+
+
Shares

म्याग्दी सदरमुकाम बेनीमा कालीगण्डकीको कटान 

कालीगण्डकी नदीको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान गर्न थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीगण्डकी नदीको बाढीले म्याग्दी सदरमुकाम बेनी बजारमा करिब १०० मिटर तटबन्ध भत्काएर बस्तीतर्फ कटान थालेको छ।
  • बेनी–७ र ८ मा पर्ने बजारका जोखिममा परेका घरका बासिन्दा र सामान सुरक्षित ठाउँमा सार्न थालिएको छ।
  • बाढीले मालढुङ्गा–बेनी सडक, बेनीका ग्रामीण सडक, विद्युत् आपूर्ति र खानेपानी सेवा अवरुद्ध भएको छ।

११ असोज, म्याग्दी । कालीगण्डकी नदीको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान गर्न थालेको छ । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरिका कारण आज बिहानदेखि बाढीले बेनी बजारतर्फ कटान गर्न थालेको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार गणेशटोलको पछाडी कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खाल बाढीले भत्काएर बस्तीतर्फ कटान गर्न थालेको हो । करिब १०० मिटर तटबन्ध बाढीले भत्काएर कटान गरेको हो । तटबन्ध र कुनातर्फ बनाइएको सडक बाढीले भत्काएको छ ।

जोखिममा परेका घरका बासिन्दा र सामानलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ । उक्त ठाउँमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजित प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनाले बेनी चक्रपथ सडक बनाएका थिए । कालीपुलका बासिन्दाहरु राति नै म्याग्दी बहुमुखी क्याम्पसको भवनमा आएर बसेका थिए । थप क्षति हुन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ ।

बेनी–७ र ८ मा पर्ने बेनी बजारमा ५०० भन्दा बढी परिवारको बसोबास छ । बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा बाढीको सतहले खतराको तह पार गरेको छ । सदरमुकाम बेनीदेखि प्रदेश र सङ्घीय राजधानी जोड्ने मालढुङ्गा बेनी सडक अवरुद्ध छ । शनिबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको छ । बेनीमा खानेपानीको आपूर्ति हुन सकेको छैन । बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सडक पनि अवरुद्ध भएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?