गियरहेड) हुन् भन्ने बारे केही अध्यायहरू पढ्न पाइन्छ। उनी काठको कामहरू गर्न रुचाउने यस्ता व्यक्ति हुन्, जसले कम्प्युटरका पार्टपुर्जाहरू आफैं जोडेर कम्प्युटर बनाउन पनि सक्छन्। यद्यपि फुकुयामाले आफ्नो अधिकांश समय र ऊर्जा आफ्ना कृतिहरूलाई जीवन दिने विचारहरूको सारांश प्रस्तुत गर्नमै खर्चिएका छन्; जसले उनका उत्कृष्ट अवधारणा र अन्तर्दृष्टिहरूको सङ्गालो तयार पारेको छ। बदलिंदा धारणाहरूको यो शृङ्खलाले ‘द एन्ड अफ हिस्ट्री’ मा झल्किएको त्यो आत्मबल र आडम्बर उनको लेखनबाट कसरी विस्तारै हराउँदै गयो ? भन्ने कुरालाई स्पष्ट पार्न मद्दत गर्छ।
इराकमाथिको आक्रमण र त्यसपछि निम्तिएको लामो अराजकता उनको जीवनको एउटा निर्णायक मोड थियो। फुकुयामाले ती नवरूढीवादी साथीहरू र मार्गदर्शकहरूसँगको सम्बन्ध तोडे, जसले त्यतिबेलासम्म उनको करिअरलाई आकार दिएका थिए।
सन् १९७९ मा प्रकाशित उनको पहिलो रचना ‘नर्मन पोडोरेत्ज’ को ‘कमेन्ट्री’ पत्रिकामा छापिएको थियो, र उनले कुनै समय इराक युद्धका योजनाकार पोल उल्फोविट्जलाई ‘मैले भेटेका सबैभन्दा बुद्धिमान् मानिसहरूमध्ये एक’ मान्ने गर्थे। तर सन् २००३ मा त्यो युद्ध शुरु भएपछि उनीहरूसँग बोल्न नै छाडिदिए। यहाँसम्म कि, रूढीवादी स्तम्भकार चार्ल्स क्राउथ्यामरसँग एउटै लिफ्टमा यात्रा गर्दा उनीहरू बीच छाएको त्यो असहज र मौन वातावरणको सामना समेत उनले गर्नुपरेको थियो।
सन् २००० दशकको अन्त्यतिर पुग्दा फुकुयामाले आफूलाई ‘यथार्थवादी विल्सनवादी’ का रूपमा चिनाउन थालेका थिए। उनी अझै पनि लोकतन्त्रप्रति आदर्शवादी नै छन्, तर लोकतन्त्र मात्रै कुनै त्यस्तो जादुई धुलो होइन, जसलाई मनलाग्दी छानिएका देशहरूमा छर्कन सकियोस्।
कानूनी शासन सुनिश्चित गर्ने बलिया संयन्त्र र एउटा सशक्त राज्य विना लोकतन्त्रको कुनै अर्थ रहँदैन। विगत दुई दशकका उनका कृतिहरूले यसै कुरालाई पुष्टि गरेका छन्- खासगरी उनको दुई भागमा प्रकाशित ‘पोलिटिकल अर्डर’ शृङ्खलाले। इराक र अफगानिस्तानमा अमेरिकाले व्यहोरेको निरर्थक नतिजालाई फर्केर हेर्दै उनी संस्मरणमा लेख्छन्, ‘एउटा आधुनिक र प्रभावकारी राज्यको निर्माण गर्नु लोकतन्त्रको स्थापना गर्नुभन्दा धेरै गाह्रो काम थियो।’
कुनै नेताले आफ्ना हुक्के–बैठकेहरूलाई जागिर बाँड्ने र आफूलाई व्यक्तिगत रूपमा धनी बनाउने व्यवस्थाको विपरीत, राम्रोसँग सञ्चालित राज्यप्रणालीका लागि निष्पक्ष र व्यावसायिक कर्मचारीतन्त्रको महत्त्व कति हुन्छ ? भन्ने कुरालाई उनी जोड दिन्छन्। यद्यपि यस्ता विषय समेटिएका अध्यायहरू उति रोमाञ्चक र चाखलाग्दा भने लाग्दैनन्।
उदार लोकतन्त्रलाई विस्थापित गर्न वा यसको गद्दी खोस्न सकिंदैन भन्नेमा फुकुयामा दृढ छन्। किनभने अहिलेसम्म कसैले पनि योभन्दा उत्तम विकल्प वा विचार ल्याउन सकेको छैन। विश्वभरि गैरउदारवादी आन्दोलनहरूको उभार आउँदा राजनीतिको फरक–फरक कित्ताका धेरै मानिसले उदारवादलाई नै दोषी ठहर्याएका छन् र यसलाई जगैदेखि भत्काउनुपर्ने एउटा जीर्ण र जर्जर प्रणालीका रूपमा चित्रित गरेका छन्।
तर फुकुयामाको विचारमा हरेक वैकल्पिक दृष्टिकोण कि त पहिले नै असफल साबित भइसकेको छ, कि त त्यसले अझ भयावह संसारतर्फ धकेल्नेछ। उदारवादको अन्तिम मूल्य भनेको ‘यसले मानव जीवनका आधारभूत आवश्यकताहरूलाई अन्य कुनै पनि ढाँचाभन्दा उत्तम ढङ्गले पूरा गर्छ भन्ने नै हो’ (यद्यपि यसमा अझै धेरै सुधार र परिमार्जनको भने खाँचो छ)।
मानव जातिलाई ‘थाइमोस अर्थात् पहिचान र सम्मानको तृष्णाले परिभाषित गर्छ’भनेर उनी व्याख्या गर्छन्। बाँच्नका लागि हामीलाई खानाको जति आवश्यकता पर्छ, लगभग त्यत्तिकै मात्रामा हामी आफ्नो अस्तित्व र मूल्यको कदर होस् भन्ने चाहन्छौं। हामीलाई सम्मान चाहिन्छ। अनि यो चाहना केवल यस्तो उदार समाजमा मात्र पूर्ण रूपमा साकार हुन सक्छ; जहाँ कानूनको नजरमा सबै मानिस समान हुन्छन्।
फुकुयामाको शब्दमा भन्नुपर्दा- अनपेक्षित घटनाहरू त अझै पनि घट्न सक्छन्, तर १८औं शताब्दीको अन्त्यदेखि यता धेरैभन्दा धेरै मानिस यस्तो राजनीतिक व्यवस्थाभित्र बाँचिरहेका छन्, जसले कम्तीमा हरेक व्यक्तिको यो थाइमोसलाई तृप्त गर्ने सामर्थ्य राख्छ। अनि यही कारणले गर्दा हामी इतिहासको अन्त्यसम्म आइपुगेका हौं। पूर्णविराम !
तर यहाँ एउटा समस्या छ। पहिचानसँगै प्राप्त हुने स्वायत्तता र आत्मसम्मानको चाहना हामीमा जति हुन्छ, ‘त्यो पहिचान हासिल गर्ने क्रममा जोडिएका जोखिम र सङ्घर्षहरूप्रति पनि’ हामी उत्तिकै आकर्षित हुन्छौं। ‘उदार लोकतन्त्रले अहिले मानव मनको यो ‘थाइमोस’ वा आत्मसम्मानको तिर्खालाई मेटाइदियो’ भन्दैमा मानिसहरू ‘आफ्नो ज्यान नै बाजी लगाउने कुनै आदर्श खोज्न छाड्छन्’ भन्ने होइन।
फुकुयामाले संस्मरणमा व्याख्या गरे झैं, ‘समान पहिचानमा आधारित उदार व्यवस्थाले ल्याएको शान्ति र समृद्धि धेरै मानिसका लागि पर्याप्त हुँदैन। उनीहरू पृथ्वीका हरेक व्यक्तिसरह समान रूपमा मात्रै चिनिन चाहँदैनन्।’
हाम्रा क्षितिज र आकाङ्क्षाहरूलाई ‘समथर’ बनाइएको छ, र यसै कुराले हामीलाई ‘अशान्त र आक्रोशित’ तुल्याएको छ।
‘उदार लोकतन्त्रका उपलब्धिहरूको उपभोग गर्न’ अनि ‘यसलाई अझ धेरै मानिसहरूलाई यसमा समाहित गर्न’ निरन्तर सुधार र मर्मतसम्भारको कार्यमा ‘रमाउन हामी असमर्थ छौं’ भनी सोच्नु नै निराशाजनक छ।
यसको सट्टा, फुकुयामाले ‘आफ्नो मूल निबन्धमा’ भने झैं, हामी ‘सङ्घर्षकै खातिर सङ्घर्ष गर्छौं’; किनकि हामी ‘सङ्घर्षविहीन संसारमा बाँचिरहेको कल्पना नै गर्न सक्दैनौं।’ अन्त्यमा, यसको अर्थ उदार लोकतन्त्रकै विरुद्ध उभिनु’ हो- आफ्नो आक्रोशलाई बढावा दिन षड्यन्त्रका सिद्धान्तहरू रचना गर्नु, अधिनायकवादी स्ट्रङमेनहरूको महिमामण्डन गर्नु र विगतका घातक अनि आधुनिकतापूर्वका अभ्यास र मूल्य–मान्यताहरूलाई’ आदर्श मान्नु। बितेको दशकमा देखापरेका पपुलिस्ट र लोकतन्त्रविरोधी विद्रोहहरूलाई फुकुयामाले यसरी नै बुझेका छन्।

यदि यसको पछाडि ‘कुनै गम्भीर र स्पष्ट व्याख्यात्मक सामर्थ्य’ नभएको भए यी सबै कुराहरू ‘वितण्डावादी वा निराशाजनक’ लाग्न सक्थे।
विश्वविद्यालयका हाताभित्र भइरहेका ‘प्यालेस्टाइन समर्थक प्रदर्शनहरू माथिको’ उनको समीक्षालाई नै हेरौं। गाजाको वास्तविक मृत्यु र विनाशलाई बेवास्ता नगरी फुकुयामा के भन्छन् भने- यी विद्यार्थीहरू मूलतः उराठलाग्दा र दिक्क भएका हुन्।
‘उनीहरू ती विश्वविद्यालयहरूमा भर्ना हुनका लागि गरिराखेको निरन्तर तर नायकत्वविहीन सङ्घर्षपूर्ण जीवनबाट विश्राम चाहन्छन्। उनीहरू यस्तो न्यायपूर्ण उद्देश्यका निम्ति जोखिमको अनुभव गर्न चाहन्छन्, जुन पहिले कहिल्यै उनीहरूको जीवनको प्रमुख हिस्सा थिएन। मागा दक्षिणपन्थीहरू जस्तै उनीहरूसँग पनि आफू कस्तो प्रकारको भावी समाजमा बाँच्न चाहन्छन् ? भन्ने स्पष्ट दृष्टिकोण छैन।’
वस्तुहरू र व्यवस्थालाई ढाल्नका लागि हामीसँग प्रशस्त ऊर्जा छ। तर उदार लोकतन्त्र एउटा यस्तो तार्किक प्रश्न वा समस्या हो, जुन पहिले नै समाधान भइसकेको छ र यसलाई अब असमाहित वा पुनर्संरचना गर्न सकिंदैन भन्ने फुकुयामाको ठहर छ।
फुकुयामा ‘मैले त पहिले नै सचेत गराएकै थिएँ नि !’ भन्न सक्ने स्थितिमा पुग्न चाहन्छन्। अनि यही आधारमा उनको पुस्तकले उतिबेलै हामीलाई चेतावनी दिएका थियो भन्ने कुराको सम्झना गराउँछ।
तर यसबाट कुनै सान्त्वना भने मिल्दैन। उनले पहिचान गरेको विषय वास्तवमा ‘मानव जातिकै एउटा गम्भीर समस्या’ हो— त्यो क्षण या निमेष; ‘जसले युटोपिया र डिस्टोपियालाई अलग गर्नेछ’। हामीले जे सधैं चाहेका थियौं, त्यो त पायौं; ‘तर यो पर्याप्त छैन र कहिल्यै हुने पनि छैन’।
‘हामीसँग स्रोत–साधनहरूलाई ‘अलि बढी समान रूपमा वितरण गर्ने’ माध्यमहरू छन् र हामीले त्यो गर्नुपर्छ पनि’ सधैं स्पष्ट विचार राख्ने विश्लेषक फुकुयामा लेख्छन्, ‘तर हामीसँग के कुराको अभाव छ भने- आत्मसम्मान र कदरलाई कसरी समान रूपमा बाँड्ने ?’
पहिचान र सम्मानको त्यो तिर्खा कहिल्यै मेटिने छैन; र यही यथार्थ नै हामी सबैका लागि सबैभन्दा खतरनाक कुरा हो। (द एटलान्टिकमा प्रकाशित सामग्रीको भावानुवाद)
लेखक ग्याल बेकरम्यान हुन्।
प्रतिक्रिया 4