+
+
Shares

पाटा-नेपाल च्याप्टरमा नयाँ कार्यसमिति, भोटेकोशी संकटका नायकहरू सम्मानित

साधारणसभाबाट हेरिटेज टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक नरेन्द्रदेव भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटा–नेपाल च्याप्टरको ४७औं वार्षिक साधारणसभा र ५१औं वार्षिकोत्सवबाट नरेन्द्रदेव भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
  • स्क्वायर होटलकी रोमी अर्याल महासचिव र अल्पाइन रेस्क्यु सर्भिसका प्रकाशचन्द्र लोहनी मानार्थ कोषाध्यक्ष चयन भएका छन् ।
  • पाटा–नेपाल च्याप्टरले भोटेकोशी बाढी संकटमा योगदान गरेको भन्दै आर्नल्ड डिक्स, प्रिया अधिकारीसहित सात जनालाई सम्मान गरेको छ ।

११ असोज, काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ ।

च्याप्टरको ४७औं वार्षिक साधारणसभा तथा ५१औं वार्षिकोत्सव समारोहबाट नयाँ कार्यसमिति चयन गरिएको हो । पाटा–नेपाल च्याप्टरले सोही अवसरमा रेजिलियन्ट नेपाल नारासहित कार्यक्रम आयोजना गरेको छ ।

साधारणसभाबाट हेरिटेज टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक नरेन्द्रदेव भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

भट्टले यो अवसर पाउँदा गौरवान्वित र विनम्र महसुस गरिरहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रमा सार्वजनिक–निजी साझेदारीको ५१ वर्ष पूरा भएको र मुलुक भोटेकोशी बाढी विपद्बाट पुनरुत्थानमा प्रवेश गर्नुपर्ने अवस्थामा रहेको समेत बताए ।

नयाँ कार्यसमिति तथा पाटा र पाटा फाउन्डेसन लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सम्पूर्ण सदस्य तथा साझेदारसँग मिलेर सुदृढता साथ पर्यटन पुनरुत्थानमा लाग्ने उनको प्रतिबद्धता छ ।

त्यसैगरी स्क्वायर होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल महासचिव र अल्पाइन रेस्क्यु सर्भिसका अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई मानार्थ कोषाध्यक्ष चयन गरिएको ।

कार्यसमिति सदस्यमा विजय श्रेष्ठ, सुमन घिमिरे, सुनिलबहादुर भट्टराई, माया शाक्य, सरिता लामा, सिद्धार्थविक्रम थापा र वासुदेव ढुंगाना चयन भएका छन् ।

त्यसैगरी दिनेश महर्जन, जान विश्वकर्मा, सञ्जयभक्त माथेमा, अंकित शर्मा, बसन्त गौतम, प्रकाश लामा र सुमन महर्जन गरी सात जना प्रोक्सी सदस्य पनि चयन भएका छन् ।

पाटा नेपालको कार्यसमितिमा सार्वजनिक क्षेत्रबाट प्रतिनिधित्व गरी प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, द्वितीय उपाध्यक्षमा नेपाल एयरलाइन्सका मार्केटिङ निर्देशक तथा चार जना पदेन सदस्यमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कर्पोरेट निर्देशक र नेपाल पर्यटन बोर्डका एक प्रतिनिधि समेत ६ जना सदस्य पनि रहने प्रावधान छ ।

औपचारिक समारोहमा पाटा–नेपाल च्याप्टरले हालैको भोटेकोशी बाढी संकटका क्रममा तथा त्यसभन्दा बाहिर पनि नेपालका लागि देखाएको असाधारण साहस, मानवता र पर्यटनमा योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत संरचना विशेषज्ञ प्राध्यापक आर्नल्ड डिक्स, नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी, ग्लोबट्रटरका लेखक तथा अध्यक्ष आन्द्रे लुथी, वर्ल्ड सेन्ट्रल किचेनका डिलन डुगास, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, नेपाल पर्वतारोहण संघ पर्वतीय उद्धार संयोजक विक्रम कार्की र होरस डेभलपमेन्ट एन्ड कन्सल्टिङकी गन्तव्य रणनीतिकार चोय तेहलाई सम्मान गरेको छ ।

निवर्तमान अध्यक्ष खेम लकाईले नेपालको पर्यटन क्षेत्रका सम्पूर्ण सदस्य तथा सरोकारवालालाई निरन्तर सहकार्य र सहयोगका लागि धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?